स्थानीय निर्वाचनबारे सत्तारूढ दल अझै अनिर्णित

0
Shares

काठमाडौं, (नेस) ।

सत्ताघटक दलका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक समन्वय समितिले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सकेन । मंगलबार बसेको समितिको बैठकमा स्थानीय निर्वाचनबारे छलफल भए पनि मिति निर्धारण गर्न भने असफल भएको छ । समितिले संवैधानिक र कानुनी व्यवस्थाअनुसार नै स्थानीय निर्वाचन हुनुपर्नेमा सकारात्मक भएको जनाएको जनाएको छ ।

बैठकको छलफलपछि भएको निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भन्नुभयो– ‘वैशाखमा स्थानीय निर्वाचन गर्ने सहमति भएको छ ।’ निर्वाचनको मितिको बारेमा टुंगो नलागेको बताउँदै प्रवक्ता कार्कीले निर्वाचन वैशाखमै गर्ने भन्नेमा सबै दल सकारात्मक भएको बताउनुभएको छ । भोलि बिहीबार थप गृहकार्यका साथ फेरि राजनीतिक समन्वय समितिको बैठक बस्ने उहाँको भनाइ थियो ।

यसअघि निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई आउँदो वैशाख १४ र २२ गते स्थानीय निर्वाचन गर्नुपर्ने सुझाव दिएका थिए । सत्ताघटक दलका शीर्ष नेता सम्मिलित समितिको बिहीबार बस्ने बैठकले मिति तय गरे मन्त्रिपरिषद््को बैठकले मिति घोषणा गर्ने सम्भावना रहेको छ । मन्त्रिपरिषद्को नियमित बैठक पनि बिहीबार नै बस्दै छ ।
बैठकमा प्रधानमन्त्री देउवाका साथै समितिका संयोजक रामचन्द्र पौडेल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराई, जनमोर्चाकी अध्यक्ष दुर्गा पौडेल, एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।