जबर्जस्ती चन्दा असुलेको उजुरी पछि ‘ज्वाला’ र ‘मम’ पक्राउ



काभ्रे ।
प्रहरीले जबर्जस्ती चन्दा असुलेको आरोपमा दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धुलिखेल नगरपालिका वडा नम्बर ५ चौकोटका ३२ वर्षीय ज्वाला भन्ने कृष्णराम महत र खानि खोला गाउँपालिका वडा नम्बर ७ बस्ने २८ वर्षीय मम भन्ने दिनेश गोले रहेका छन् ।
जिल्लाका विभिन्न उद्योग, होटेल, पसलहरूमा उद्योगी र व्यवसायीसँग जबर्जस्ती चन्दा असुलेको अभियोगमा प्रहरीले महत र गोलेलाई पक्राउ गरेको प्रहरी प्रवक्ता डिएसपी हरि खतिवडाले बताउनु भयो । महत यस अघि पनि विभिन्न अभियोगमा फरार व्यक्ति हुन् । महतले पनौती, बनेपा क्षेत्रमा सञ्चालित विभिन्न उद्योगी व्यवसायीहरूलाई गुन्डा गर्दी शैलीमा धम्क्याउने, कुटपिट गर्ने लगायतका कार्यहरूमा संलग्न रहेको उजुरी प्रहरीले प्राप्त गरेको छ ।
खानि खोला गाउँपालिका ७ निवासी गोलेले पनौती बजार, वडा क्षेत्रमा गुण्डागर्दी शैलीमा विभिन्न किसिमका धाक धम्की दिँदै, स्थानीयहरूको दैनिक काम काजमा अवरोध पुर्‍याउने गरेको भन्ने कसुर मा संलग्न रहेको अभियोग रहेको प्रहरीले बताएको छ ।
काभ्रेपलान्चोक जिल्लाको विभिन्न स्थानमा सञ्चालित विभिन्न उद्योगी व्यवसायीहरू, होटेल व्यवसायीहरूबाट प्राप्त गुनासोको आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकबाट खटिएका प्रहरी अधिकृत टोलीले उद्योगी व्यवसायिहरुलाई चन्दा मागेको अभियोगमा पक्राउ गरेको हो र पक्राउ परेका दुवै जनालाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ को सार्वजनिक हित स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्ध सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्