धार्मिक स्थलबाट कोरोना फैलिने डर अधिक



काठमाडौं उपत्यकाभित्रका मठमन्दिरहरु कोरोना संक्रमित उत्पादन हुने कारखाना बनेका छन् । पशुपतिनाथ मन्दिरमा छिमेकी मुलुकबाट दर्शन गर्न आउने भक्तजनको संख्या उल्लेखीय छ । दिनहुँ हजारौंको संख्यामा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न भक्तजनहरु आउने गरेका छन् । बाहिरी मुलुकबाट नेपाल घुम्न आउनेको कोभिड परीक्षण गरिएको छैन । कति विमानमार्फत आएका छन् त कति नाकाबाट सीधै । विमानस्थलहरुमा पनि कोरोना परीक्षण गरिएको छैन । नाकामा न त स्वास्थ्यकर्मी परिचालन गरिएको छ, न कुनै कडाइ । यस्तोमा कोभिडले भयानक रुप लिने प्रस्ट देखिएको छ ।

हाम्रो छिमेकी मुलुकहरुमा कोरोना मात्र नभई ओमिक्रोनसमेत बढ्दो छ । भारतको विभिन्न राज्यमा ओमिक्रोन संक्रमितले बढ्दो रुप देखिएको छ । तैपनि उनीहरुलाई नेपाल भित्रिनमा कुनै रोकतोक लगाइएको छैन । पशुपति विकास कोषले पशुपतिनाथमा आउने भक्तजनहरुलाई स्वास्थ्य मापदण्डको पालना गर्न कुनै पनि पहल गरेको देखिँदैन । पशुपतिनाथ दर्शन गर्न आउनेहरुको मुखमा मास्क छैन । सामाजिक दूरी त कुनै पनि हालतमा पालना नहुने नै भयो । त्यही आसपासका व्यापारीहरुले समेत कोरोनालाई लापरबाही गरेको देखिन्छ । पशुपति कोषको लापरबाहीले गर्दा कोरोना फैलिँदै छ । धर्म गर्ने र दर्शन गर्ने नाममा कोरोना फैलाउने काम भइरहेको छ ।

कोरोना फैलाएर सरकारले नै जनता मार्ने प्रयास थाल्दै छ । उपत्यकाबाहिरी जिल्लाका मठमन्दिरहरुमा त्यस्तै भीड छ । मनकामना मन्दिरमा पनि त्यस्तै छ । केबुलकार चढ्न आउनेहरुले समेत मास्क लगाएको देखिँदैन । यता, जाडोयाम शुरु भएसँगै चन्द्रागिरीको डाँडामा र मन्दिरमा निकै भीड देख्न सकिन्छ । चन्द्रागिरी दर्शन गर्न र हिउँमा खेल्न दैनिक हजारौंको संख्यामा आन्तरिक र बाह्य पर्यटक त्यहाँ पुग्ने गर्दछन् । बाहिरी मुलुकका नागरिकहरुले पनि कोरोनालाई लिएर हेलचेक््रयाइँ गरेको जस्तो देखिन्छ । नेपालीले मास्क लगाउनै छोडिसके । मानौं, कोभिड केही होइन भन्ने मनस्थिति हामीमा देखिएको छ ।

कोभिड निर्मल होला भन्दा झन् नयाँ–नयाँ भेरिएन्टहरु देखा परिरहेका छन् । कोभिडको कारणले त्यत्रो नेपालीहरुले अकालमा ज्यान गुमाउँदा पनि नेपालीहरुको होस खुलेको छैन । भीडभाड गरेका छौँ, स्वास्थ्य मापदण्डको पालनामा लापरबाही गरिरहेका छौँ । सरकारले केही दिनका लागि मठमन्दिर सञ्चालनमा रोक नलगाउने हो भने कोरोनाले नराम्रो दिन देखाउन बेर लगाउँदैन । केही दिनयता कोरोना संक्रमितको दरमा निरन्तर उकालो लागिरहेको छ । बालबच्चा, बूढाबूढीलाई लिएर दर्शन गर्न जाने प्रवृत्तिले यी दुई उमेर समूहका बढी जोखिममा परेका छन् । धर्म गर्ने नाममा बालबच्चा, बूढाबूढीको बाँच्ने अधिकार हनन गर्नु गलत हो । सरकारले बेलैमा सोच नपुर्याउने हो भने मठमन्दिरमा खोलिएको कोरोना कलकारखानाबाट धेरै क्षति व्यहोर्नुपर्नेछ ।

