गुप्तचर प्रमुखमा खरेल



काठमाडौं, (नेस) ।

सरकारले राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशकमा यदुलाल खरेललाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आज शुक्रबारबाट लागु हुनेगरी अतिरिक्त मुख्य अनुसन्धान निर्देशक खरेललाई मुख्य अनुसन्धान निर्देशक पदमा बढुवा गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । हालका मुख्य अनुसन्धान निर्देशक गणेश अधिकारीको ३ वर्षे कार्यकाल समाप्त भएकाले उहाँले अनिवार्य अवकाश पाउनुभएको हो ।

राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा खरेल र यादव रेग्मी प्रतिस्पर्धामा थिए । वरीयतामा रेग्मीभन्दा ४ महिना सिनियर खरेललाई मन्त्रीपरिषद्ले जेष्ठताको आधारमा नियुक्त गरेको हो । उहाँ रूपन्देहीको बुटवलका स्थानीय हुनुहुन्छ । गुप्तचर प्रमुख नियुक्त भएका खरेलले करिब ९ महिना विभागको कमान्ड समाल्नुहुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्