गाउँमा भुटेको मकै भटमासको सातु विदेशमा लोकप्रिय

0
Shares

पर्वत ।

पर्वतमा सञ्चालित एक घरेलु उद्योगमा उत्पादित सातु जिल्लामा मात्रै नभएर देश विदेशमा समेत लोकप्रिय भएको छ । फलेवास नगरपालिका–४ मुडिकुवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगले उत्पादन गरेको मकै, भटमास, फापर, गहुँलगायतको सातु युरोप, अमेरिकालगायतका मुलुकहरूमा लोकप्रिय हुन थालेको छ ।

स्थानीय उद्यमी थानेश्वर भुसालले मकै, भटमास, फापर, चना लगायतको मिश्रणबाट पोसिलो खाजा उत्पादन शुरू गरेको ३ वर्ष भयो । उहाँले उत्पादन गरेको सातु शुरूका दुई वर्ष जिल्लाका विभिन्न खाद्य पसल, डिपार्टमेन्टल स्टोर हुँदै अहिले विदेश निर्यात गर्न शुरू गर्नुभएको छ । उहाँले मुडिकुवामा विगत २० वर्षदेखि पर्वत खाद्य प्रशोधन उद्योग सञ्चालन गर्दै आउनुभएको छ । उद्योगले किसानले उत्पादन गरेका मकै, भटमास, फापर, गहुँलगायतका अन्न भुटेर विभिन्न परिकार उत्पादन गर्न थालेको हो ।

बजारमा अर्गानिक खाजाको माग भइरहेकोले बजारमा सातु बनाएर बिक्री गर्न थालेको भुसालले बताउनुभयो । गाउँमा चाख नभए पनि बजार र वैदेशिक रोजगारीमा जानेहरूले यस्तो परिकारको माग गर्नेगरेको उहाँको भनाइ छ ।

‘गाउँमा यो पुरानो परिकार भन्दै खासै चाख गर्दैनन्,’ उहाँले भन्नुभयो – ‘गाउँबाट बजार झरेका र विदेश जानेहरूले निकै माग गर्न थालेका छन् ।’ उहाँका अनुसार जापान, अमेरिका, बेलायत, अस्ट्रेलिया, कोरिया लगायत देशमा यहाँ उत्पादित सातु निर्यात भइरहेको छ । उद्योगमा भुसालले गएको ७ वर्षदेखि लप्सीको अचार, क्यान्डी, तितौरा, अदुवाको क्यान्डीलगायतका परिकार अमेरिका र युरोपका विभिन्न मुलुकहरूमा निर्यात गर्दै आउनुभएको छ । लप्सी, अदुवा र अमलाका अर्गानिक परिकार माग गर्ने देशहरूबाट गाउँघरमा उत्पादित मकै र भट्टको परिकारसमेत माग हुन थालेपछि ‘पोसिलो सातु’ नाम दिएर विभिन्न अन्नको मिश्रण गरी सातु उत्पादन थालेको भुसाल बताउनुहुन्छ ।

‘धेरैजसो गैर आवासीय नेपालीहरूले कोशेलीका रूपमा लैजान्छन्,’ उनले भने, ‘दुई वर्षदेखि व्यावसायिक रूपमै केही उत्पादन अमेरिका पठाउँछु । गत आर्थिक वर्षमा करिब तीन क्विन्टल सातु विदेश निर्यात भएको थियो ।’

गाउँघरमा उत्पादित अर्गानिक पौष्टिक अन्न मिसाएर बनाएको हुनाले बालबच्चा र वृद्धवृद्धाहरूले उद्योगमा उत्पादित सातु पौष्टिकता मात्रै नभएर स्वास्थ्यका लागि पनि लाभदायक हुने स्वास्थ्यकर्मीहरू बताउँछन् ।