पशुपति विकास कोषले पनि स्वास्थ्य मापदण्ड पालना भएको छ÷छैन भनेर अनुगमन गरेको छैन । साथै, कोषले कोरोनाविरुद्ध कुनै जानकारीमूलक सूचनासमेत जारी गरेको छैन । पशुपतिनाथ मन्दिरमा जहिले पनि मेला लाग्ने गरेको छ । कोष जिम्मेवार नहुँदा कोरोना फैलाउने काम भएको छ । यो कोषलाई कसले कारबाही गर्ने ? मठमन्दिर खोल्न सरकारलाई दबाब दिने, खोल्न दिइसकेपछि आफ्नो जिम्मेवारी बहन नगर्ने मठमन्दिरमा रहेका विकास कोषहरुलाई कानुनको दायरामा ल्याउनुपर्छ । स्वास्थ्य मन्त्रालय, गृह मन्त्रालय र यसका मातहतका निकायहरुले पनि खासै अनुगमनमा चासो दिएको जस्तो देखिएन ।

कोरोना आएको दुई वर्ष बितिसक्दा पनि संक्रमितको दर शून्यमा झार्न सकिएको छैन । कोरोनाको कारण ज्यान गुमाउनेहरु अहिले पनि उत्तिकै छन् । कोरोना निर्मल हुन नपाउँदै सरकारले हरेक क्षेत्र सञ्चालनमा अनुमति दियो । चिडियाखाना, संग्रहालय, सार्वजनिक पार्क, फनपार्कलगायत सम्पूर्ण क्षेत्रलाई खोल्न अनुमति दियो तर अनुगमन गरेन । पशुपतिनाथमा दर्शन गर्न मात्र नभई दाहसंस्कार गर्नसमेत मानिसहरु आउने गर्दछन् । दाहसंस्कार गर्न आउनेको संख्या पनि सयौंमा हुन्छ । तीमध्ये कसैले पनि मास्क नै लगाउँदैनन् । अर्को, लाखबत्ती र भजनकीर्तन गर्न आउनेहरुले पनि कोरोना फैलाइरहेका छन् । बूढाबूढीहरु हजारौंको संख्यामा एकै ठाँउमा जम्मा हुन्छन् अनि भजनकीर्तन गर्न थाल्छन् ।

यसले पनि कोरोनालाई बढावा दिइरहेको देखिन्छ । सबै खालका पूजाआजा, श्राद्ध, विवाह, व्रतबन्ध पशुपतिनाथ मन्दिरमै हुन्छ । पशुपतिमा विवाह, व्रतबन्ध र भोज गर्ने नाममा पनि कोरोना फैलिरहेको छ । विवाह, जमघट र भोज गर्नेहरुको पार्टी प्यालेसमा भीड त्यत्तिकै छ । पार्टी प्यालेसमा जम्मा हुनेहरुले कुनै पनि स्वास्थ्य मापदण्डको पालना गरेका छैनन् । केही महिनायता राजनीतिक पार्टीहरुले विभिन्न शीर्षकमा कार्यक्रमहरु गर्दै आएका छन् । आफ्नो सम्पूर्ण कार्यकर्ता भेला गरेर शीर्ष राजनीतिक दलहरुले कार्यक्रम गर्दै आएको पाइन्छ । शीर्ष नेताहरुले कार्यक्रम गरेका छन्, कोभिडको जोखिमलाई बेवास्ता गरी ।

