नजिक देखिएन बाघ, डाँडा चढ्दै प्राविधिक

0
Shares

बाँके ।

बाँकेको राप्तीसोनारी गाउँपालिकामा दुई दिनको फरकमा दुई जनाको ज्यान लिएको बाघलाई नियन्त्रणमा लिने प्रयास सफल हुन सकेको छैन । बाघलाई नियन्त्रणका लागि दुई ठाउँमा भैंसीको पाडो राखिएको छ । पाडा खान आएमा बाघलाई नियन्त्रणमा लिन प्राविधिक टोली खटिएका छन् । पछिल्लोपटक राप्तीसोनारी गाउँपालिका–६ हब्रहवाकी चाँदनी थारूलाई आक्रमण गरेको ठाउँको आसपासमा दुईवटा पाडालाई राखेर नियन्त्रण प्रयास गरे पनि बाघ देखिएको छैन । बाघ खोज्न प्राविधिक टोली माथि–माथि डाँडा उक्लिएका छन् ।

चाँदनीलाई आक्रमण गरेको दुई दिनसम्म बाघको पाइला देखिएको सदावहार सामुदायिक वनमा अहिले बाघ देखिएको छैन । हिंस्रक बाघलाई नियन्त्रणमा लिन चितवनबाट आएका प्राविधिक टोली दैनिक जंगलमा जाँदै बाघ खोज्दै गरिरहेका छन् । पुसको २२ गते लीला विष्ट र २४ गते चाँदनी थारूको बाघको आक्रमणबाट मृत्यु भएपछि राप्तीसोनारी त्रसित भएको थियो ।

हिंस्रक बाघ नियन्त्रण गर्न राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति कोषले प्राविधिक टोली खटाएको छ । चितवनबाट आएका डा. अमिर सडौला र प्राविधिक तीर्थ लामा राप्तीसोनारीको जंगलमा खटिरहेका छन् । दुईवटा हात्तीको सहायताले उनीहरु बाघ नियन्त्रण गर्न लागिपरेका छन् । बाघ भने देखापरेको छैन । करिव ५ सय मिटरको दुरीमा दुईवटा पाडालाई बाँधेर राखेको आठौं दिन भइसक्यो । बाघ पाडा खान आएको छैन ।

‘बाघलाई पाडा राखेर लोभ्याइएको छ । बाघ नजिक आएको छैन । प्राविधिक टोली दिनको एकपटक पाडा बाँधेको ठाउँमा जादै हेर्ने गरिएको छ ।’ –प्राविधिक लामाले भन्नुभयो । रातभरि नै जंगलमा पाडा बाँधेर बाघलाई लोभ्याएका प्राविधिकहरु विहान पाडा छ कि छैन भनेर हेर्न जान्छन् । उहाँले पाडा खान आएमा बाघलाई नियन्त्रणमा लिने बताउनुहुन्छ । लामा भन्नुहुन्छ– बाघ आयो भने पाडालाई आक्रमण गर्छ । घिसारेर नजिकको झाडीमा लैजान्छ । हामीले त्यही बेलामा बन्दुकले हानेर बेहोस् बनाउँछौं र नियन्त्रणमा लिन्छौं ।’

बाँके राष्ट्रिय निकुञ्ज र वन आसपासमा बाघको त्रास बढेको छ । बाँकेमा घर–घरमै आएर बाघले मान्छे र पशुलाई आक्रमण गरेको छैन । निकुञ्ज आसपासको सामुदायिक वनमा घाँस–दाउरा गर्न गएका मानिसलाई आक्रमण गरेको छ । बाघले लगातार आक्रमण गरिरहेपछि हिंस्रक बाघलाई नियन्त्रणमा लिनु ठूलो दबाब परेको छ । त्यही दबाबका कारण हप्ता दिनसम्म बाघ नदेखिँदासमेत प्राविधिक टोली फिर्ता भएको छैन । खोजी कार्य जारी राखेको छ ।

डा. सडौलाले हिंस्रक बाघलाई नियन्त्रणमा लिएरै छाड्ने बताउनुभयो । ‘हामी दिनरात लागि परेका छौं । त्यो हिंस्रक बाघलाई नियन्त्रणमा लिएरै छाड्छौं’, उहाँ भन्नुहुन्छ– ‘ताजा पाइला देखिएको ठाउँमा समेत फेरि बाघ आएको छैन । आउँछ भन्ने हामीलाई विश्वास छ ।’बाँके राष्ट्रिय निकुञ्जमा २१ वटा बाघ छ । बाघ बढेको सम्बद्धहरु बताउँछन् । अहिले बाँके राष्ट्रिय निकुञ्जमा बाघ गणना भइरहेको छ । बाघले पटक–पटक आक्रमण गरिरहेपछि निकुञ्जमा पर्ने सडक र जंगलमा साइकल, मोटरसाइकलमा सवार गर्न छोडिएको छ । जंगल छेउछाउका बासिन्दा रातमा घरबाहिर निस्किन डराइरहेका छन् ।