कम्पनीले ढुवानी नगर्दा हुम्लामा खाद्य संकट

0
Shares

सिमकोट ।

चार महिनायता हुम्लामा खाद्यान्नको चरम संकट भएको छ । ठेक्का लिएको कम्पनीले समयमै खाद्यान्न ढुवानी नगर्दा हुम्लावासीले भोकमरीको समस्या झेल्नुपर्ने अवस्था आएको हो ।

खाद्य संस्था शाखाका प्रमुख कुष्णप्रसाद अधिकारीका अनुसार हाल गोदाममा १ हजार क्विन्टल खाद्यन्नमात्र मौज्दात रहेको छ । ‘गत शुक्रबारबाट सर्वसाधारणले पाउने कोटाको पचास प्रतिशत खाद्यन्न बिक्री गर्ने भन्दा स्थानीयले विरोध गरेपछि त्यो पनि राकिएको छ’, उहाँ भन्नुहुन्छ– ‘सिमकोट गाउँपालिका–१ र २ नम्बर वडाका बासिन्दालाई मात्र चामल बिक्री गर्यौं, अरूलाई वितरण गर्न पाएका छैनौं ।’

सिम्रिक एयर कार्गो सर्भिसले हुम्लाका लागि खाद्यान्न ल्याउने जिम्मा लिएको थियो । जिम्मा लिएदेखि उक्त कम्पनीले अहिलेसम्म १ हजार २ सय कुइन्टलमात्र चामाल ढुवानी गरेको शाखा प्रमुख अधिकारी बताउनुहुन्छ । तीनवटै गाउँपालिका नागरिकलाई खाद्यान्न कसरी पुराउने भन्ने नै अहिले आफ्नो मुख्य चिन्ता रहेको उहाँको भनाइ छ ।

स्वीकृत वार्षिक कोटा १० हजार क्विन्टल चामल निर्धारण गरिए पनि ठेक्कादारको लापरबाहीले गर्दा हुम्लामा खाद्यन्न समस्या भएको हो । खाद्यान्न व्यस्थापन समितिको अध्यक्ष तथा हुम्ला जिल्ला समन्वय प्रमुख दानबहादुर रावत अहिलेसम्म जिम्मा पाएको कम्पनीले कुल संख्याको ५० प्रतिशतभन्दा बढी खाद्यान्न ढुवानी गरिसक्नुपर्ने बताउनुहुन्छ । तर, अहिले सीता एयरले दुईदेखि तीनपटक मात्र दैनिक खाद्यन्न ढुवानी गरेको छ ।

हुम्लाको सदरमुकाम सिमकोटमा खाद्यान्न चरम अभाव भएपछि चामल ढुवानी कसरी गर्न सकिन्छ भन्ने विषयमा आइतबार जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय बैठक बसी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ध्यानाकर्षण गराइएको छ ।

‘पैदलमार्ग र हवाई मार्गबाट खाद्यान्न ढुवानी गर्न सकिन्छ’, प्रमुख जिल्ला अधिकारी गणेश आचार्य भन्नुहुन्छ– ‘ढुवानीकार्य ढिलाइ हुँदा जनतालाई बिक्री–वितरणमा समस्या देखिएकाले अहिले खाद्यान्न वितरणमा रोक लगाइएको छ ।’ खाद्यान्न ढुवानी हुन नसक्दा चार महिनादेखि जनतालाई खाद्यान्न बिक्री गर्न नसकिएको उहाँको कथन छ ।
सर्वदलीय बैठकले सभासद् छक्कबहादुर लामा र जिल्ला समन्वय प्रमुख दानबहादुर रावतलाई खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालयसँग समन्वय गरी खाद्यान्नको समस्या हल गर्न जिम्मा दिइएको प्रजिअ आचार्य बताउनुहुन्छ ।

आव २०७८/०८९ स्वीकृत वार्षिक कोटा चामल एक चौमासिक ३३ सय कुइन्टल आउनुपर्नेमा अहिलेसम्म १२ सय कुइन्टल चामाल मात्र सिम्रिका एयर कार्गो सर्भिसले ढुवानी गरेको छ । हुम्लामा ६ महिनायता स्थलबाट २१ कुइन्टल र हवाईमार्गबाट ५ सय कुइन्टल खाद्य संस्थान डिपोमा जम्मा भएको देखिन्छ । त्यस्तै, हुम्लामा खाद्यान्न चाँडो ढुवानी गर्ने लिमिटेडलाई निर्देशन दिइसकिएको कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही बताउनुहुन्छ ।