‘असफल देश’ र ‘क्याप्चर देश’



देशको पनि जन्म र जवानी हुन्छ । देश पनि गरिब र धनी हुन्छ । देश पनि सिस्टममा सफल र असफल हुन्छ । अहिले दक्षिण–पूर्वी एसियाको कुनै बेलाको सफल र धनी देश श्रीलङ्का असफल राष्ट्र (फेल्ड स्टट) हुने दिशातर्फ द्रूत गतिले अग्रसर भैरहेको छ । श्रीलङ्काले बीस वर्षसम्म गृहयुद्ध झेल्नुप-यो । ६० हजारभन्दा धेरै मानिसको त्यहाँ अकालमै ज्यान गयो । विदेशीहरूको प्रवेश नाहकमा स्वदेशमा भएपछि त्यो देश शनैःशनैः अन्ततोगत्वा असफल राष्ट्र नै हुने हो, जुन श्रीलङ्काले देखाइरहेको छ ।

यो चिन्ता हामीकहाँ पनि सर्न सक्छ । नेपालमा अहिले औपचारिक जीवनका प्रायः सबै क्षेत्रहरू क्रमिकरूपले मटियामेट हुँदै गएका छन् । सरकार, पार्टीका नेताहरू, न्यायालय, संसदीय समितिका सभापतिहरू, संवैधानिक अङ्गका प्रमुख या सदस्यहरू, अख्तियार र प्रहरीहरू सबै–सबै एकापसमा टम्म मिलेका छन् । एक हिसाबले भन्ने हो भने यो देशमा जुनसुकै पार्टी आए पनि मिलिभगतको राजनीति गज्जबले सेटिङ भएको छ ।‘भाग शान्ति जय नेपाल’ कर्ममा दृश्य–अदृश्य रूपले पावर एक्सरसाइज गर्न चाहने र गरिरहेका विभिन्न तह र तप्काका मानिसहरू आ–आफ्ना ज्यान छाडेर लागेका छन् ।

अकूत धनराशि ज्यूनारान गर्नका लागि कसैलाई कुुनै राजनीतिक रङ्गले छेक्दैन । कुनै अब्सटेकलले नेगेटिभ हिन्टसमेत गर्दैन । यसर्थमा अहिले नेपालका कुनै पनि आपराधिक गतिविधिमा ‘म’ भन्ने पात्रलाई तोकेर भन्ने स्थिति छैन, त्यो त ‘हामी’ को स्थितिमा जब्बर भएर पुगिसकेको छ । याने कि म भनेको हामी ! पत्रकार ऋषि धमलासँग उपस्थित भएर चम्की–चम्की अन्तर्वार्ता दिने बतास बेपारी समूहका नायिके आनन्दराज बतासको बेपारी साझेदारीको संलग्नता यतिखेरका गठबन्धन प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवासँग भएको प्रकरणहरू बिस्तारी खुल्दै आएका छन् । शायद त्यसैको एउटा कारण हुनुपर्छ ‘बतास समूह’ को बेपारी साइटलाई अहिले खुल्न नसकिने गरी लक्ड गरिएको छ– ‘नरहे बाँस नबजे बाँसुरी’ !

समृद्धिका नौटङ्कीहरू गरेर गुलिया बतासे नाराहरू कोरल्न माहिर नेकपा एमालेका ‘बा’ केपी शर्मा ओलीका पालामा कोरोनाको खोल ओढेर गरिएका ओम्नी, यती, वाइडबडीलगायत ललिता निवासका एकपछि अर्को काण्डहरूलाई हेर्ने हो भने देश नेक्ससको पूरै एक्सरसाइजमा फँसिसकेको देखियो । यति र ओम्नीमा चाहिँ एमालेका हाइ प्रोफाइल राजनीतिज्ञ र तिनका पुत्रहरूको मिलिभगतमा भएको घोटाला थियो । जसलाई कुनै कारबाही नगरी त्यसै सामसुम गरियो । जनताको स्वास्थ्य सबालसँग गाँसिएको विषयमा भएको त्यो घोटालालाई केहीले अझै ‘मृत्युको सौदा’ भनेर टिप्पणीसमेत गर्ने गरेका छन् । बाँकी नागरिकहरूले बिर्सिसके ।

