नाकाका पाँच जना स्वास्थ्यकर्मी नै संक्रमित

0
Shares

बाँके, (नेस) ।

नाकामा रहेको हेल्थ डेस्कमा खटिएका पाँच जना स्वास्थ्यकर्मी नै कोरोना संक्रमित भएका छन् । जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, भारतबाट आएका नेपालीको कोरोना परीक्षण गर्दा गर्दै पाँच जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । संक्रमित स्वास्थ्यकर्मीलाई आइसोलेसनमा पठाइएको छ ।

नाकामा अरू स्वास्थ्यकर्मीले परीक्षण गरिरहेका छन् । नाकामा जनशक्ति अभाव हुन नदिन पालिकाहरूमा रहेका ल्याब टेक्निसियनलाई नाकाका पठाउने निर्णय भएको छ । फोकलपर्सन वलीले हरेक पालिकाबाट ल्याबका कर्मचारीलाई नाकामा रहेको जमुनाहा हेल्थ डेस्कमा पठाउने तयारी भएको जानकारी दिनुभयो ।

नेपालगञ्ज नाकामा भारतबाट आएका व्यक्तिमा कोरोना देखा परिरहेको छ । भारतका विभिन्न शहरबाट आएका ठूलो संख्याका मानिसलाई भीडकै बीचमा कोरोना परीक्षण गर्ने गरिन्छ । भीड व्यवस्थित नहुँदा नै स्वास्थ्यकर्मीसमेत संक्रमित भएका छन् । नेपालगञ्ज नाकामा मंगलबार मात्रै ३७ जनामा कोरोना पुष्टि भएको छ । ३ सय ९६ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । भारतमा ओमिक्रोनको संक्रमण बढ्दा त्यसको प्रत्यक्ष असर नेपालमा परेको छ । वीरगञ्ज नाकामा पुष्टि भएका सबैमा ओमिक्रोन देखिएको फोकलपर्सन वलीले जानकारी दिनुभयो ।

यस्तै, वीरगञ्जका तीनवटा ल्याबमा ६४ जनाको परीक्षण गर्दा १५ जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पतालमा २९ जनाको परीक्षण गर्दा १० जना, कोहलपुर मेडिकल कलेजमा २२ जनामा ३ जना र बागेश्वरी ल्याबमा १३ जनाको जाँच गर्दा २ जनामा कोरोना देखिएको हो ।

वीरगञ्ज नाकामा कोरोना संक्रमितको संख्या बढ्दा बाँकेमा पनि त्यसको प्रभाव परेको छ । केही दिनयता यहाँका तीनवटा ल्याबमा गरिएको परीक्षणमा संक्रमितको संख्या बढ्दै गएको छ । नाकालाई राम्ररी व्यवस्थापन गर्न नसक्दा जिल्लामै त्यसको असर परेको छ । भारतबाट आउने धेरैजसो पहाडी जिल्लाका मानिस छन् । अहिलेसम्म नाकामा संक्रमण देखिएका व्यक्तिलाई एम्बुलेन्समा राखेर वीरगञ्जको बाल मन्दिरमा रहेको आइसोलेसन केन्द्रमा ल्याउने गरिन्छ । त्यहाँबाट सम्बन्धित पालिकामा खबर गरेर पठाउने गरिएको छ ।

नेपालगञ्ज नाकामा संक्रमण देखिएका पहाडी जिल्लाका व्यक्तिको व्यवस्थापन राम्ररी हुन नसकेमा पहाडी जिल्लाहरूमा ओमिक्रोनको जोखिम बढ्ने देखिएको छ । नाकाबाट नै देशका विभिन्न जिल्लामा संक्रमण बढ्ने संकेत देखिएको छ । नेपालगञ्ज नाकामा दैनिक ४० को आसपासमा संक्रमित देखा परिरहेका छन् ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय, बाँकेले २५ जनाभन्दा बढी भेला हुने कार्यक्रम नगर्न आदेश गरेको छ । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले मंगलबार जारी गरेको आदेशमा माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न अनिवार्य खोप कार्ड देखाउनुपर्ने उल्लेख गरिएको छ । सार्वजनिक स्थानहरूमा खोप कार्डबिना प्रवेश नदिन आदेश गरिएको छ ।