एमालेले प्रधानमन्त्रीलाई बुझायो २२ बुँदे ध्यानाकर्षणपत्र

0
Shares

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कोरोना नियन्त्रणमा सरकार असफल भएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई २२ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कोरोना नियन्त्रण गर्न ठूलो भूमिका खेलेको दाबीसहित एमालेले प्रधानमन्त्री देउवालाई बुँदागत रूपमा ध्यानाकर्षणपत्र बुझाएको हो । ओली नेतृत्वको सकारको पालामा कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि स्टान्डर्ड गाइड लाइन तयार गर्नेदेखि ८२ वटा पीसीआर ल्याब स्थापना गर्दै कोरोना रोकथाममा १६ वटा काम गरेको एमालेले सरकारलाई स्मरण गराएको छ ।

एमालेले प्रतिबद्धताअनुसार खोप लगाउन नसकेको, खोपको पर्याप्तता हुँदाहुँदै पनि जनताले प्रयोग गर्न नपाएको, बुस्टर खोप उपलब्ध गराउन नसकेको, बीमितहरूको रकम उपलब्ध नभएको, टेस्टिङ र ट्रेसिङ कार्यमा वृद्धि नभएको, कूटनीतिक पहल अत्यन्तै कमजोर रहेका जस्ता आरोप लगाउँदै ध्यानकर्षणपत्र बुझाएको छ । शनिबार नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ, सचिव योगेश भट्टराईको नेतृत्वमा प्रधानमन्त्री निवास वालुवाटारमा प्रधानमन्त्री देउवालाई ध्यानकर्षणपत्र बुझाएको हो । एमालेले कोभिडको महामारी दैनिक रूपमा बढ्दासमेत सरकारले नियन्त्रण र रोकथाममा ध्यान दिन नसकेको आरोप लगाएको छ ।

सबै पालिकामा जनस्वास्थ्य निरीक्षकको व्यवस्था नभएको, नेपाल–भारत सिमाना र अन्तर्राष्ट्रिय विमानस्थलमा टेस्टिङ र होल्डिङ सेन्टरको व्यवस्था नभएको, टेस्टिङ र ट्रेसिङ कार्यमा वृद्धि नभएको, औषधि, उपकरण, खोप र जनशक्तिको देशव्यापी उपलब्धताका लागि ठोस पहल नभएको, राजनीतिक दल तथा तिनै तहका सरकारका बीचमा प्रभावकारी समन्वय नभएको, कूटनीतिक पहल अत्यन्तै कमजोर भएको ध्यानकर्षणपत्रमा उल्लेख छ । एमालेले खोप केन्द्रको संख्या वृद्धि गरी सबै उमेर समूहका नागरिकलाई तत्काल खोप उपलब्ध गराउन माग गर्दै राज्यका निकाय र कूटनीतिक क्षेत्रको सक्रियता बढाउने र खोपको आपूर्ति तथा प्रयोगको प्रबन्ध मिलाउने र पर्याप्त भण्डार केन्द्र स्थापना गर्नुपर्ने बताएको छ ।

तीनै तहका सरकारको समन्वयमा कोभिड–१९ विपत व्यवस्थापन कार्य संचालन गरी सीमा क्षेत्रमा जाँच र होल्डिङ सेन्टरको तुरुन्त व्यवस्थापन गरी सञ्चालन गर्नुपर्नेमा जोड दिँदै एमालेले थप स्वास्थ्य जनशक्ति परिचालन गरी उनीहरूलाई प्रोत्साहन प्याकेजको व्यवस्था गर्न र अग्रभागमा क्रियाशील जनशक्ति तथा स्वयंसेवकका लागि प्रोत्साहन प्याकेजको व्यवस्था गर्न माग गरेको छ । बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा, अपाङ्ग र अशक्तहरूलाई विशेष व्यवस्था गर्नुपर्ने र यी समूहका व्यक्तिहरूलाई घर–घरमा खोप सेवा सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताउँदै पत्रमा औषधि, खाद्यान्नलगायत अति आवश्यक वस्तुको सहज आपूर्ति र भण्डारणको व्यवस्था गर्न माग गरेको छ ।

सम्पूर्ण संक्रमित बिरामीका लागि निःशुल्क स्वास्थ्य सेवा सञ्चालन गर्नुपर्ने बताउँदै एमालेले बुस्टर डोजको व्यवस्था तत्काल मिलाउन र राज्यका विभिन्न निकाय, स्वदेशी तथा विदेशी विश्वविद्यालय तथा अनुसन्धान केन्द्रसँग समन्वय र साझेदारीमा कोभिड–१९ सम्बन्धी अनुसन्धानात्मक कार्यक्रम अघि बढाउनुपर्ने माग गरेको छ ।

स्थानीय तहलाई विशेष जिम्मेवार बनाई साधन स्रोत र जनशक्ति उपलब्ध गराउनुपर्ने माग गर्दै पत्रमा दीर्घरोग, अत्यावश्यक स्वास्थ्य तथा नियमित स्वास्थ्य सेवा चालु राख्न, अर्थतन्त्रमार्फत विभिन्न क्षेत्रमा पर्ने नकारात्मक प्रभावलाई कम गर्न विशेष आर्थिक योजना कार्यान्वयन गर्नुका साथै वैकल्पिक रोजगारीको प्रबन्ध मिलाउन माग गरेको छ । एमालेले नियन्त्रण, रोकथाम र उपचारका लागि प्रभावकारी कदम चाल्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै सरकारले आवश्यक ठानेको सहयोग र समन्वयका लागि आफ्नो पार्टी तयार रहेको बताएको छ ।