शान्ति मिसनमा बर्दबहादुर गण उत्कृष्ट

0
Shares

काठमाडौं, (नेस) ।

काठमाडौ संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ युनिफिल मिसन लेवनानमा तैनाथ बर्द बहादुर गण (शान्ति सेना) ६२ औं डफ्फा उक्त मिसनमा तैनाथ अन्य १० राष्ट्रका गणहरूमध्ये सर्वोत्कृष्ट भएको छ ।

बर्दबहादुर गण (शान्ति सेना) ६२औं डफ्फामा कार्यरत नेपाली शान्ति सैनिकले आफ्नो जिम्मेवारी इलाकामा गरेका उत्कृष्ट योगदानको कदरस्वरूप युनिफिल हेड अफ मिसनका फोर्स कमान्डर मेजर जनरल स्टेफानो डेल कोलले सम्मान गर्नुभएको थियो ।

फोर्स हेडक्वार्टर, नाकुरामा आयोजित एक विशेष कार्यक्रमकाबीच उक्त गणका गणपतिलाई फोर्स कमान्डर स्टेफानोले उत्कृष्टताको प्रतिक तथा प्रशंसा–पत्र प्रदान गर्नुभएको थियो ।

सो गणले मिसन इलाकामा तैनाथ भएदेखि नै कोभिड–१९ को चरम मार खेपिरहेको आफ्नो जिम्मेवारी क्षेत्रको आठ वटै पालिकाहरूमा कोभिड किट वितरण तथा विभिन्‍न समयमा नगरपालिकामा वृक्षरोपण, ऐतिहासिक किल्लाको संरक्षण र सम्बद्र्धन, गुणस्तरीय डेन्टल सेवा, विद्यालयमा स्टेसनरी वितरण, महिला स्वास्थ्यसम्बन्धी जनचेतना कार्यक्रम, सार्वजनिक पार्क तथा बगैंचाहरूको मर्मत सम्भार जस्ता प्रभावकारी काम सञ्चालन गर्दै आएको थियो ।

स्थानीय व्लिदा नगरपालिकामा नेपाली सेनाको हालसम्मकै ठूलो लगानीमा कृषि पोखरी तथा सार्वजनिक बगैंचा निर्माण सम्पन्‍न गरेको थियो । यसका अलावा उक्त गणले लेवनान र इजरायलको सीमा क्षेत्रमा फैलिएको जैतुन खेतीको बाली भित्र्याउदाको दौरान विगतको अनुभववाट पाठ सिक्दै सम्भावित जोखिमलाई कम गर्न स्थानीय निकाय, लेवनानी शसस्त्र बल तथा अन्य सरोकारवाला निकायहरूसँग अर्थपूर्ण समन्वय र सहकार्य गरी मिसनको इतिहासमै पहिलोपटक जैतुन बाली भित्र्याउने कार्यलाई तनावरहित वातावरणमा सुरक्षित र शान्तिपूर्ण रूपमा सम्पन्न गरेको नेपाली सेनाले जनाएको छ ।