ललिता निवास प्रकरणमा भएको पनि त्यही हो । त्यहाँ सबै राजनीतिक पार्टीका नेताहरू, न्यायालयका न्यायाधीशहरू, संसदीय समितिका सभापतिहरू, टाइकुन बेपारीहरू, अदृश्य पावर ब्रोकरहरू, तिघ्रे डनहरू र सबै हाँचका ठेकेदारहरूको नेक्सस भएकै हो । जबकि महान्यायाधिवक्ता कार्यालयमार्फत अहिले मुद्दा लङ्गडो बनाउने साजिस रचिँदै छ ।एकपटक सामान्य चिरफारमा जाऊँ न त । के हो यो ‘नेक्सस’ भनेको ? के हो यो ‘असफल राष्ट्र’ भनेको ? अनि के हो त ‘राज्य कब्जा’ भनेको ? नेक्सस अङ्ग्रेजी मूल शब्द हो । यसको नेपालीमा जालो अर्थ हुन्छ, याने मिलिभगत हो –चिनजानको, राजनीतिक पार्टीको, पैसाको, फरियाको नाताको र आपराधिक दुनियाँको । भारतमा त्यो कसरी फैलिएको छ भनेर अध्ययन गर्नका लागि मुम्बैया कथामा आधारित छोटेबडे डन अभिनयमा अभिनित सिनेमा हेरे काफी हुन्छ । आपराधिक दुनियाँका कुचर्चित राजाहरू चाहे ती दाउद इब्राहिम हुन् या छोटा राजनहरू तिनीहरूको कालो साम्राज्यसमेत एक हिसाबले नेक्सस नै हो ।

नेक्ससमा सबैथोक जायज हुन्छ– सुरा, सुन्दरी, हतियार र पैसा ।जो नेक्ससको दुनियाँबाट बाहिर निस्कन्छ त्यो असुरक्षित हुन्छ । जो भित्र रहिरहन्छ त्यो सुरक्षित मानिन्छ । त्यसैले ‘मर्ते दम तक’ भनेर विभिन्न हाँचका मानिसहरू जो एकैपटकमा अकूत धनराशि कमाउन चाहन्छन् तिनीहरू जानी नजानी नेक्सस परिबन्दमा फस्छन् । नेपालमा बहुदलअघि राजदरबारबाट यस्ता काम र कुराहरू हुने गर्थे । बोल्ने÷लेख्ने अधिकार जनतामा थिएन, जनता डराउँथे । भूमिगत गिरोहका नाममा जनतालाई मनोवैज्ञानिक त्रास देखाएरै बाठा पञ्चहरू यो शक्तिको अभ्यासमा लागेर मनी, माइन्ड र मसल्सको भरपूर उपयोग गर्थे ।

पञ्चायतपछि कांग्रेसका केही टावर व्यक्तित्वकै सन्तानहरू नेक्सस गिरीमा लागेका पाइयो । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रम गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाता जोस्ट जब राजनीति गर्न जर्मनबाट लोग्ने छोडेर नेपाल आई स्थायी रूपमा बसोबास गरेर राजनीतिक पोस्टमा प्रमोसन हुन थालिन् अनि उनी अनेक काण्डमा तानिइन् । उनका छोरी–ज्वाइँसमेत टेलिफोन कल बाइपास प्रकरणमा मुछिए । सत्ताको रजगज कम हुँदै गएपछि उनीहरू बिस्तारै पाखा लागेका हुन् तर निमिट्यान्न भैसकेका छैनन् । नेक्ससको एक्सरसाइज गर्नेहरू आफू अनुकूल राजनीतिक सत्ता र प्रधानमन्त्री÷मन्त्रीहरू पावरमा हुन्जेल मात्र सक्रिय हुन्छन् । तर आफ्नु अनुकूलका राजनीतिज्ञ र मन्त्रीहरू पावरमा नभएका बेलामा पनि चुप लागेर भने बस्दैनन् । त्यस बेला पनि उनीहरु भित्रभित्रै सञ्जाल निर्माणमा सक्रिय भइरहेका हुन्छन् । उनीहरूको संगठन र नेटवर्किङको जालो अत्यन्त सूक्ष्मरूपले अघि बढिरहेको हुन्छ ।

