सीमानाकामा फेटिन थाले नयाँ भरिएन्टका बिरामी



बैतडी ।

भारतमा कोरोना बढेसँगै घर फर्कनेको संख्या बढ्दै गर्दा नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमित पनि सुदूरपश्चिममा भेटिन थालेका छन् । सीमानाकामा कडाइ गरी दिनहुँ कोभिड परीक्षण गर्दा सङ्क्रमितको संख्या बढ्दै गएको हो ।

भारतको राजधानी दिल्लीमा कोरोनाका नयाँ भेरियन्ट ओमिक्रोन तीव्ररूपमा फैलिएसँगै त्यसको प्रभाव यस प्रदेशमा पनि देखिएकाले सीमानाकामा स्वास्थ्य चेकजाँचमा कडाइ गरिएको छ । सीमानाकामै हेल्थ डेस्क स्थापना गरी एन्टिजेन परीक्षणमार्फत परीक्षणको काम भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । ‘जोखिम रोक्नको लागि सीमामै परीक्षण गर्ने गरिएको र पोजेटिभ आएकालाई होम आइसोलेसन राख्ने गरिएको छ ।’ –उहाँले भन्नुभयो । यसका साथै जिल्ला प्रशासन कार्यालय बैतडीले यातायात, विद्यालय र भीडभाड हुने स्थानमा जनस्वास्थ्यका मापदण्डको अनिवार्य पालना गर्न भनेको छ ।

हाल यहाँका नाकाबाट फर्किने अधिकांशमा कोरोना सङ्क्रमण देखिन थालेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । शुक्रबार मात्रै १ सय ५८ जनामा जनामा संक्रमण देखिएको छ । त्यसअघि साताको पहिलो दिन आइतबार पाँच जनामा, सोमबार २८, मंगलबार ४०, बुधबार ५५ र बिहीबार १ सय २० जनामा सङ्क्रमण पुष्टि भएको थियो । भारतमा कोरोना बढेसँगै सुदूरपश्चिम प्रदेशमा बैतडीको झुलाघाट, दार्चुलाको पुलघाट, जौलजीवी, कञ्चनपुरको गड्डाचौकी र कैलालीको त्रिनगर नाकाबाट स्वदेश फर्किनेको क्रम पनि बढेको छ ।

भारतमा दिल्ली, कर्नाटक, गुजरातलगायतका शहरमा संक्रमण बढ्न थालेपछि काम छाडेर घर फर्किने नेपालीको संख्या पनि बढिरहेकाले ओमिक्रोनको जोखिम बढेको हो । भारतमा संक्रमण देखिएका शहरहरुसित दूरीका हिसाबले यो प्रदेश नजिक भएकाले उच्च जोखिम रहेको र सर्तकता अपनाउन आवश्यक रहेको छ ।

ओमिक्रोनको जोखिम रहेकाले कोरोनाविरुद्धको खोप अभियान तीव्र रूपमा अघि बढाइएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो । ‘सुदूरपश्चिम प्रदेश उच्च जोखिममा रहेकोले भारतबाट आउनेको कोरोना परीक्षण र खोप लगाउने प्रबन्ध मिलाइएको छ’, उहाँ भन्नुहुन्छ– ‘ओमिक्रोन रोकथाम र नियन्त्रणका लागि कोरोनाविरुद्धको खोप अभियान पनि बढाइएको छ ।’ यस प्रदेशमा हालसम्म ५० प्रतिशत बढीले खोप पाइसकेका छन् ।

यसका साथै सीमानाकामा थप प्रभावकारी ढंगले स्वास्थ्य परीक्षण र होल्डिङ सेन्टरको प्रबन्ध गरिएको र विगतको भन्दा थप सबल व्यवस्थापनका लागि स्वास्थ्यको टोली खटाइएको छ । भारतसँग खुला सीमानाका भएका कारण संक्रमण नियन्त्रणमा केही चुनौती रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशका विभिन्न ८ प्रयोगशालामार्फत पीसीआर परीक्षण र प्रदेशका सबै जिल्लामा एन्टिजेनमार्फत पनि परीक्षण कार्य जारी रहेको छ ।

यहाँका सबै जिल्लामा गरेर ३ सय ९२ आइसोलेसन बेड, १ सय ३४ एचडीयू, १ सय २६ कोभिड एचडीयू, ६३ आईसीयू, ४८ कोभिड आईसीयू बेड, ४५ भेन्टिलेटर र २६ कोभिड भेन्टिलेटर तयारी अवस्थामा राखिएको छ । प्रदेशका सबै स्थानीय तहमा हाल कोरोनाविरुद्धको खोप अभियान पनि जारी रहेको छ । सरकारले सबैलाई खोप लगाउन पनि आग्रह गरेको छ । संक्रमणकै कारण यस प्रदेशमा ६ सय १४ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्