वीरगञ्ज महानगरमा विद्यालय खुला

0
Shares

वीरगञ्ज, (नेस) ।

कोरोना संक्रमण बढ्दै गएपछि सरकारले मंगलबारदेखि माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय गरे पनि वीरगञ्ज महानगरपालिकाका विद्यालयहरू सञ्चालनमा नै रहेका छन् । वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले सोमबार साँझ नै एक सूचना जारी गर्दै महानगरका विद्यालयहरू बन्द नहुने जानकारी गराएको हो ।

सरकारले देशभरका विद्यालयहरू माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको भए पनि वीरगञ्जमा अहिलेसम्म कोरोना संक्रमणको स्थिति नियन्त्रणमै रहेकाले विद्यालय सञ्चालनमा कुनै समस्या नभएकाले महानगरका विद्यालयहरू मंगलबादेखि नियमित रूपमै सञ्चालनमा रहेको महानगर प्रमुख विजयकुमार सरावगीले बताउनुभयो । तर, चिकित्कसहरूले भने विद्यालय बन्द गर्ने बारेमा एकपटक फेरी सोची दिन वीरगञ्ज महानगरपालिकासँग आग्रह गरेका छन् । वीरगञ्जमै पनि कोभिड संक्रमण समुदायस्तरमै फैलिसकेकाले विद्यालयहरू सञ्चालनमा रहँदा बालबालिकाहरू उच्च जोखिममा रहेको भन्दै चिकित्सकहरूले हाललाई विद्यालय बन्द गर्नु नै उचित रहेको बताएका छन् ।

वीरगञ्जको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर उदयनारायण सिंहले अहिले विद्यालय बन्द नगर्ने हो र भोलिका दिनमा बालबालिकाहरू संक्रमित हुँदा पछुताउनुबाहेक अरू कुनै विकल्प नहुने बताउनुभयो । यद्यपि, नेपाल शिक्षक महासंघ पर्साले भने विज्ञप्ति जारी गर्दै पर्साका विद्यालय बन्द गर्न आग्रह गरेको छ ।