जिल्लाको विकासमा नयाँ आधार तय गर्दै छौं : व्याञ्जु



काभ्रे ।

नेकपा एमालेको देशभर एकैसाथ अधिवेशन हुँदै छ । यसै सन्दर्भमा एमाले काभ्रेमा तयारी कहाँ पुग्यो ? जिल्लावासीले अधिवेशनबाट के कस्ता लाभ लिन सक्छन् ? भन्ने विषयमा नेकपा एमाले काभ्रेका अध्यक्ष अशोक व्याञ्जुसँग नेपालसमाचार पत्रकर्मी मोतीराम तिमल्सिनाले गर्नुभएको कुराकानी :

एमालेले देशभर एकैसाथ जिल्ला अधिवेशन गर्दै छ, काभ्रेमा कहाँ पुग्यो तयारी ?
हो । नेकपा एमालेको देशभर एकैसाथ अधिवेशन हुँदै छ । अधिवेशनको पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने छ । अन्य जिल्लाको अधिवेशन अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट गर्नुहुने छ भने काभ्रे जिल्लाको अधिवेशनमा उहाँ स्वयं सहभागी हुनुहुनेछ । अधिवेशन भव्य र सभ्य बनाउन जिल्ला कमिटिले गठन गरेको मूल समिति, उपसमितिहरु क्रियाशील छन् । सबै समितिको क्रियाशिलताले अधिवेशन भव्य र सभ्य हुनेछ । बन्द सत्रमा आवश्यक पर्ने भोटिङ मेसिनको तयारी पनि पूरा भएको छ ।

अधिवेशनले नेतृत्व मात्रै छान्ने हो कि ? अन्य केही योजना निर्माण गर्छ ?
पक्कै पनि अधिवेशन भन्ने वितिक्कै नेतृत्व चयन गर्ने र विगतमा भएका कामहरुको समीक्षा गर्ने हो । हामीले यो अधिवेशनलाई फरक ढंगले सम्पन्न गर्ने योजनाका साथ तयारी गरेका छौं । पहिलो त हामीले आयोजना गर्ने अधिवेशन जिल्लाकै ठूलो र ऐतिहासिक हुनेछ । एमालेको अधिवेशनमा सहभागी भएका जनसमुदायहरुको संख्या अर्को अधिवेशनमा एमालेले बाहेक अन्य दलले उपस्थिति गराउन सक्दैनन् । उद्घाटन सत्रमा हामीले विगतमा गरेका विकास निर्माण र जिल्लाको समृद्धिका लागि पुर्याएको योगदानका बारेमा बताउने छौं भने बन्द सत्रमा पार्टीको आन्तरिक जीवनका बारेमा छलफल गर्नेछौं ।

कार्यक्रमिक रूपमा कस्ता विकासका योजनाहरु, कस्ता आन्दोलनका विषयहरु, सभ्यता र संस्कृति निर्माणका लागि हामीले यहाँका जनताहरुको जीवनलाई आर्थिक, सामाजिक रूपमा सम्पन्न बनाउने, यहाँका युवावर्गको भूमिका र जीवन्त गतिलाई समयसापेक्ष सामाजिक रूपान्तरण क्षेत्रमा सहभागी गराउने, महिला, दलित, आदिवासी जनजातिसमेतको दृष्टिकोणलाई प्रस्ट पारेर हामीले एउटा विकासको रोडम्याप तयार गर्नेछौं ।

एमाले फुटे पनि कमजोर छैन भन्ने देखाउन शक्ति प्रदर्शन गर्न लाग्नुभएको हो ?
पहिलो कुरा, एमाले फुटेकै छैन । एमालेमा रहेर लामो समय लाभका पदमा बस्नेहरु र लाभ लिनेहरुको केही समूह एमाले छाडेर गएको हो । हामी हिजो पनि कमजोर थिएनौं आज पनि छैनौ र भोलि अझै शक्तिशाली बन्नेछौं । हामीले यो अधिवेशनलाई नेकपाको निरन्तरता पनि भनेका छौं । नेकपा हुँदा सँगै रहेका थुप्रै नेता कार्यकर्ता एमालेमा छन् । त्यस कारण पनि यो अधिवेशन एकतासहितको ऐतिहासिक अधिवेशन हो । हामीले शक्ति प्रदर्शन गर्ने भन्दा पनि नागरिक एमालेको अधिवेशनमा सहभागी हुने हो ।

