सरकारी कार्यालय नै ‘हटस्पट’ बन्ने जोखिम


हेटौंडा ।

कारोना भाइरसबाट संक्रमित हुनेको संख्या पछिल्लो दिन बढ्दै जा“दा सर्वसाधारणले सरकारी कार्यालय नै कारोना संक्रमणको ‘हटस्पट’ बन्नसक्ने चेतावनी दिएका छन् ।

मकवानपुरमा ५ सय भन्दा बढी सक्रिय कारोना संक्रमित संख्या पुगेस“गै सरकारले मकवानपुरलाई उच्च जोखिम भएको जिल्लाको सूचीमा राखेको छ । सरकारले माघ ३ गतेबाट हवाई यात्राका लागि र माघ ७ गतेबाट सार्वजनिक सेवा तथा सार्वजनिक सेवा तथा सार्वजनिक स्थलमा प्रवेशका लागि खोप कार्ड अनिवार्य गरेपछि खोप केन्द्रहरूमा सयौँ मानिसहरू लाइन लाग्ने गरेका छन् ।

मकवानपुरका खोप केन्द्रमा विहानबाट मानिसहरू खोपका लागि लामबद्ध हुने गरेका छन् । यसै वर्षको अन्त्यतिर हुने भनिएको स्थानीय तहको निर्वाचनमा सहभागिताका लागि नयाँ मतदाता र यसअघि मतदाता परिचयपत्र नभएका नागरिकलाई मतदाता नामावलीमा नाम लेखाउन निर्वाचन आयोगले आह्वान गरेको छ । फोटोसहित मतदाता परिचयपत्रका लागि मकवानपुरका सबै स्थानीय तहका मानिसहरुको निर्वाचन कार्यालयमा भिड लागेको छ ।

सवारी चालक अनुमति पत्र नवीकरण, सवारी कर र इम्बोस्ड नम्बर प्लेट जडानका लागि यातायात कार्यालयमा पनि उस्तै अव्यवस्थित भिड लागेको छ । हेटौंडा अस्पतालमा पनि उस्तै सेवाग्राहीको भिड लागेको छ । मालपोत कार्यालय, जिल्ला अदालतदेखि वडा कार्यालयसम्म सेवाग्राहीको उस्तै भिड देख्न सकिन्छ । जिल्ला प्रशासन कार्यालयमा राहदानी बनाउनेदेखि नागरिकता बनाउनेको भिड लागेको छ ।
सरकारी कार्यालयमा भिडभाड नगर्न÷नगराउन निर्देशन दिइसकिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयले सोमबार विज्ञप्ति प्रकाशन गर्दै भेला, जुलुस, आमसभा जस्ता मानिस भेला हुने गतिविधिलाई माघ मसान्तसम्म रोक लगाउँदै १६ बुँदे आदेश जारी गरेको छ ।

प्रजिअ पाण्डेले निर्देशन नमानेको अवस्थामा कारबाही गरिने बताउनुभएको छ । सरकारी कार्यालयमा देखिएको सेवाग्राहीको भिड व्यवस्थापन गर्न नसकिए यस्ता ठाउँबाट मानिसमा संक्रमण फैलन सक्ने देखिएको छ । लक्षण नभएका तर संक्रमण बोकेका व्यक्तिबाट संक्रमण थप फैलनसक्ने जोखिम देखिएको छ । मकवानपुरमा २ सय ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ सय ८८ जनामा गरिएको परीक्षणमा थप २ सय ८५ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार पछिल्लो २४ घण्टामा २ सय ८२ जनामा पीसीआर र १ सय ६ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा क्रमशः २ सय १६ र ६९ जना गरी थप २ सय ८५ जनामा कोरोना पुटि भएको छ ।

यससगै जिल्लामा हाल सक्रिय संक्रमितको संख्या ८ सय ५० पुगेको छ । जिल्लामा थप ४ जनाले कोरोना संक्रमण जितेका छन् । जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ७० जनाको मृत्यु भएको छ । मकवानपुरमा पछिल्लो एक साताभित्र २३ स्वास्थ्यकर्मीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उता, चितवनमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै जा“दा अग्रपंक्तिमा रहेर काम गर्दै आएका स्वास्थ्यकर्मी पनि यसबाट अलग रहन सकेनन् । गत सातादेखि तीव्र गतिमा बढ्दै गएको संक्रमणबाट चितवनमा करिब एक सयभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएको स्वास्थ्य कार्यालय चितवनसँग तथ्यांक छ । केन्द्रीय तहको सरकारी अस्पताल भरतपुर अस्पतालमा ३७ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।