सुरक्षा चुनौतीबारे छलफल



काठमाडौं (नेस) ।

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा केन्द्रीय सुरक्षा समिति बैठक बिहीबार गृह मन्त्रालयमा बसेको छ । बैठकमा मुलुकको समसामयिक सुरक्षा अवस्था र आगामी दिनका सुरक्षा चुनौतीका विषयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । ‘समसामयिक सुरक्षा अवस्था र आगामी दिनमा हुने सुरक्षा चुनौतीका विषयमा केन्द्रीय सुरक्षा समिति बैठकमा छलफल भयो’ –प्रवक्ता कोइरालाले भन्नुभयो ।

त्यस्तै, बैठकमा राष्ट्रिय सभाको निर्वाचन तथा आशन्न स्थानीय तहको निर्वाचनका लागि गरिने सुरक्षा तयारी बारेमा पनि अध्यावधिक छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा सुरक्षा व्यवस्था तथा द्विपक्षीय सुरक्षाका विषयमा पनि छलफल भएको प्रवक्ता कोइरालाले जानकारी दिनुभयो ।

बैठकमा सुरक्षा निकायका प्रमुखहरूले वर्तमान सुरक्षा अवस्था र आगामी दिनमा अपनाउनु पर्ने सुरक्षा रणनीतिबारे जानकारी गराउनुभएको थियो । बैठकमा गृह सचिव टेक नारायण पाण्डे, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेन्द्र थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी र यदु खरेल, गृह मन्त्रालयका सुरक्षा समन्वय महाशाखाका प्रमुख मुकुन्द निरौला, प्रवक्ता कोइरालालगायतको सहभागिता थियो । बैठकमा गृहमन्त्री खाँणले अवकाश पाउनुभएका राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अधिकारीलाई बिदाइ गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्