त्रिविका समाजशास्त्रका उपप्राध्यापक तथा हाल जापानको क्योटो विश्वविद्यालयमा भिजिटिङ प्रोफेसरका रूपमा काम गरिरहेका युवा समाजशास्त्री दीपेश घिमिरे नेक्ससबारे भन्छन्– ‘पहिले नेता राजनीति गर्थे । बेपारीहरू बेपार गर्थे । त्यो बेलामा बेपारीहरूले आफ्नो हुँदो गराउनका लागि नेताहरूलाई घूस र कमिसन खुवाई काम पट्याउँथे । तर संविधानसभाको चुनावपछि त्यो सिनोरियो बिस्तारी–बिस्तारी फेरियो । पछि–पछि बेपारीहरू नेता र राजनीतिक पार्टीलाई चन्दा दिएर आफू संसद्भित्रै छिरे । खासगरी समानुपातिक निर्वाचन प्रणालीको फाइदा उठाएर क्रमशः राज्य शक्तिलाई नै क्याप्चर गर्ने रणनीति लिएर बेपारीहरू संसद्मा गए र कतिपय अवस्थामा त मन्त्रीसमेत बने ।

घिमिरे अझ अघि भन्छन्– ‘पहिलो चरणमा बेपारी र ठेकेदारहरूले पैसा दिएर नेतालाई किन्थे । दोस्रो चरणमा बेपारी र ठेकेदारहरूले नेतालाई किन्नभन्दा पनि पार्टीमा चन्दा दिएर पस्ने नीति अपनाए । धेरै बेपारीहरू त्यो कालमा कांग्रेस र एमालेका सदस्य बने । कांग्रेसका विनोद चौधरी र एमालेकी राज्यलक्ष्मी गोल्छा सदस्य–काण्ड त्यसैको परिणति हो । तर अहिले बेपारीहरूले क्रमशः पार्टीलाई पकडमा लिएर कसलाई नेता बनाउने भन्दै एक्सरसाइज गर्छन् । एमालेको हालै सम्पन्न महाधिवेशनमै स्वास्थ्य क्षेत्रका कुचर्चित बेपारी दुर्गा प्रसाईं केन्द्रीय समितिमा पुगे । जबपकि उनी केही वर्षअघि मात्रै प्रचण्डलाई पितासमान मान्थे ।’

यो रोग एमालेमा मात्रै नभएर कांग्रेसमा पनि छ । कांग्रेसको यसैपटकको चौधौं महाधिवेशनमा धेरै बेपारी र आपराधिक पृष्ठभूमिबाट आएका मानिसहरू केन्द्रीय समितिमा छिरेका छन् । तीमध्ये गणेश लामा एक हुन् । नेक्ससलाई राजनीतिज्ञहरूबाट कानुन बनाएर ब्रेक गर्न सकिन्छ । निष्ठावान् न्यायाधीशहरूको समूहले अदालतबाटै नयाँ–नयाँ फैसलाहरू गरेर रोक्न सक्छ । संसद्का विभिन्न संसदीय समितिहरूले समेत गजबार ते¥स्र्याउन सक्छन् । त्यो अवस्थाको फिल भएर नेक्सस ब्रेक गर्ने चाहना त हुनुप-यो ।

