बैतडी ।
सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बललाई टेलिफोन र बाटोको समस्या भएको छ । भारतसँग सीमा जोडिएका बैतडी विभिन्न स्थानमा सशस्त्र प्रहरीले सीमा निगरानी चौकी (बीओपी) स्थापना गरी सुरक्षा दिइरहेको छ । झुलाघाट, रोलघाट र कुस्मौतघाटमा सशस्त्र प्रहरीले बीओपी स्थापना गरेका छ । ती बीओपी खटिएको सशस्त्र प्रहरीलाई टेलिफोन र बाटोघाटोको समस्या रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्म बैतडीका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक गणेशबहादुर शाहले बताउनुभयो ।
तीनवटा बीओपीले भारतसँगको सबै सीमा क्षेत्रको सुरक्षा दिइरहेको छ । ‘उक्त क्षेत्रमा नेपाल टेलिकमको नेटवर्कले काम गर्दैन, भनेका बेला फोन नै लाग्दैन । भारतीय सिम प्रयोग गर्नुपर्ने बाध्यता छ’, उहाँले भन्नुभयो– ‘रातदिन सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीलाई सबैक्षेत्रमा बाटोघाटोको व्यवस्था छैन, जोखिम मोलेर गस्ती गर्नुपर्छ । पेट्रोलिन गस्ती गर्न निकौ समस्या छ । भरपर्दो टेलिफोन र बाटोघाटो नहुँदा चाँहे अनुसारको सुरक्षा दिन कठिनाइ हुने गरेको छ ।’ उक्त क्षेत्रमा टेलिफोन समस्या रहेकाबारे टेलिकम कार्यालयलाई जानकारी गराइसकेको जनाइएको छ ।
यता टेलिकम कार्यालयका प्रमुख विक्रम टमटाले सीमा क्षेत्रको टेलिफोन समस्या समाधानका लागि पहल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘टेलिफोनको समस्या रहेका ती क्षेत्रमा टावर थपिने र यसबारे माथिल्लो निकायलाई जानकारी गारइसकेका छौं ।’ बैतडीमा भारतसँग ६१ किलोमिटर सीमा क्षेत्र जोडिएको छ । उक्त क्षेत्रमा हाल तीन ठाउँमा बीओपी स्थापना भएका र उनीहरुलाई सबै क्षेत्रमा परिचालन गर्ने गरिएको छ ।
सदरमुकामस्थित गढीमा गुल्म स्थापना भएपछि सीमाक्षेत्रमा बीओपी स्थापना गरेर सशस्त्र प्रहरीले आफ्नो उपस्थिति बढाएको हो । गुल्ममा हाल सशस्त्र प्रहरी नायव उपरीक्षक नेतृत्वमा १ सय ६० र बीओपीमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनाको टोली रहेको छ ।
सीमा क्षेत्रको रक्षा, सीमामा हुने अपराध न्यूनीकरणका लागि सीमा क्षेत्रमा सशस्त्र प्रहरी खटाउने नेपाल सरकारको नीतिअनुसार गुल्म र बीओपी स्थापना गरिएको हो । यस्तै, सीमा क्षेत्रमा हुन सक्ने अवाञ्चिछत गतिविधि, अवैध कारोबार, मानव बेचविखन जस्ता जघन्य अपराध, राजस्व चुहावट आदि रोक्न बीओपी स्थापना गरिएको हो ।











प्रतिक्रिया