हाकिमलाई ‘स्वविवेक’को अधिकार

अध्यागमनमा ‘सेटिङ’

0
Shares

काठमाडौं ।

भिजिट भिसामा खाडी मुलुक दुबई जाने र जागिर खाने नेपाली अध्यागमन विभागमा ‘स्वविवेक’को अधिकार लिएर बसेका हाकिमको पक्षपातपूर्ण व्यवहारको शिकार भएका छन् । ‘सेटिङ’ मा प्रवेश गर्नेलाई मात्र प्रस्थान अनुमतिको छाप लगाउने काम भएको पीडितहरुको गुनासो छ ।

‘मैले सबै कागजात पूरा गरेको थिएँ तर मलाई प्रस्थान अनुमति दिइएन, उस्तै कागजात बोक्ने साथीले अनुमति पायो, उसले भन्दै थियो– २०–२५ हजारको मुख नहेर, तर मैले पहिला पत्याएको थिइनँ’, पर्वतका कृपलाल जैसीले भन्नुभयो– फ्लाई दुबई जहाजमार्फत ३ बजे दुबई उड्न विमानस्थल पुगेको थिएँ, टीकाटालो गरेर निस्केको लाजैमर्नु भयो ।
‘पछि फेरि ऋणपान गरेर २५ हजार रुपियाँ सेटिङवालालाई बुझाएँ, सजिलै छाप लाग्यो ।’ –उहाँको भनाइ छ । उहाँ अहिले दुबईमै हुनुहुन्छ ।

त्यस्तै, मोरङकी तिलरूपा थापा पनि केही दिनअघि भिजिट भिसामा दुबई जान चाहनुहुन्थ्यो, तर अनुमति पाउनुभएन । भिजिटका लागि दुबई सरकारले योग्य ठहर गरे पनि आफ्नै अध्यागमन कार्यालयको नजरमा योग्य बन्नुभएन । तर, थापाले दोहोर्याएर प्रयास गनुभएन, यद्यपि एकपटक अध्यागमन विभागका प्रमुख नारायणप्रसाद भट्टराईलाई भेटेर सबै कागजपत्र देखाउँदै ‘किन अनुमति दिइएन’ भनेर प्रश्न भने गर्नुभयो । भट्टराईले अनुमति नदिनुपर्ने कुनै कारण देख्नु भएन । हाकिमले पर्याप्त ठानेको कागजपत्र तल्लो तहका कर्मचारीका लागि अपर्याप्त हुने हदसम्मको ‘स्वविवेक’ को अधिकार सेवाग्राहीका लागि पीडाको विषय बनेको छ ।

अध्यागमनले तोकेको कागजातमा सम्बन्धित देशको भिसा, दुईतर्र्फी हवाई टिकट, होटल बुकिङ, गल्फको हकमा २ सय ५० डलर र अहिलेको स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरेको डकुमेन्ट हुन् । अध्यागमन विभागका प्रमुख भट्टराईले घुमाउरो पारामा अध्यागमनमा सेटिङ मौलाएको स्वीकार गर्नुभयो र भन्नुभयो– ‘विमानस्थलका कर्मचारीलाई स्वविवेक प्रयोग गर्न दिँदा कहिलेकाहीं नसोचेका घटनाहरु पनि हुने गरेका छन् । हामीले यो पठाउने त्यो नपठाउने भन्न मिल्दैन एयरपोर्टमा छाप हान्ने कर्मचारीलाई मन लाग्यो भने पठाउनुहुन्छ, शंका लाग्यो भने पठाउनुहुन्न । तर, विदेशमा गएर नेपाली अलपत्र पर्न नरोस् भन्ने उद्देश्यले अध्यागमनका कर्मचारीले काम गर्ने हुँदा केटाको हकमा सामान्य बोल्न जान्ने अलि–अलि लेखापढी भएको हकमा नरोक्ने भन्ने हो भने महिलाको हकमा सम्बन्धित देशमा कोही आफन्त भएको कागजपत्र पेस गरेको खण्डमा अथवा महिला अलपत्र नपर्ने कुनै आधार देखिएमा पठाउन सकिन्छ ।’‘महिलालाई पक्षपातपूर्ण व्यवहार भएन’ भन्ने प्रश्नमा भट्टराई ‘उहाँहरुप्रति राज्य थप जिम्मेवार बनेको’ बताउनुहुन्छ । सम्बन्धित देशमा कोही आफन्त नाता खुलेको कागजपत्र, प्रस्ट अंग्रेजी बोल्न सक्ने अथवा सम्बन्धित देशमा गएर अलपत्र नपर्ने आधार भएको, नर्सिङ पढेको अथवा पढाइमा अलि दख्खल भएको व्यक्तिलाई प्राथमिकता दिने गरिएको उहाँले बताउनुभयो । तर, विमानस्थलम महिलासँग दुबईमा रगतको नाता खुल्ने व्यक्ति भएको प्रमाण नभई अनुमति दिइन्न ।

‘पुरुषको हकमा केही खुकुल्लो भए पनि महिलाको हकमा रगतको नाताको कागज अनिवार्य गरिएको छ ।’ –विमानस्थल कार्यालयका प्रमुख पुष्पराज शाहीले भन्नुभयो । सामान्यतया ६० देखि ७० हजार खर्च गरेर दुबई घुम्न जान सकिन्छ । तर, ‘सेटिङ’ का कारण यो रकम दोब्बर हुन पुग्छ । पुरुषको हकमा १८ हजार र महिलाको हकमा ५० हजार ‘सेटिङ शुल्क’ बुझाएपछि भित्री सबै योग्यता पुग्छ । तर, बाहिरी ‘योग्यता’ पूरा गर्न दलालको भाग पनि थप्नुपर्छ ।

खाडी मुलुक भ्रमणमा पुगेका नेता तथा मन्त्रीलाई एयरपोर्टमा सेटिङ छ भन्ने प्रस्ट जानकारी छ । त्यहाँ पुग्ने नेता तथा मन्त्रीले त्यहाँ रहेका नेपालीलाई सेटिङ हटाउने आश्वासन दिन्छन्, तर कहिल्यै पूरा गर्दैनन् । बरु उल्टै सेटिङ हुन्छ भन्ने थाहा पाएर नेपाल फर्किएका मन्त्रीले सेटिङप्रति चासो राखेपछि सेटिङको पैसा झन् बढ्ने गरेको खाडीका नेपालीको हकहितमा आवाज उठाउँदै आएका दीपक क्षेत्री जानकारी गराउनुहुन्छ ।