तर नेपालमा त्यसो भएको देखिएन, सुनिएन ।‘असफल राष्ट्र’ भनेको के त भन्ने सबालमा भिजिटिङ प्रोफेसरका रूपमा काम गरिरहेका घिमिरे अघि भन्छन्– ‘राज्यका औपचारिक अङ्गहरूले बिस्तारी काम गर्न छाड्नु नै असफल राष्ट्र हुनु हो । कुनै पनि देशमा कानुनले काम गर्न छाड्यो भने, कानुन बनाउने संसद्मै सबै किसिमका मानिसहरूको मिलिभगतमा कानुनहरू बन्न थाले भने तथा शिक्षा, स्वास्थ्य, यातायात, बेपार, प्रशासन र न्यायलयजस्ता सार्वजनिक क्षेत्रका सबै अङ्गहरूले काम गर्न नसकेर बिस्तारी–बिस्तारी देश असफल राष्ट्र हुने हो । तर नेपालजस्तो देश असफल देश हुन सक्दैन । यहाँ हाम्रो इ्रन्फर्मल इकोनोमीले काम गरेको छ । यो देश फेल हुनेभन्दा पनि अहिले ‘नेसन क्याप्चर’ को स्थितिमा छ ।’

के हो यो ‘नेसन क्याप्चर’ भनेको भन्ने सबालमा उनी अघि भन्छन्– ‘यो कुरा बुझ्नका लागि हामीले २०६२÷०६३ देखि पछाडिका १ अर्बभन्दा माथिको भ्रष्टाचार केसलाई समाचार बनाएर नेपाली पत्रिकाले रिपोर्टिङ गरेको समाचारहरूलाई विश्लेषण गरे हुन्छ । त्यो बीचमा करिब एक सयवटाजति केसहरू प्रकाशित भए होलान्, जसको कुल रकम जोड्दा २ खर्ब ३६ अर्बजतिको अमाउन्टमा हुन्छ । ती केसका समाचार आए । जसको कुनै छानबिन नै भएनन् । भनेपछि अहिलेको स्थिति भनेको नेपाल असफल राष्ट्र हुने भन्दा पनि ‘नेसन क्याप्चर’ याने ‘राज्य कब्जा’ मा जाने हो । यो मामलामा सबै पार्टीहरू मौन छन् । ललिता निवासमा नेता, मन्त्री, संसदीय समितिका सभापतिहरू, न्यायाधीशहरू र

प्रहरीहरूसमेतको संलग्नता रहेको छ । एनसेलमा त्यही भएको हो, सबै चुकेका छन् ।’उनी अघि थप्छन्– ‘अहिले श्रीलंकाजस्तो हाम्रो देश फेल हुँदैन । यो देश अझ फरक खालको डरलाग्दो रोग नेसन क्याप्चरको स्थितिमा छ । नारायणहिटी दरबारजस्तो पुरातात्विक महत्वको स्थलमा कफी सप खोल्न दिनुहुँदैन भनेर अहिले एकथरी मानिसहरू भनिरहेका छन् । त्यस्तो ठाउँमा पनि भिजिटरको सुविधाका लागि संसारका सबैजसो पुरातात्विक महत्वका क्षेत्रमा चिया, कफीका सप राखिएका हुन्छन् तर त्यसको निर्माण ती धरोहरकै लागतमा हुन्छ । तिनीहरूले डाक बडाबढमा भाडामा दिन्छन्, त्यो पनि एक–दुई वर्षका लागि ।

यो भनेको बढीभन्दा बढी नाफामा देऊ भनेको हो । यस मामलामा ‘आर्थिक अपराधी’ त त्यो बेलाका पर्यटनमन्त्री योगेश भट्टराई हुन् । उनले कौडीको भाउमा बीस वर्षका लागि त्यो ठाउँ बतास समूहलाई लिजमा दिए । नेताले देश बनाउनु छ भने ‘पपुलर हुने होइन इमानदार हुने हो’ । त्यो त योगेशजीको प्रोपोगान्डा हो । बतास समूह बेपारी समूह हो । बेपारीको धर्म भनेकै नाफा आर्जन गर्नु हो । म त बतास समूहको कुनै गल्ती नै देख्दिन । उसले देशको कुनै कानुन नतोडी काम गरेको छ भने ऊ ठीक छ । गलत त नीति निर्माण गर्ने र कार्यान्वयन नगर्ने नेताहरू पो हुन् ।’देशलाई यी दुवै महारोगबाट अब कसले बचाउने ? कसरी बचाउने ? यो बहसको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्