खोप अभियानमा चेपाङको साथ खोज्दै स्वास्थ्यमन्त्री

0
Shares

हेटौंडा

वागमती प्रदेशका चेपाङ बाहुल्य क्षेत्रमा कोभिडविरुद्ध खोप अभियान प्रभावकारी बनाउन प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले छलफल गर्नुभएको छ । मन्त्रालयमा शुक्रबार मकवानपुरका चेपाङ बाहुल्य क्षेत्रका प्रतिनिधिसँग कोभिड खोप अभियान प्रभावकारी बनाउन छलफल गरिएको हो ।

चेपाङ बाहुल्य क्षेत्रमा खोप लगाउने दर कम रहेकाले खोप अभियानलाई प्रभावकारी बनाउन छलफल भउको थियो । कोरोनाको जोखिम न्यूनीकरणका लागि खोप अत्यावश्यक रहेकाले खोपबारेको भ्रम हटाउन त्यस क्षेत्रका नागरिक समाज, जनप्रतिनिधि, सामाजिक अगुवालगायतले अभियानको महत्वबारे प्रचार–प्रसार गर्नुपर्नेमा स्वास्थ्यमन्त्री लामाले जोड दिनुभएको थियो । ‘प्रदेश सरकार खोप लिएर समुदाय तहमै पुग्न तयार छ’, उहाँ भन्नुहुन्छ– ‘सबै पक्षको सहयागबिना यो सम्भव छैन, त्यसैले सबैले साथ दिनुहुनेछ भन्ने अपेक्षा लिएको छु ।’

चेपाङ बाहुल्य क्षेत्रमा गाउ“पालिकास्तरमा स्वास्थ्य शिविर गर्ने, खोपको सकारात्मक पक्षबारे प्रचारप्रसारमा जोड दिने, विपन्न चेपाङ, तामाङ र दलित वर्गलाई लक्षित गरेर सहयोग अभियानसहित खोप अभियान चलाउने जस्ता काम गरेर खोप अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा वागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङले जोड दिनुभएको थियो ।

त्यस्तै, संविधानसभा सदस्य गोविन्दराम चेपाङले उक्त क्षेत्रमा चेतना अभाव र खोपबारे नकारात्मक प्रचार रहेकाले यसलाई चिर्दै खोप लगाउने दरले बढाउन आफूहरुले सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । चेपाङ संघ केन्द्रीय सदस्य खेम चेपाङले खोप लगाउने दरलाई चेपाङ समुदायमा बढाउन संघका सबै जिल्लाका एकाइमार्फत सहजीकरण गरिने भन्दै विद्यालय, स्वास्थ्य एकाइ, वडा कार्यालयजस्ता स्थानमा अभियान चलाउनुपर्नेमा जोड दिनुभयो । कोरोना खोपका लागि चेपाङ भाषामा नै लेखिएको सन्देश प्रचारप्रसार गर्नु जरुरी रहेको उहाँको भनाइ थियो ।

छलफलमा चेपाङ संघ मनहरी अध्यक्ष प्रकाश चेपाङ, चेपाङ संघ राक्सिराङ अध्यक्ष सोम चेपाङलगायतले अभियानलाई सफल बनाउन आफूहरुले समुदाय तहसम्म सकारात्मक प्रचारप्रसार गरेर सहयोग गर्ने बताउनुभएको थियो । छरिएर रहेको उक्त समुदायमा सूचनाको अभाव वा बेवास्ता गरेका कारण खोप लगाउन आउनेको संख्या कम छ । प्रदेशका चेपाङ बाहुल्य क्षेत्रमा कोभिडविरुद्ध खोप लगाउने दर कम पाइएपछि मन्त्री लामाले उक्त समुदाय र क्षेत्रका अगुवासँग छलफल गर्नुभएको हो ।

प्रजननमा समस्या हुने डर
मकवानपुर र चितवनमा बसोबास गर्ने चेपाङ समुदायले कोभिड खोपमा चासो दिने नगरेको पाइएको छ । कोरोना खोप लगाएपछि प्रजननमा समस्या हुने डर चेपाङमा देखिएको स्थानीयको भनाइ छ ।मकवानपुरको विशेषतः राक्सिराङमा चेपाङको बस्ती छ । चितवनको इच्छाकामना गाउँपालिका तथा कालिका, राप्ती, खैरहनी, माडी नगरपालिका र भरतपुर महानगरपालिकामा चेपाङको बसोबास छ ।

ती पालिकामा २०६८ सालको जनगणनाअनुसार २८ हजार ९ सय ८९ चेपाङको बसोबास छ । त्यसमध्ये हालसम्म ६ हजार ३ सय २७ चेपाङले कोरोनाविरुद्धको खोप लगाएका छन् । राप्ती नगरपालिकाको वडा नम्बर १०, ११, १२ र १३ मा चेपाङ समुदायको बाहुल्यता छ । ती वडामा ९० प्रतिशत चेपाङ समुदायको बसोबास रहेको र ती वडामा १८ वर्षमाथिका ८ हजारले खोप लगाउनुपर्ने हो । चेपाङ समुहदायमा सानो उमेरमा विवाह गर्ने परिपाटीका कारण खोप लगाउनेको संख्या कम भएको हुन सक्ने स्वास्थ्यकर्मीको भनाइ छ ।