यता, सामुदायिक तथा संस्थागत विद्यालयहरुमा पनि त्यस्तै छ । स–साना बालबालिकाले मास्क लगाउन जानेका छैनन् । उनीहरुले भौतिक दूरी पालना गर्नु त झनै असम्भावित विषय भयो । तर, शिक्षकहरुले पनि स–साना बालबालिकालाई मास्क लगाइदिने, स्यानिटाइजरको प्रयोग गर्न सिकाउनेजस्ता कार्य गरेका छैनन् । ठूल्ठूला विद्यार्थीले पनि स्वास्थ्य मापदण्ड पालनालाई लापरबाही नै गरेका छन् । रात्रिकालीन व्यवसायी, फुटपाथ व्यवसायीहरुले पनि एकदमै हेलचेक््रयाइँ गरेका छन् । सार्वजनिक यातायातमा मापदण्डको पालना असम्भवझैँ छ । सिट क्षमताभन्दा तेब्बर यात्रु कोचेका हुन्छन् ।

यस्तोमा सामाजिक दूरीको पालना कसरी गर्ने ? तापनि ट्राफिक महाशाखाले यस्ता तेब्बर यात्रु कोच्ने सार्वजनिक सवारीलाई कारबाही गर्दैन । सार्वजनिक यातायातका चालक र सहचालकले नै मुखमा मास्क लगाउँदैनन् । कोरोना काल शुरु भएदेखि नै सार्वजनिक यातायातमा स्यानिटाइजर देखिएको छैन । यसको अनुगमनमा उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुसमेत चुकेका छन् । सरकारले बेमतलब गर्दा नेपाली जनता कोरोनापीडित बनेका छन् । सरकारले अभिभावकको दायित्व राम्ररी निभाउन नसक्दा कोरोना संक्रमितको संख्यामा वृद्धि भएको छ । विश्वका अन्य मुलुकका सरकारले आफ्नो नागरिक बचाउन विभिन्न उपाय खोज्दै आएका छन् ।

कसरी हुन्छ उनीहरुलाई आफ्नो देशको जनताको सुरक्षा चाहिएको छ । तर, हाम्रो मुलुकको सरकारलाई आफ्नो नागरिकप्रति अलिकति पनि दायित्व भएजस्तो लाग्दैन । अरु मुलुकले कोभिड न्यूनीकरण गर्न लकडाउन गरे । तर, हाम्रो सरकारले लकडाउन खुल्ला गर्यो । नेपाली जनताको ज्यानलाई भेडाबाख्रा सोच्ने नेपालका राजनीतिज्ञबाट अरु केही अपेक्षा राख्न सकिँदैन ।

छिमेकी मुलुकमा कोरोना संक्रमणले भयानक रुप लिएसँगै नेपाल फर्किनेको चाप बढ्दो छ । तर, नाकामा कोरोना परीक्षण गरिएको छैन । क्वारेन्टाइनको पनि व्यवस्था छैन । जसले गाउँ, टोल, समाज, छरछिमेक र परिवारलाई जोखिममा पारिदिएको छ । अहिले विदेशबाट आउनेहरु पनि सीधँ आफ्नो घर फर्किरहेका छन् । नेपाल सरकारको लापरबाहीले १२ हजार जनता मर्दा पनि सरकारको आँखा खुलेको छैन । यी मरेका नागरिकहरुलाई सरकारले नेपालीको रुपमा हेरेन ।

अरु त अरु, अहिले विशेष गरी धार्मिक स्थलहरुबाट कोरोना फैलने सम्भावना अधिक रहेको देखिन्छ । किनकि धार्मिक मठमन्दिरमा धार्मिक आस्था बोकेकाहरुको अत्यधिक भीड लागेको देखिन्छ । उनीहरुले कोभिड भाइरस पनि बोकेर ल्याएका छैनन् भन्न सकिँदैन । त्यसैले यस्था स्थानमा जान डराउनुपर्ने अवस्था आएकाले समयमै सरकारको ध्यान जाओस् ।
समीक्षा नेपाल, भक्तपुर

प्रतिक्रिया दिनुहोस्