थापाप्रति गृहजिल्लामै असन्तुष्टि



हेटौंडा ।

राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाप्रति उहाँको गृहजिल्ला मकवानपुरमै असन्तुष्टि बढ्दै गएको छ । हेटौंडामा शनिबार राप्रपाको भेलाले थापाको कार्यशैलीप्रति असन्तुष्ट जनाएको हो । भेलाले पार्टीको विचार, सिद्धान्तप्रति एकढिक्का हुने सन्देश दिँदै हालको अवस्थामा कुनै व्यक्तिको पार्टीविरुद्ध भइरहेका गतिविधिलाई साथ नदिने निर्णय गरेको छ । राप्रपा पूर्वकेन्द्रीय सदस्यहरु, पूर्वजिल्ला अध्यक्ष, प्रदेश सदस्यहरु, जिल्लाका पदाधिकारीलगायत गाउँपालिका अध्यक्ष, क्षेत्रीय अध्यक्ष र जिल्ला सदस्यले प्रतिनिधिमूलक भेला गर्दै महाधिवेशनको विषयमा समीक्षासहित थापाको अभियानलाई साथ नदिने निष्कर्ष निकालेका हुन् ।

केन्द्रीय महाधिवेशनपछि पार्टीमा आकर्षण बढिरहेको र नयाँ नेतृत्वको कार्यशैलीबारे समीक्षा गर्न हतार हुने भन्दै भेलाले पार्टीकै नीतिअनुरूप हिँड्ने धारणाका साथ अघि बढ्ने भएका छन् । पार्टीको नेतृत्व परिवर्तनपछि बढ्दै गएको आकर्षणलाई भोटमा परिमार्जन गर्नुपर्ने विषयमा छलफल भएको छ । पार्टीलाई एकतावद्ध गरेर विचारलाई बलियो र सशक्त बनाउन दृढतापूर्वक लाग्ने संकल्प रहेको जानकारी राप्रपा मकवानपुर प्रवक्ता विषभ अधिकारीले दिनुभयो ।

महाधिवेशनपछि राप्रपामा विकसित घटनाक्रमको समीक्षा गर्दै पार्टीको नीति, सिद्धान्त, विधि र परिधिभित्र रहेर पार्टीले अवलम्बन गरेको विचारलाई बलियो र सशक्त बनाउन दृढतापूर्वक लाग्ने संकल्पसाथ हामी एक छौं भन्ने सन्देश दिइएको उहाँको भनाइ छ । बैठकमा राप्रपा नेता मधु अधिकारी, नवराज विष्ट, रामहरि न्यौपाने, बालकृष्ण कार्की, शिवराम थापा, प्रदेश सदस्यहरु ध्रुव सञ्जेल, गुञ्जन न्यौपाने, जिल्ला सचिव सागर थापा, प्रदेश (ख) अध्यक्ष बद्री कुँवर र मनहरी गाउँपालिका अध्यक्ष नरहरि महतलगायतको सहभागिता थियो ।

राजधानीमा भएको केन्द्रीय समिति बैठकमै पार्टी अध्यक्ष थापाको राजीनामा माग गरिएको थियो । पार्टी सदस्यहरुले पार्टी पराजयको जिम्मेवारी अध्यक्ष थापाले लिनुपर्ने भन्दै नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरेका थिए । नेताहरुले कांग्रेससँगको गठबन्धन प्रभावकारी बनाउन नसकेको, पार्टी विभाजन रोक्न नसकेको र टिकट वितरणमा समेत अध्यक्षले मनोमानी गरेको आरोप लगाएका थिए । केन्द्रीय सदस्यले अध्यक्ष थापाका कारण पार्टीले लज्जास्पद पराजय भोग्नुपरेको आरोप लगाएका थिए ।

पार्टीको अध्यक्षमा पराजित हुनुभएका थापाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति असन्तुष्टि जनाउनुभएको थियो । शाहको भूमिकाप्रति थापाले भत्र्सना पनि गर्नुभएको थियो । पार्टीका युवा नेता राजेन्द्र लिङ्देसँग अध्यक्षमा पराजय बेहोरेपछि थापाको यस्तो प्रतिक्रिया आएपछि उहाँविरुद्ध पार्टीमा मोर्चाबन्दी शुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्