प्रधानमन्त्रीदेखि शीर्ष नेताहरू कन्ट्रयाक्ट ट्रेसिङमा

प्रचण्डसहित एक दर्जन नेतामा कोरोना पुष्टि



फाइल तस्बिर

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोभिड संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू कन्ट्रयाक्ट ट्रेसिङमा परेका छन् । माओवादीको हालै सम्पन्न आठौं महाधिवेशनमा सहभागी एक दर्जन नेतालाई कोभिड संक्रमण पुष्टि भएसँगै सत्ता गठबन्धनका शीर्ष नेताहरू पनि कन्ट्रयाक्ट ट्रेसिङमा परेका हुन् ।

माओवादी केन्द्रीय कार्यालयका अधिकांश कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रचण्ड केही दिनयता होम आइसोलेसनमा बस्दै आउनुभएको थियो । होम आइसोलेसनमै रहेका प्रचण्ड शुक्रबार सत्ता गठबन्धनको पाँच दलीय बैठकमा सहभागी हुनुभएको थियो । बैठकमा प्रचण्डसहित प्रधानमन्त्री देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमोर्चाकी दुर्गा पौडेल, जनता समाजवादीका पार्टीका अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की र कांग्रेस नेता रामचन्द्र पौडेललगायतका नेताहरूको सहभागिता रहेको थियो ।

प्रचण्डको स्वास्थ्यमा आएको समस्यासँगै पीसीआर परीक्षण गर्दा शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो । प्रचण्डलाई कोरोना पुष्टि भएपछि बैठकमा सहभागी सबै नेताको सम्पर्क पहिचान गरिएको बताइएको छ ।

प्रचण्डसहित एक दर्जन नेतालाई कोरोनाभाइरस संक्रमण भएको छ । नेताहरूलाई धमाधम कोरोना संक्रमण पुष्टि भएपछि माओवादी केन्द्रले हालै सम्पन्न पार्टी महाधिवेशनका सहभागी १७ सय प्रतिनिधिलाई अनिवार्य रूपमा पीसीआर परीक्षण गर्न निर्देशन दिएको छ । पार्टी कार्यालयका मुख्य सचिव श्रीराम ढकालले महाधिवशेनमा सहभागी प्रतिनिधिलाई अनिवार्य रूपमा पीसीआर परीक्षण गर्न प्रदेश कमिटीलाई निर्देशन दिएको बताउनुभयो । उहाँका अनुसार अध्यक्षसहित शीर्ष नेताहरूमा संक्रमण पुष्टि भएकाले कडाइपूर्वक स्वास्थ्य मापदण्ड पालना गर्न र पीसीआर परीक्षण गर्न निर्देशन दिइएको छ ।

अध्यक्ष प्रचण्ड, नेताहरू नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, मातृका यादव र डोरप्रसाद उपाध्याय, रामप्रसाद सापकोटा, प्रचण्डका स्वकीय सचिव रेमश मल्ल, सुमन देवकोटा, सुबोध सिर्पाली, पञ्चा सिंह र प्रकाशचन्द्र पाण्डेलगायतलाई कोरोना संक्रमण पुष्टि भएको छ । पार्टी कार्यालयका कर्मचारीलाई कोभिड पुष्टि भएसँगै पार्टी केन्द्रीय कार्यालयबाट हुने अति आवश्यक बाहेकका काम बन्द गरिएको छ ।

पुस ११ गतेदेखि १८ सम्म काठमाडौंमा सञ्चालन भएको माओवादीको आठौं महाधिवेशनमा १७ सयभन्दा बढी प्रतिनिधि सहभागी भएका थिए । महाधिवेशनपछि एकसाथ धेरै जनालाई संक्रमण भएपछि केन्द्रीय कमिटीको बैठक पनि सारिएको छ । माओवादी महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवादेखि प्रमुख दलका शीर्ष नेताहरू सहभागी थिए ।

केही दिनयता नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्या बढ्दै गएको छ । कन्ट्रयाक ट्रेसिङमा परेसँगै प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भक्तपुरको बालकोटस्थित उहाँकै निवासमा भेटवार्ता गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्