देशैभर उच्च स्वास्थ्य सतर्कता



 काठमाडौं ।

पछिल्लो एक सातायता कोरोनाभाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्या बढ्न थालेपछि सरकारले देशैभर उच्च स्वास्थ्य सतर्कता अपनाएको छ । शुक्रबार जिन सिक्वेन्सिङ गर्दा २४ जनामा ओमिक्रोन भेटिएको थियो । ओमिक्रोन भेरियन्ट भेटिएसँगै दैनिक झन्डै एक हजारको संख्यामा संक्रमित भेटिन थालेपछि सरकारले उच्च सतर्कता अपनाएको हो ।

भारतमा दैनिक झन्डै एक लाख संक्रमित भेटिन थालेसँगै खुला सिमाना जोडिएको नेपालमा पनि संक्रमितको संख्या ह्वात्तै बढेको हो । संक्रमितको संख्या बढेपछि शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठकले सावधानी अपनाउन निर्देशन दिएको थियो ।

संक्रमणको तेस्रो लहर फैलने त्रास बढेपछि बसेको सीसीएमसीको बैठकमा कोरोनाको बढ्दो संक्रमण रोकथामका लागि सजगता अपनाउने, सिमानामा होल्डिङ सेन्टर सञ्चालन गर्ने, भारतबाट फर्किएकाको एन्टिजेन परीक्षण र पीसीआर गर्ने, तत्काल स्वास्थ्य संरचना बनाउने, भारतबाट फर्किएकालाई आइसोलेसनमा राख्नेलगायतको निर्णय भएको थियो ।

बैठकमा स्मार्ट लकडाउन अर्थात् भीडभाड हुने क्षेत्र विद्यालय, सिनेमा हल, डान्स, डिस्को, चिडियाखानालगायतका क्षेत्र बन्द गर्ने सम्बन्धमा पनि छलफल भएको थियो । सरकारले एक साताको तथ्यांक विश्लेषण गरी स्मार्ट वा पूर्ण कुनचाहिँ लकडाउन गर्ने भन्ने निर्णय गर्ने बताइएको छ ।

सीसीएमसीको बैठकमा सीमा नाका र हवाई उडान बन्द गर्नुपर्ने अवस्थासमेत आउन सक्ने विषयमा छलफल भएको थियो । सीसीएमसीको बैठकमा प्रम देउवाले संक्रमण फैलन नदिन सबै उपाय अबलम्बन गर्न निर्देशन दिनुभएको थियो । निर्देशन दिने क्रममा उहाँले भन्नुभयो– ‘सबै अस्पताललाई तयारी अवस्थामा राख्नुस्, तत्काल सबै नागरिकलाई पुग्ने गरी खोप व्यवस्थापन गर्नुस् ।’

संक्रमितको संख्या बढ्दै गएमा पुनः छलफल गरी निर्णय गर्ने तयारी छ । फेरि लकडाउन गरे एक वर्षअघि खुलेको विद्यालय पुनः बन्द हुने त्रास बढेको छ । भर्खरै फस्टाउन थालेको पर्यटन व्यवसायमा पनि अन्योलता छाएको छ ।

प्याब्सनका सहअध्यक्ष डीके ढुंगानाले सबै विद्यालयलाई सावधानी अपनाउन निर्देशन दिइएको बताउँदै भन्नुभयो– ‘ओमिक्रोन देखिन थालेलगत्तै सबै विद्यार्थीलाई अनिवार्य मास्क लगाउन आग्रह गरेका छौं, विद्यालय प्रवेश गर्दा हात धुने, एक अर्काबीच दुई मिटर दूरी कायम गरी बस्ने, एकले अर्काको खाजा नखाने लगायतका विषयमा सजगता अपनाउन सबैलाई आग्रह गरेका छौं ।’

प्याब्सन र एन प्याब्सनले तत्काल विद्यालय बन्द नगर्न पनि आग्रह गरेको छ । निजी विद्यालयहरूले यो अवधिमा जाडो बिदा दिने र केही दिन अनलाइन कक्षा सञ्चालन गरेपछि अन्तिम परीक्षा लिनेगरी तयारी गरेको छ । सहअध्यक्ष ढुंगानाले भन्नुभयो– ‘बन्दको विकल्प खोजिएन र फेरि लकडाउन भएर विद्यालय बन्द भए अधिकांश साना विद्यालय सधैंका लागि बन्द हुने अवस्था आउनेछ ।’

