काठमाडौं ।
कोरोना संक्रमण बढेसँगै राजनीति दलका गतिविधि प्रभावित बन्न पुगेको छ । देशका ठूला राजनीतिक दलहरू महाधिवशेन सम्पन्न गरेर प्रदेश र जिल्ला स्तरको कार्यक्रमको तयारीमा जुटेपछि तत्कालको लागि पूर्व निर्धारित कार्यक्रम स्थगित गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएसँगै होम आइसोलेसनमा बस्नुभएको छ ।
दुई नेतामा कोरोना पुष्टि भएसँगै एकसातायता सत्ता गठबन्धनको बैठकसमेत बस्न सकिरहेको छैन् । एक साता अघि सम्पन्न माओवादीको महाधिवशेनमा सहभागी अधिकाशं नेता कार्यकर्तामा कोरोना संक्रमण देखिएको छ । केही दिनयता नागरिकदेखि राजनीतिक दलका नेतासँगै मन्त्रीहरूमा समेत कोरोना संक्रमण पुष्टि हुने क्रम बढेको छ । मन्त्रीहरू कन्ट्याक्ट ट्रेसिङमा परेपछि मन्त्रिपरिषद्को बैठक प्रभावित बन्न पुगेको छ । झन्डै आधा दर्जन मन्त्रीहरूमा कोरोना संक्रमण देखिएको छ ।
कोरोना संक्रमण बढ्दै गएपछि भीडभाड हुने सभा सम्मेलनको कार्यक्रम राजनीतिक दलहरूले धमाधम स्थगित गरेका छन् । पुस दोस्रो साता राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको माओवादीले पुस २५ गतेलाई बोलाइएको केन्द्रीय कमिटी बैठक अनिश्चित कालका लागि स्थगित गरेको छ । बैठक बस्न नसक्दा पदाधिकारी, केन्द्रीय कमिटीलाई पूर्णता दिने, स्थायी कमिटी र पोलिटब्युरो सदस्य चयनको कार्यक्रम प्रभावित बन्न पुगेको छ । माओवादीका अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेललगायत दर्जन बढी नेतामा कोरोना संक्रमण भएको छ ।
माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले कोभिड संक्रमणको दर बढेसँगै सातवटै प्रदेश कमिटीलाई भीडभाड हुने गतिविधि नगर्न निर्देशन दिएको बताउनुभयो । उहाँले कोभिड संक्रमण दर बढ्दै गएको अवस्थामा पार्टीले भीडभाड हुने कार्यक्रम आयोजना नगर्ने बताउनुभयो । त्यसै गरी नेकपा एकीकत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि कोरोना संक्रमण पुष्टि भएको सचिवालयले बताएको छ । नेकपा (समाजवादी) ले धेरै व्यक्तिको उपस्थिति हुने सभा तथा सम्मेलन हाललाई स्थगित गर्न र आन्तरिक भेला, बैठक तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्दा सकेसम्म वैकल्पिक माध्यम अपनाउन निर्देशनसहितको निर्देशन नै दिएको छ ।
नेपाली कांग्रेसले पनि भीडभाड हुने कार्यक्रम नगर्न निर्देशन दिइसकेको छ । कोभिडको जोखिम उच्च रहेको भन्दै पूर्वनिर्धारित कार्यक्रम तत्कालका लागि नगर्न भनेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजन केसीले कोभिडको जोखिम उच्च रहेकाले सभा सम्मेलन र भेलालगायतको कार्यक्रम गर्न नहुने बताउनुहुन्छ । उहाँले भन्नुभयो– ‘सबै जिम्मेवारी बनेर स्वास्थ्य मापदण्ड पालना गर्न आवश्यक छ, अहिले सभा सम्मेलन गर्न हुँदैन ।’
त्यसै गरी पुस २३ गते जिल्ला अधिवेशन शुरू गरेको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने जिल्ला अधिवेशनलाई जारी राखेको छ । कोरोनाको त्रासकैबीच ५१ भन्दा बढी जिल्लामा अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको एमालेले बाँकी जिल्लामा भने तत्काल अधिवेशन नगर्ने भएको छ । जिल्ला अधिवेशन सकिएलगत्तै प्रदेश अधिवेशन गर्ने पूर्वकार्यतालिका भने एमालेको प्रभावित हुने भएको छ । माघ ८ गते गर्ने भनेको प्रदेश अधिवेशन कोरोना संक्रमणको कारण माघ २८ र २९ गतेका लागि सारिएको छ । एमालेले कोरोना संक्रमण दरको अवस्था हेरेर प्रदेश कमिटीको अधिवेशन गर्ने बताएको छ ।











प्रतिक्रिया