गुल्मीमा भेटेरिनरी अस्पताल



गुल्मी, (नेस) ।

लुम्बिनी प्रदेश कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीले गुल्मीमा सोमबार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यालयको उद्घाटन गर्नुभएको छ । कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेशअन्तर्गत सो कार्यालय रहनेछ ।

कार्यालयको उद्घाटन गर्दै मन्त्री रायमाझीले कृषक र पशुपालकको चाहनाअनुरुप आफूहरुले कार्यक्रम अगाडि बढाउने बताउनुभएको थियो । कार्यक्रममा रेसुंगा नगरपालिका प्रमुख डिल्लीराज भुसालले कृषकले उत्पादन गरेको वस्तुको बजारीकरण गर्ने जिम्मा लिनुभएको थियो ।

त्यस्तै, कार्यक्रममा गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले कृषि र पशुपालन नेपालको मुख्य आधार भएकाले स्थानीय तहसँग र त्यहाँ भएका प्राविधिकसँग मिलेर काम गर्न कार्यालयलाई आग्रह गर्नुभएको थियो । सरकारी कार्यालयको निरीक्षण गर्दा पहिलेको तुलनामा केही सुधार भए पनि कार्यालयबाट जनमुखी, जनमैत्री र पारदर्शिता ढंगबाट हुनुपर्ने जिल्ला अधिकारी पौडेलको भनाइ थियो ।

यसअघि पाल्पाबाट सेवा दिँदै आएको उक्त कार्यालय गुल्मीमा स्थापना भएपछि अब गुल्मीका कृषक र पशुपालक लाभान्वित हुनेछन् । यसवर्ष यो कार्यालयबाट करिब ७ करोड रुपियाँ बराबरको बजेटमा प्रशासनिक, कृषि र पशुसम्बन्धी कार्यक्रम हुनेछन् । गुल्मीमा यस कार्यालय स्थापना भएपछि अब पशुसम्बन्धीको कामका लागि पाल्पा जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।

कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिसहित सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्