नबिल बैंकको सहयोगमा राष्ट्रिय संवाद



काठमाडौं (नेस) ।

नबिल बैंकले नेपालमै पहिलोपटक आयोजना हुन गइरहेको ‘कृषि कर्जा मेला’ तथा ‘कृषि लगानीसम्बन्धी राष्ट्रिय संवाद’ मा सहकार्य गर्न आरएन्ड डी इन्नोभेटिभ सोलुसन्स प्रालिसँग सम्झौता गरेको छ । नेपाल कृषि मेसिनरी व्यवसायी संघद्वारा यही माघ ५ देखि ८ गतेसम्म नारायणगढमा आयोजना हुने पाँचौँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा एकैसाथ ‘कृषि कर्जा मेला’ तथा ‘कृषि लगानीसम्बन्धी राष्ट्रिय संवाद’ को आयोजना आरएन्डडी इन्नोभेटिभ सोलुसन्स प्रालिले गर्दैछ ।

कृषिसम्बन्धी सम्पूर्ण सरोकारवालाहरू किसान, उद्यमी, कृषि व्यापारी, प्रविधि प्रदायक, वित्तीय संस्थाहरू र नीति निर्माताहरूलाई एउटै थलोमा ल्याउने मेलाको प्रमुख उद्देश्य रहेको छ ।
नबिल बैंकद्वारा प्रस्तुत हुने उक्त मेलाको प्रमुख आकर्षण ‘कृषि लगानीसम्बन्धी राष्ट्रिय संवाद’ कार्यक्रममा कृषि लगानीसम्बन्धी समस्याहरू समाधान गर्न वित्तीय संस्था, नीति निर्माता, किसान र स्थानीय सरकारहरू बीचको व्यावहारिक अनुभवका आधारमा खुला र रचनात्मक छलफललाई प्राथमिकता दिइने रहेको छ ।

उक्त सहकार्यका लागि नबिल बैंक लिमिटेडको तर्फबाट साना तथा मझौला उद्यम तथा लघुवित्त कर्जा विभाग प्रमुख निरजकुमार बस्नेत (डनिल) र आरएन्डडी इन्नोभेटिभ सोलुसन्सका तर्फबाट अध्यक्ष सुनिता न्हेम्हाफुकीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।कृषि कर्जा मेलामा आयोजना हुन लागेको ‘कृषि लगानीसम्बन्धी राष्ट्रिय संवाद’ को प्रस्तुति गर्न पाउँदा नबिल बैंक गौरवान्वित भएको बस्नेत (डनिल) ले बताउनुभयो । उक्त संवाद कार्यक्रममा कृषि क्षेत्रका सबै सरोकारवालालाई एउटै थलोमा रहेर बैंकिङ संस्थाको कर्जा आवेदन प्रक्रिया र कार्यविधि, किसानहरूले भोग्ने समस्या र नीति नियमबीचको अन्तर, किसानहरू, उद्यमीहरू र कृषि व्यापारीहरूको वास्तविक आवश्यकता पूरा गर्न आवश्यक नीतिहरू परिमार्जन गर्न नियामक संस्थाहरूको विचार सम्प्रेषण गर्ने वातावरण तथा अवसर प्रदान हुनेछ ।’

त्यस्तै गरी अध्यक्ष न्हेम्हाफूकीले भन्नुभयो– ‘सबै बैंक/वित्तीय संस्था एकै थलोमा, बुझौं र बुझाऔं कृषि कर्जाको बारेमा’ भन्ने हाम्रो प्रयासलाई नबिल बैंकका साथले सम्रग कृषिमा वित्तीय पहुँच पुर्याउने कामको लागि यस सहकार्य कोसेढुंगा साबित हुनेछ । सन् १९८४ मा स्थापित यस बैंकले हाल १३५ शाखा, १८८ एटीएम र १हजार ५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरूमार्फत आफ्ना ग्राहकहरूलाई समायनुकूल सेवा प्रदान गर्दै आएको छ । बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको सुरुआत गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको इतिहासमा कोसेढुंगाको रूपमा काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्