समृद्धि र विकासका लागि फरक सोच आवश्यक छ : उपसभापति गुरुङ

0
Shares

वालिङ ।

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले देशको समृद्धि र विकासका लागि फरक सोच आवश्यक रहेको बताउनुभएको छ । स्याङ्जाको चापाकोट नगरपालिका–९ सुन्तलीटारस्थित बिपीचोक–पाकरी जोड्ने सडकको आज उद्घाटन गर्दै उपसभापति गुरुङले अहिलेको सोचबाट केहीमाथि उठेर फरक सोचका साथ अगाडि नबढ्दासम्म समृद्धि र विकास सम्भव नभएको उल्लेख गर्नुभयो ।

‘योजना बनाउँदा ठूला र दीर्घकालीन महत्वका बनाउनु आवश्यक छ’, उहाँले भन्नुभयो, ‘त्यसका लागि अहिलेको सोच र दृष्टिकोणमा परिवर्तन आवश्यक छ, चेतनाको विकास आवश्यक छ ‘

देशको परिवर्तनका लागि विकासमा राजनीति होइन राजनीतिभन्दा माथि उठेर अगाडि बढ्न सक्नुपर्ने उहाँको भनाइ थियो । कांग्रेसले नेतृत्व गरेको सरकारले ठूला भ्रष्टाचारका मुद्दाको छानबिन गर्नुपर्ने भन्दै उहाँले दोषी ठहरिएमा जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याइनुपर्नेमा जोड दिनुभयो । ‘भ्रष्टाचार विरुद्ध लडे मात्रै जनताले फेरि कांग्रेसलाई रोज्छन्’, उहाँले भन्नुभयो,’होइन भने जनताले पार्टीप्रति गरेको विश्वास हराउँदै जानेछ ।’

कार्यक्रममा कांग्रेस स्याङ्जाका सभापति राजु थापा, कांग्रेस गण्डकी प्रदेश उपसभापति एवं वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारी, कांग्रेस क्षेत्रीय सभापति एवं वालिङ नगरप्रमुख दिलीपप्रताप खाँण, चापाकोट नगरपालिकाका प्रमुख शिवकुमार गिरीलगायतले विकास निर्माण गर्दा राजनीतिभन्दा माथि उठेर अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए ।