देउवा–ओली भेटवार्ता : संसद् अवरोध र एमसीसीबारे छलफल



भक्तपुर ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । एमाले अध्यक्ष ओलीलाई भेट्न शनिबार प्रधानमन्त्री देउवा ओली निवास भक्तपुरको बालकोट पुग्नुभएको हो । एक घण्टा भएको भेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले प्रधानमन्त्री देउवासँग सकारात्मक छलफल भएको बताउनुभयो ।

भेटमा मुख्य गरी संसद्को अवरोध हटाउने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले बताउनुभयो । सत्तारूढ गठबन्धनको हिजो बसेको बैठकले संसद्को अवरोध हटाउने विषयमा नेकपा एमालेसँग छलफल गर्ने जिम्मा प्रधानमन्त्री देउवालाई दिएको थियो ।

गठबन्धन समन्वय समितिको बैठकले गरेको निर्णयअनुसार ओलीसँग छलफल गर्न प्रधानमन्त्री बालकोट पुग्नुभएको हो । प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच वान टु वान भेटवार्ता भएको हो । यसअघि समितिका संयोजकसमेत रहेका कांग्रेस नेता रामचन्द्र पौडेल बुधबार बालकोट पुगेर ओलीसँग छलफल गर्नुभएको थियो ।

उहाँहरूबीच के–के कुराकानी भएको हो ? त्यसबारे खुलिसकेको छैन । भेटपछि देउवा सञ्चारकर्मीसँग केही नबोली बाहिरिनुभयो भने अध्यक्ष ओलीले पनि सञ्चारकर्मीको जिज्ञासामा लामो जवाफ दिनुभएन । वार्ता कस्तो भयो भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले भन्नुभयो– ‘भेट भयो, राम्रो भयो ।’

ओलीका प्रेस संयोजक रामशरण बजगाईंले दुई नेताहरूबीच एक घण्टासम्म वार्ता भएको, तर ‘वान टु वान’ वार्ता भएकाले आफूलाई थाहा नभएको र अहिले बोल्ने विषय नभएको बताउनुभयो । उहाँले भेटका क्रममा देशको समसामयिक राजनीतिका विषयमा दुई नेताबीच कुराकानी भएको बताउनुभयो ।

भेटमा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता अगाडि बढाउने विषयमा पनि प्रधानमन्त्री देउवाले एमालेको सहयोग माग्नुभएको बताइन्छ । एमालेले कारबाही गरेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको विषयलाई लिएर २३ भदौदेखि एमालेले निरन्तर संसद् बैठकमा नाराबाजी गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्