मन्त्री झाँक्रीको सय दिनको उपलब्धि ७० करोड डलर ऋण लिने

0
Shares

काठमाडौं ।

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफ्नो कार्यकालको १ सय दिन निकै महत्वपूर्ण उपलब्धि हासिल गरेको दाबी गर्नुभएको छ ।उहाँले नीति निर्माणको तहदेखि लिएर बजेट कार्यान्वयनमा महत्वपूर्ण काम भएको बताउनुभएको हो । मन्त्री झाँक्रीले उपभोक्ता समितिबाट हुँदै आएको काम रोकेर ठेक्का प्रक्रियामार्फत अगाडि बढाएको बताउँदै उहाँले मन्त्रालयबाट प्रवाह हुने कामलाई प्रभावकारी रूपमा अगाडि बढाइएको बताउनुभयो ।

आफू मन्त्री भएर आएको १ सय दिनमा गरेका कामका बारेमा जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा उहाँले मन्त्रालयको हालसम्मको समग्र प्रगति १८ दशमलव ९१ प्रतिशत रहेको जानकारी दिनुभयो । विद्यमान राष्ट्रिय शहरी नीतिलाई परिमार्जन गरी संघीय ढाँचा अनुकूल बनाउन प्रस्तावित नीतिका उद्देश्यलाई अन्तिम रूप दिई प्रदेश र स्थानीय तह लगायतका सरोकारवालासँग अन्तरक्रिया गर्ने तयारी गरिएको बताउदै उहाँले भन्नुभयो– ‘मन्त्रालयसँग सम्बन्धित महत्वपूर्ण युटिलिटी कोरिडोरसम्बन्धी व्यवस्था र शहरी पूर्वाधारमा ऋण तथा अनुदान लगानीका विषयमा दिशाबोध हुने गरी शहरी विकास विधेयकको मस्यौदालाई अन्तिम रूप दिइएको छ ।

वागमती नदी र यसका सहायक नदीहरूलाई स्वच्छ, सफा तथा प्रदूषणमुक्त राख्न वागमती सभ्यता संरक्षण तथा विकाससम्बन्धी विधेयकको मस्यौदालाई अन्तिम रूप दिइएको बताउँदै उहाँले राष्ट्रिय भवन संहितालाई प्रभावकारी रूपमा कार्यान्वयन गरेर लैजानुपर्ने बताउनुभयो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट हस्तान्तरण भई आएका बाँकी काम सम्पन्न गर्न कार्यालय, संगठन संरचना, जनशक्ति र बजेटको व्यवस्था मिलाइएको, फोहोरमैला व्यवस्थापन सम्बन्धमा प्रदेश सरकार र स्थानीय तहलाई प्राविधिक सहयोग गर्ने उद्देश्यले सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत रहने गरी फोहोरमैला व्यवस्थापन सहयोग केन्द्र स्थापना गरिएको उहाँले बताउनुभयो ।

सातवटै प्रदेशमा एक÷एक वटा सुविधा सम्पन्न सभाहल निर्माण गर्ने सरकारको नीतिअनुसार कर्णाली प्रदेशको सुर्खेतमा निर्माणाधीन ९ सय ८० सिट क्षमताको सभाहल निर्माण कार्यको पहिलो चरणको कार्य सम्पन्न भई वीरेन्द्रनगर नगरपालिकालाई हस्तान्तरण गरिएको उहाँले जानकारी दिनुभयो । मन्त्रालयले सामाजिक पुँजीका रूपमा रहेका सामाजिक पूर्वाधारहरू अस्पताल, स्वास्थ्य चौकी, हरियाली पार्क, मनोरञ्जन पार्क, शवदाह गृह जस्ता सामाजिक पूर्वाधार निर्माणका कामसमेत गरिएको उल्लेख छ ।

चालू आर्थिक वर्षमा मन्त्रालयको कूल वजेट ३० अर्ब ८४ करोडमध्ये चालूतर्फ विनियोजित १ अर्व ९४ करोड रुपियाँमा ६९ करोड (३५ प्रतिशत) र पुँजीगततर्फ विनियोजित २८ अर्ब ९० करोड रुपियाँमा ५ अर्ब ८ करोड (१७ प्रतिशत) खर्च भएको छ । मन्त्रालयको समग्र प्रगति १८.९१ प्रतिशत रहेको छ । मन्त्रालयले नगर विकास कोषको विद्यमान पुँजी संरचना र संस्थागत व्यवस्थामा समयानुकूल संशोधन गरी कोषलाई आवश्यक पुँजी संरचनासहित व्यावसायिक तथा सुदृढ निकायका रूपमा विकास गर्न ‘शहरी पूर्वाधार विकास निगम÷नगर वित्त निगम’ स्थापनाका लागि विधेयकको मस्यौदालाई अन्तिम रूप दिइएको उपलब्धिमा भनिएको छ ।

सघन शहरी विकास कार्यक्रमलगायत विभिन्न आयोजनामार्फत ३ महिनाको अवधिमा ८७ किलोमिटर सडक निर्माण र ९१ किलोमिटर पक्की नाला निर्माण गरिएको उल्लेख गर्दै उपलब्धिमा काठमाडौं उपत्यकाका १८ वटा नगरपालिकाको फोहोर व्यवस्थापनका लागि नुवाकोट–धादिङमा निर्माणाधीन वञ्चरेडाँडास्थित स्यानिटेरी ल्यान्डफिल साइटको पहिलो सेलको निर्माण कार्य सम्पन्न भई फोहोर विसर्जनका लागि योग्य भएको बताइको छ ।

फोहोरमैला व्यवस्थापन सम्बन्धमा प्रदेश सरकार र स्थानीय तहलाई प्राविधिक सहयोग गर्ने उद्देश्यले शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत रहने गरी फोहोरमैला व्यवस्थापन सहयोग केन्द्र स्थापना गरिएको बताउँदै मन्त्री झाँक्रीले शुक्लाफाँटा नगरपालिका र गोदावरी नगरपालिकामा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गर्न जग्गा प्राप्ति कार्य लामो समयदेखि अवरुद्ध रहेकोमा हाल जग्गा प्राप्तिका लागि मन्त्रिपरिषद्मा पेस गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।

क्षेत्रीय शहरी विकास कार्यक्रमअन्तर्गत नयाँ कार्यक्रमका रूपमा शहरी पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्न, नगरपालिकाको क्षमता अभिवृद्धि गर्न र फोहरमैला व्यवस्थापन कार्यक्रम सञ्चालन गर्नका लागि एसियाली विकास बैंकसँग करिब ७ सय मिलियन अमेरिकी डलरको ऋण सम्झौताको तयारी भएको उपलब्धिमा उल्लेख गरिएको छ ।

वागमती नदी संरक्षण र सौन्दर्यीकरण कार्यका लागि काठमाडौंको गोकर्णदेखि गुह्येश्वरीसम्मको क्षेत्रमा अनाधिकृत ढंगले निर्माण गरिएका २७ वटा घरटहरा हटाइएको उल्लेख गर्दै उपलब्धिमा वागमतीपीडित संघर्ष समितिको अवरोधका कारण–२०७५ सालदेखि २०७७ मंसिरसम्मको अवधिमा पटक–पटक अवरुद्ध काठमाडौंको गोकर्णदेखि सिनामंगलसम्मको ७ किलोमिटर कोरिडोर सौन्दर्यीकरणको कार्य १८ महिनापछि पुनः सुचारु भएको बताइएको छ ।