‘राजनीतिक विचलनबाट नेपाली समाज असन्तुष्ट’

0
Shares

काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक नेतृत्वमा व्यक्तिवादी प्रवृति, सत्तामा पुगेर मातिने र सत्ताको चरम दुरुपयोग गर्ने प्रवृत्ति मौलाएको टिप्पणी गर्दै यस स्थितिलाई नियन्त्रण नगरिए निरंकुश नेतृत्व बेहोर्नुपर्ने चेतावनी दिनुभएको छ ।

पूर्व भूमिसुधारमन्त्री एवं कम्युनिस्ट नेता चन्द्रदेव जोशीले लेख्नुभएको पुस्तक ‘माक्र्सवाद र विश्व कम्युनिस्ट आन्दोलन’ को शनिबार राजधानीमा लोकार्पण गर्दै अध्यक्ष नेपालले यस्तो चेतावनी दिनुभएको हो । उहाँले यस्तो स्थितिलाई नियन्त्रण गर्न सबैमा जागरुकता आउनुपर्ने आवश्यक्ता औंल्याउँदै सामाजिक, आर्थिक र सांस्कृतिक रूपान्तरणका लागि काम गर्ने जिम्मेवारी आइपरेको बताउनुभयो ।

कार्यक्रममा पूर्व राष्ट्रपति डा. रामवरण यादवले वर्तमान राजनीतिक प्रणाली जोगाउने कि नजोगाउने भन्ने अहिलेको प्रमुख सवाल रहेको उल्लेख गर्दै वर्तमान राजनीतिक विचलनबाट नेपाली समाज सन्तुष्ट नरहेको बताउनुभयो ।

पुस्तकका लेखक कम्युनिस्ट नेता जोशीले कम्युनिस्ट आन्दोलन भ्रष्टीकरण भइरहेको टिप्पणी गर्दै समाज परिवर्तनको प्रक्रिया अघि बढाउन कम्युनिस्ट नेताले पहिला आफ्नो चरित्र र मानसिकता परिवर्तन गर्नु जरुरी रहेको आवश्यक्ता औंल्याउनुभयो । कम्युनिस्ट आन्दोलन श्रमजीविलाई शासन पद्धति सिकाउने र उनीहरूको लागि अनुकूल शासन व्यवस्था ल्याउनका लागि हो भन्दै उहाँले भन्नुभयो– ‘कम्युनिस्ट पार्टी शासक पार्टी होइन ।’ उहाँले जबसम्म विभेद अर्थात् कम्युनिस्टले भन्ने गरेको ‘वर्गीय विभेद’ रहन्छ, तबसम्म समाज कहिले पनि एकाकार हुन नसक्ने धारणा राख्दै भन्नुभयो– ‘समाजवादको अर्थ शोषणको अन्त्य, र सबैलाई स्वतन्त्र ढंगले काम गर्ने वातावरणको सिर्जना हो । श्रम र पारिश्रमिक बीचको अन्तरद्वन्द्वको समाधान हो ।’

कार्यक्रममा राजनीतिक विश्लेषक डा. इन्द्र अधिकारी र हरि रोकाले पुस्तकमा कम्युनिस्ट आन्दोलन र त्यसका विग्रहहरूको राम्रो विश्लेषण गरिएको बताउनुभयो । डा. अधिकारीले पुस्तकको चर्चा गर्दै पुस्तकमा ‘वाम’ अवधारणाको राम्रो व्याख्या गर्दै प्रगतिशील विचारधारा राख्नेहरू कम्युनिस्ट नभए पनि वाम हुनसक्ने उल्लेख गरिएको बताउनुभयो ।