बाघको डरले घरभित्रै ‘दिसा–पिसाब’ घरघरै धुनी

0
Shares

बाँके ।

राप्तीसोनारी गाउँपालिका–६, हब्रहवाका रामप्रसाद थारू साँझ पर्ने बित्तिकै घरभित्र पस्छन् । बिहान नहुँदासम्म रामप्रसादका परिवार घरबाहिर निस्किँदैनन् । राति दिसा र पिसाब लागेमा उनीहरूले भित्रै व्यवस्थापन गर्छन् । रामप्रसाद भन्नुहुन्छ– ‘घरबाहिर बाघ आउँछ भन्ने डर हुन्छ । साँझ घरभित्र पसेपछि एकैपटक बिहान बाहिर निस्किन्छौं । दिसापिसाब लागेमा भित्रै गर्छांै । त्यसका लागि डब्बा राखेका हुन्छौं ।’

हब्रहवाका चाँदनी थारूलाई गत शनिबार दाउरा काट्न जाँदा बाघको आक्रमणबाट मृत्यु भएको थियो । चाँदनीको शवलाई भोलिपल्ट राप्ती नदीमा दाहसंस्कार गरिएको थियो । दाहसंस्कार गरेको ठाउँमा समेत बाघ आएको बताइएपछि स्थानीयवासी त्रसित भएका छन् ।

हब्रहवा गाउँ हुलाकी सडकदेखि दक्षिणमा पर्छ । सडकको उत्तरमा जंगल पर्छ । गाउँमै बाघ आएको थाहा पाएपछि हब्रहवा मात्रै होइन, सिधनुवा गाउँमा मानिस पनि त्रसित छन् । दुवै गाउँका मानिस साँझ परेपछि घरभित्र छिर्छन् र भोलिपल्ट बिहान मात्रै बाहिर निस्किन्छन् । सिधनुवाका कमलाकुमारी चौधरीले रातिमा कोही पनि घर बाहिर ननिस्किने बताउनुभयो । ‘हामी मात्रै होइन, गाउँका कोही पनि रातिमा बाहिर निस्किँदैनन्, सबैले घरभित्रै डब्बा राखेर दिसा, पिसाब गर्छौं’, कमलाकुमारीले भन्नुभयो– ‘बाहिर निस्किँदा बाघले खायो भने त मरिहालिन्छ । दिसा, पिसाब त सफा गरे भइहाल्छ नि ।’

यति बेला हब्रहवा, सिधनुवा गाउँका हरेक घरको अगाडि आगो बाल्ने गरिन्छ । सडकका पोलमा बत्ती राखिएको छ । आगो र बत्ती बाल्दा उज्यालोमा बाघ आउँदैन भन्ने स्थानीयवासीलाई विश्वास लागेको छ । घरबाहिर आगो बाल्ने र मान्छेजति साँझ पर्नेबित्तिकै घरभित्र पस्ने गरिएको छ । स्थानीय फूलरानी थारुले साँझ परेपछि गाउँ सुनसान हुने बताउनुभयो ।

चाँदनीको घरमा छिमेकी कुरुवा बस्न आउँछन् । उनीहरू आउँदा समूहमा राँको बालेर आउने गर्दछन् । घर अगाडि धुनी लगाउँछन् । कुरुवा बसेर फर्किंदा पनि समूहमा मात्रै राँको बाल्छन् । चाँदनीभन्दा केही दिनअघि राप्तीसोनारी गाउँपालिका–४, प्रसेनीका लीला विष्टको बाघको आक्रमणबाट मृत्यु भएको थियो । लीलाको घर जंगलछेउमै छ । त्यहाँ पनि कुरुवा आउने मानिसहरू समूहमा राँको बालेर आउने र जाँदा पनि राँको बाल्ने गर्दछन् ।

बाँकेमा बाघको आक्रमणबाट दुई दिनको फरकमा दुई जनाको मृत्यु भएपछि ती गाउँका मानिस त्रसित भएका छन् । नरभक्षी बाघलाई नियन्त्रण गर्नका लागि चितवन र बर्दियाबाट निकुञ्जसम्बद्ध आएका छन् । उनीहरूले हात्तीको प्रयोग गरेर बाघको खोजी गरिरहेका छन् । पछिल्लो तीन महिनामा बाँकेमा बाघले चार जनाको ज्यान लिएको छ ।