बाह्य प्रतिस्पर्धाका लागि आन्तरिक एकता जरुरी : आचार्य

कांग्रेसमा गुटउपगुट कायमै



काठमाडौं ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट नयाँ नेतृत्व आए पनि कांग्रेसभित्रको आन्तरिक गुट उपगुट भने कायमै छ । वडादेखि केन्द्रसम्म निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन भए पनि पदमा पुग्ने र नपुग्नेबीच मनमुटाव कायमै छ ।

नेतृत्व र नीति दुवै परिवर्तनको एजेन्डामा समर्थन गर्ने कांग्रेसका ४० प्रतिशत नेता तथा कार्यकर्ताका कारण कांग्रेस नेतृत्वमा धेरै नयाँ अनुहार आएका छन् । ६० प्रतिशत नेता कार्यकर्ताले भने पुरानै मूल नेतृत्व रुचाएका छन् । नजिकिँदै गरेको आम निर्वाचनमा बलियो राजनीतिक दलको रूपमा स्थापित हुनका लागि आन्तरिक एकता जुटाउन सत्ताधारी दल कांग्रेसका लागि चुनौती बनेको छ ।

कांग्रेसले बाह्य प्रतिस्पर्धा गर्न आन्तरिक मनमुटाव, गुट उपगुट हटाएर एकढिक्का हुनैपर्नेमा जोड दिँदै केन्द्रीय सदस्य मधु आचार्य भन्नुहुन्छ– ‘अधिवेशन सम्पन्न भएसँगै पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा सकियो, अब बाह्य प्रतिस्पर्धाका लागि आन्तरिक एकता मजबुत बनाउनुपर्छ ।’ संविधान लेखेर मात्र हुँदैन, संविधानअनुसार जनताको भविष्य निर्माण पनि हुनुपर्ने जिकिर गर्दै आचार्य थप्नुहुन्छ– ‘यसका लागि आगामी निर्वाचनमा कांग्रेस सबैभन्दा ठूलो दल भएर मात्र पुग्दैन, तीनै तहमा बुहमतसहितको सरकार गठन गर्ने हैसियत कायम राख्नुपर्छ ।’ तीनै तहको निर्वाचन जित्नका लागि कांग्रेसले वडा तहदेखि नै संगठन निर्माणमा जुट्न ढिलाइ गर्न नहुने, तत्काल प्रत्येक वडामा टोल कार्यसमिति बनाउनुका साथै सबै भ्रातृ एवं शुभेच्छुक संघसंस्थाको सञ्जाल वडा तहसम्म निर्माण गरी क्रियाशील बनाउर्नेमा उहाँको धारणा छ । उहाँ भन्नुहुन्छ–‘त्यसपछि यो सञ्जाल दुई महिनाभित्र कम्तीमा पनि पालिका तहसम्म विस्तार गर्नैपर्छ ।’

पार्टीभित्र आन्तरिक प्रतिस्पर्धामा चुनाव हारेका, क्रियाशील सदस्यता नपाएका नेता तथा कार्यकर्ता सबैलाई जिम्मेवारी दिएर पालिका तहसम्म पार्टी संगठन क्रियाशील गरे मात्र पनि स्थानीय निर्वाचन जित्न कांग्रेसलाई अझ सहज हुने उहाँको धारणा छ । पदमा पुगेका वा नपुगेका सबैलाई समेटेर पार्टी संगठन क्रियाशील बनाए कांग्रेसभित्र नयाँ ऊर्जा सिर्जना हुने विचार व्यक्त गर्दै आचार्य भन्नुहुन्छ– ‘अझ वडा तहलाई केन्द्रित गरेर कांग्रेसको सबल पक्ष र प्रतिपक्षको कमजोर पक्ष औँल्याएर प्रशिक्षण कार्यक्रम प्रभावकारी ढंगले अघि बढाए आन्तरिक द्वन्द्व व्यवस्थापन गर्न र मनमुटाव कम गर्न सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्