निर्वाचितलाई लाञ्छित गर्नु आम कार्यकर्ताको अपमान : चौधरी



काठमाडौं ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफू पार्टीको विधान र विधिवत् रूपमा सम्पूर्ण प्रक्रिया पूरा गरेर पार्टीको १४औं महाधिवेशनमा निर्वाचित भएको बताउनुभएको छ । उहाँले महाधिवेशनमा विधिसम्मत प्रक्रियाहरूमार्फत् नेतृत्व छनोटका लागि भएको निर्वाचनमा आफैं सहभागी हुने र निर्वाचन हारेपछि विधिसम्मत थिएन भनेर प्रश्न उठाउनु अलोकतान्त्रिक र अराजनीतिक चरित्र भएको पनि बताउनुभएको छ ।

‘महाधिवेशनमा निर्वाचन समितिले उम्मेदवारी दर्तापछि विधिवत्रूपमा दाबी विरोधको समय उपलब्ध गराएको थियो । यदि म अयोग्य थिएँ भन्ने कसैलाई लागेको थियो भने त्यो समयमा किन दाबी विरोध गरिएन?’, केन्द्रीय सदस्य चौधरीले भन्नुभयो– ‘आफौं सोही निर्वाचनमा उम्मेदवार हुने र विजय हुन नसकेपछि विधि सम्मत भएन भनेर रोइलो गर्नुको कुनै अर्थ छैन ।’ नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीमा यस्तो व्यवहार अपेक्षित नमानिने उहाको भनाइ थियो ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनको निर्वाचनमा चौधरी केन्द्रीय सदस्य (मधेशीतर्फ) दोस्रो धेरै मत २ हजार २ सय ६ मत प्राप्त गरी विजय हुनुभएको थियो । सोही पदका लागि प्रतिस्पर्धामा रहेका सिरहाका सुभाषचन्द्र यादव पराजित हुनुभएको थियो । निर्वाचनमा पराजय भएको तीन सातापछि यादवले विधानमाथि प्रश्न उठाउनुभएको छ । यस्तो व्यवहारलाई नेपाली कांग्रेसका नेता र कार्यकर्ताले समेत रूचाएका छैनन् ।

‘यसलाई मैले मेरो राजनीतिक सक्रियताबाट आत्तिएकाहरूको मनोदशाका रूपमा लिएका छु’, चौधरीले भन्नुभयो– ‘मेरो सपना समृद्ध नेपाल निर्माण गर्ने हो । यस अभियानमा नेपाली कांग्रेसको नेतृत्वलाई हदैसम्मको साथ दिन म राजनीतिमा आएको हुँ ।’ चौधरी भन्नुहुन्छ– ‘म नेपाली कांग्रेसका होनहार कार्यकर्ताहरूबाट अनुमोदन भएर केन्द्रीय सदस्य पदमा निर्वाचित भएको हुँ ।’ यसै गरी निर्वाचित हुने हक हरेक उम्मेदवारलाई थियो । तर, निर्वाचनमा पराजय भएपछि निर्वाचितहरूलाई लाञ्छित गर्नुभनेको आम कार्यकर्ताहरूको अपमान भएको उहाँको भनाइ थियो ।

केन्द्रीय सदस्यमा निर्वाचित हुनुअघि चौधरी कांग्रेस महासमिति सदस्य थिए । उहाँ सांसद पनि हुनुहुन्छ । राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा ख्याती प्राप्त उद्यमी चौधरी नवलपुर जिल्लाबाट राजनीतिमा आउनुभएको हो । कांग्रेसको १४औँ महाधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि चुनिएपछि पार्टीभित्र उहाँको चर्चा चुलिएको थियो । चौधरी नेपालका एक मात्र डलर अर्बपति हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्