त्यति धेरै संगठित सदस्यहरु, संगठित सदस्यका परिवार, शुभचिन्तक र एमालेलाई माया गर्ने नागरिकहरु मात्रै सहभागी हुँदा पनि ५० हजारभन्दा धेरै हुन्छन् । त्यस कारण एमाले कमजोर भएर शक्ति प्रदर्शन गर्न लागेको होइन । नेकपा एमाले नै आजको काभ्रे जिल्लाको राजनीतिको मूलधार हो र वामपन्थी आन्दोलनको अग्रदस्ता हो । यसले राजनीतिक संगठनात्मक परिवेशमा कुनै कमी भएको छैन भन्ने खालको कुरा पनि सावित गर्न चाहन्छौं ।

जिल्लावासीले अधिवेशनबाट के लाभ लिन सक्छन् ?
नेकपा एमालेका हरेक अधिवेशन ऐतिहासिक हुन्छन् । हामीले छैटौ जिल्ला अधिवेशनबाट घोषणा गरेका धेरै योजना पूर्वमन्त्री एवं पूर्वजिल्ला अध्यक्ष गोकुल बाँस्कोटाले पूरा गर्नुभएको छ । अहिले उहाँ पार्टीको पोलिटब्युरो सदस्य हुनुहुन्छ । जिल्ला इन्चार्ज पनि हुनुहुन्छ । उहाँ लगायत हाम्रो टिमले जिल्लाको मुहार फेर्ने खाका प्रस्तुत गरेका थियौं । जुन हामीले पूरा गरेका छौं ।

धेरै योजना पाइपलाइनमा छन् । संघ, प्रदेश र स्थानीय तहमा हाम्रो नेतृत्व हुँदा हामीले सारेको समृद्ध काभ्रेको खाकालाई कार्यान्वयन गरेका छौं । विपक्षमा हुँदा त्यसलाई पूरा गर्न दबाब दिएका छौं । यो जिल्लाबासीले प्राप्त गर्ने लाभको कुरा हो । विकास र समृद्धिमा दलहरुका अधिवेशनले दिएको मार्गचित्र हुबहु कार्यान्वयन गर्ने हो भने जिल्लाबासी उसै लाभान्वित हुनेछन् ।

अनि पूरा चाँहि के भए त ?
धेरै पूरा भएका छन् । संक्षिप्तमा भन्ने हो भने काभ्रेमा शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माणसँगै सडक, पुल, शहरी विकास र पर्यटनका क्षेत्रमा धेरै काम भएका छन् । जिल्लाको व्यापारिक नगरी बनेपाको साँगामा प्रतिरक्षा विश्वविद्यालयको निर्माणकार्य शुरु भएको छ । पाँचखाल नगरपालिका र नमोबुद्ध नपाको भू–भागमा निर्माण हुने मदन भण्डारी प्राविधिक विश्वविद्यालयको पूर्वाधार निर्माणको गुरुयोजना तयार भइरहेको छ । पनौती नपा–१ मा मदन भण्डारी प्रो–औद्योगिक विश्वविद्यालय स्थापनाको सम्भाव्यता अध्ययन शुरु भएको छ ।

यस अघि नै जिल्लाका १ सयभन्दा धेरै विद्यालयमा उच्च प्रविधिसहितको आईटी ल्याब स्थापना भएको छ । काभ्रेको अधिकांश विद्यालयको सुविधासम्पन्न भौतिक पूर्वाधारसहित पुनर्निर्माण कार्य सकिएको छ । जिल्लाका पाँचवटा पलिकाहरुमा पन्ध्र बेडका अस्पतालहरु निर्माण भइरहेका छन् र धुलिखेलमा प्रदेशस्तरीय जनस्वास्थ्य प्रयोगशाला सञ्चालन भएको छ । धुलिखेलमा सय बेडको अत्याधुनिक ट्रमा सेन्टर निर्माणका लागि सम्झौता सम्पन्न भएको छ । लगानी बोर्डमार्फत धुलिखेल नगरपालिकाको काभ्रेभञ्ज्याङमा मेडिसिटी अस्पताल निर्माण हुँदै छ । नमोबुद्ध नगरपालिकामा धुलिखेल अस्पतालमार्फत रिसर्च सेन्टर निर्माण हुँदै छ ।

वनेपा, पनौती र धुलिखेल नगरपालिकामा सञ्चालित काभ्रे भ्याली एकीकृत खानेपानी योजना सम्पन्न हुने अन्तिम चरणमा रहेको छ । तिमाल बृहत् खानेपानी योजना यस आवमा सम्पन्न हुने अवस्थामा छ । यस्ता धेरै विकासका कार्य भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्