प्रदेश नं. २ बन्यो मधेस प्रदेश

0
Shares

जनकपुरधाम

प्रदेश नं. २ को नामकरण मधेस भएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले प्रदेश नं. २ को नाम मधेस राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पास गरेको हो । सोमबार बसेको दोस्रो बैठकमा सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा) सँगै माओवादी केन्द्र र विपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संयुक्त रूपमा प्रदेशको नाम मधेस प्रस्ताव गरेका थिए । मतदानमा सहभागी ९९ सांसदमध्ये जसपाका ३९, माओवादीका ८ र लोसपाको १६ गरी ६३ सांसद, नेपाल संघीय समाजवादी पार्टीका १ र अन्य दलका १६ सांसद गरी ८० जनाले मधेस नामकरणको पक्षमा मतदान गरेका थिए ।

प्रदेश–२ को नाम कांग्रेसले ‘मिथिला भोजपुरा’, एकीकृत समाजवादी र एमालेले ‘जानकी’ तथा कांग्रेसकै सांसद राजेश्वर साहले ‘मध्य मधेस’ प्रस्ताव गरेका थिए । प्रदेशसभाले प्रदेशको स्थायी राजधानी पनि टुंगो लगाएको छ ।

मधेस प्रदेशको प्रदेशसभाबाट दुई तिहाइ बहुमतका साथ मधेस प्रदेशको स्थायी राजधानी जनकपुरधाम बनेको छ । प्रदेशसभामा सम्पन्न मतदानमा जनकपुरधामलाई राजधानी बनाउने पक्षमा ७८ मत परेको र उक्त संख्या दुई तिहाइभन्दा बढी भएकाले स्थायी राजधानी जनकपुरधाम कायम भएको सभामुख सरोज यादवले घोषणा गर्नुभएको थियो । प्रदेशसभाका १ सय ४ जना सदस्यमध्ये मतदानमा ९९ जना प्रदेशसभा सदस्यहरू सहभागी भएका थिए । प्रदेशसभामा प्रतिनिधित्व गरेका दलहरूको तर्फबाट स्थायी राजधानीका लागि संयुक्त रूपमा प्रस्ताव पेस भएपछि उक्त प्रस्तावमाथि मतदान भएको थियो ।

प्रदेशसभा सदस्यहरू परमेश्वर साह, रवीन्द्र बैठा, उपेन्द्रप्रसाद कुशवाहा, शारदा देवी र भरतप्रसाद साहले प्रदेश–२ को स्थायी राजधानी जनकपुरधाम (उत्तरमा धनुषा जिल्लाको ढल्केवर र पूर्व–पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सिमाना र पश्चिममा मिथिला माध्यमिक परिक्रमा) तोक्न प्रस्ताव गरेका थिए ।

जनकपुरधामले नेपालको विभिन्न परिवर्तनको आन्दोलनमा समेत अग्रणी भूमिका निर्वाह गरेको छ । २००७ सालअघिको प्रजातन्त्रका लागि भएको आन्दोलन, पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलन २०४७ सालको आन्दोलन, २०६२ सालमा भएको जनआन्दोलन र मधेस जनविद्रोह आन्दोलनमा जनकपुरधामले अहम् भूमिका निर्वाह गरेको थियो । जनकपुधाम मधेस प्रदेशको राजधानी कायम भएपछि जनकपुरधामवासीले दिपावली गरेका छन् ।

जनकपुरधामको इतिहास श्रीमद्भागवत्, वाल्मीकि रामायण, बृहदारण्यकोपनिषद्, गन्धारक सुरुचि जातक, शक्ति संगम तन्त्र, बृहत् विष्णुपुराण आदि पौराणिक ग्रन्थहरूमा मिथिला र विदेह विषयमा चर्चा रहेको पाइन्छ । वाल्मीकि रामायणमा त जनकपुरधामलाई मिथिलाको राजधानीका रूपमा चर्चा गरिएको छ । यस हिसाबले जनकपुरधामको इतिहास हजारौं वर्ष पुरानो रहेको प्रमाणित हुन्छ ।

मिथिलामाथि शासन गरेका शिरध्वज जनक आध्यात्मवादी थिए। आफ्नो आध्यात्मिक चेतनाकै कारण राजर्षिको उपाधी पाएका थिए । उनलाई विदेहको उपमा समेत दिइएको थियो । त्यसैले मिथिलालाई विदेह नामले समेत चिनिन्छ । जनकपुरधाम माता सीताको जन्मथलो समेत हो । यसका साथै तत्कालीन समयका विद्वान्हरू याज्ञवल्क्य, अष्टावक्र, शुकदेवजस्ता ऋषिमुनि सत्संगको थलो समेत जनकपुरधाम नै रहेको विभिन्न ग्रन्थहरूमा उल्लेख गरेको पाइन्छ ।

मिथिला हिन्दूका लागि मात्र नभई जैन धर्मावलम्बीका लागि पनि आस्थाको केन्द्र रहेको छ । जैन धर्मका १९औं तीर्थंकर मल्लिनाथ र २१औं तीर्थंकर नमिनाथको जन्म र उनीहरूका चार कल्याणक यही सम्पन्न भएको भारतको दिगम्बर जैन तीर्थमा उल्लेख छ।

विभिन्न स्रोतलाई आधार मान्ने हो भने मिथिलालाई देशका रूपमा इसापूर्व ६०० वर्षसम्म अस्तित्व प्राप्त थियो । त्यसपछि मगधका राजा अजातशत्रुले मिथिलामाथि आक्रमण गरी आफ्नो राज्यमा मिलाइदिए। कालान्तरमा मिथिलामा हर्षवद्र्धन र अरुणाश्वको अधिकार कायम भयो । विसं ११५४ मा कर्नाटवंशीय न्यान्यदेवले सिमरौनगढलाई आफ्नो राजधानी बनाई राज्य स्थापना गरेपछि पुनः मिथिला विश्व पटलमा उदाएको देखिन्छ ।