कोभिडका कारण उपत्यकाबाहेक बाहिरी जिल्लामा पनि संक्रमणको जोखिम बढ्न थालेको छ । शनिबार ९ सय ४४ जनामा संक्रमण पुष्टि भएको छ । भारतसँग सिमाना जोडिएका वीरगञ्ज, विराटनगर, नेपालगञ्ज, धनगढी, भैरहवालगायतका जिल्लामा कोरोना संक्रमण बढ्न थालेको छ । विज्ञहरूले कोरोना महामारीको तेस्रो लहरको संकेत देखिसकेको बताइरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएसँगै सरकारले अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको जानकारी दिँदै भन्नुभयो– ‘पूर्ण रूपमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्दै सही तरिकाले हात धुन, मास्कको प्रयोग गर्न, बारम्बार हात धुन तथा दुई मिटरको दूरी कायम गर्ने विषयमा सबै सचेत हुनुपर्छ । मन्त्रालयले यस विषयमा सबै निकायलाई सचेत गर्न आग्रह गरेको छ ।’ उहाँका अनुसार संक्रमण बढेसँगै सबै अस्पतालाई कोरोना लक्षित उपचारलाई प्राथमिकता दिन आग्रह गरिएको छ ।

विश्व स्वास्थ्य संगठनले समेत ओमिक्रोनलाई सामान्य भाइरसका रूपमा नलिन चेतावनी दिँदै अनिवार्य रूपमा मास्क र सेनिटाइजरको प्रयोग गर्न सुझाव दिएको छ ।

चाँडै छलफल गर्नेछौं : प्रजिअ रिजाल
उपत्यकामा कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले आज आइतबारबाट यससम्बन्धमा छलफल गर्ने भएका छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले यो विषयमा चाँडै निर्णय गर्ने बताउँदै भन्नुभयो– ‘पहिला जिल्ला कोभिड व्यवस्थापन केन्द्र (डीसीडीएमसी) सँग सल्लाह गर्नेछौं, त्यसपछि तीनै जिल्लाका सीडीओबीच छलफल गरी नयाँ निर्णय गर्नेछौं ।’ सीसीएमसीको निर्णय कार्यालयमा नआएकाले हालसम्म छलफल हुन नसकेको उहाँको भनाइ थियो ।

शुक्रबार बसेको सीसीएमसीको बैठकले दिएको निर्देशन जिल्ला प्रशासन कार्यालयमा आइनपुगेका कारण बैठक बस्ने निर्णयमा ढिलो भएको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘आज आइतबार केही निर्णय आउला, त्यसपछि जिल्लाका सरोकारवाला निकायसँग बैठक बस्नेछौं ।’
तीनै जिल्लाका प्रजिअले जिल्लाका सरोकारवालासँग बैठक बसेपछि संयुक्त बैठक बसेर संयुक्त निर्णय गर्ने तयारी गरेको छ ।

तथ्यांकअनुसार नेपालमा गत मंसिर १९ गते २ जनासहित हालसम्म २७ जनामा ओमिक्रोन फेला परेको छ । देशभर अहिले ५ सयभन्दा बढी संक्रमित भएका जिल्लामा काठमाडौं, ललितपुर र भक्तपुर रहेका छन् ।

माघ पहिलो साताबाट तेस्रो मात्रा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघको पहिलो सातादेखि अग्रपंक्तिमा काम गर्ने र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको खोपको तेस्रो मात्रा दिने भएको छ ।

मन्त्रालय सचिव डा. रोशन पोखरेलले माघको पहिलो सातादेखि अग्रपंक्तिमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई खोप दिन लागिएको जानकारी दिनुभयो । उहाँले कोरोना भाइरसको तेस्रो लहरलाई दृष्टिगत गर्दै खोप सल्लाहकार समितिको सिफारिसमा कोरोना भाइरसको थप एक मात्रा दिइने निर्णय भएको बताउनुभयो ।

यस्तै, माघको दोस्रो सातादेखि रोग प्रतिरोधात्मक क्षमतामा कम भएका तथा ६० वर्षमाथिका सबैलाई अतिरिक्त थप एक मात्राको खोप लगाइने जानकारी दिनुभयो । मन्त्रालयले सो खोपलाई अतिरिक्त हो कि बुस्टर भन्ने विषयमा खुलाएको छैन ।

यस्तै, कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको ३ महिना पुगेका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको साथै मध्यम तथा गम्भीर रूपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति सक्रिय क्यान्सरका रोगी, अंग प्रत्यारोपण गरेका बिरामी, एचआईभी/एड्स भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका बिरामीलाई पनि अतिरिक्त मात्रा खोप दिइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्