सबै स्थानीय तहमा प्राविधिक शिक्षा पुर्‍याउन तथ्यांक संकलन हुँदै



काठमाडौं ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटीका) सदस्यसचिव जीवनारायण काफ्लेले सबै स्थानीय तहमा प्राविधिक शिक्षालय पुर्‍याउन तथ्यांक संकलन भइरहेको बताउनुभएको छ । सीटीईभीटीका अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक गर्नुभएको प्रमुख कामको सूचीमा सबै स्थानीय तहमा प्राविधिक तथा व्यावसायिक शिक्षा पुर्‍याउने उद्घोष गरेअनुसार संस्थाले सो विषयमा प्रक्रिया अघि बढाएको हो ।

पछिल्लो समय निजी नर्सिङ कलेजमा भर्ना प्रक्रियाको विषयमा बहस भैरहेको जानकारी दिँदै उहाँले सीटीईभीटीले सम्बन्धन दिएको संस्थालाई बचाउन र जनताको छोराछोरीले पढ्न पाउने अवसर दिने सन्दर्भमा संस्था गम्भीर भएको जिकिर गर्नुभयो । उहाँले संस्थाको गरिमामा आँच आउनेगरी प्रचार गरिएका समाचारले समग्र प्राविधिक शिक्षालाई गम्भीर असर परेको बताउँदै सो विषयमा सबै सरोकारवालाले गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको पनि उल्लेख गर्नुभयो ।

देशमा हजारौं संख्यामा नर्सको आवश्यकता छ । बेलायत, इजरायल, अमेरिका, अस्ट्रेलियालगायत अधिकांश मुलुकमा नेपालमा नर्सिङ पढ्ने विद्यार्थीको माग छ । यस्तो अवस्थामा नेपाली लगानीमा खुलेका संस्थालाई बन्द गर्न भएका विभिन्न प्रपञ्चले संस्थालाई आँच पुगेको उहाँको भनाइ छ । सदस्य सचिव काफ्लेले सीटीईभीटीमा आफैंले सम्बन्धन दिएका संस्था बचाई पढ्ने अवसर प्रदान गर्ने दायित्वसमेत भएको उल्लेख गर्नुभयो ।

संस्थाको उपाध्यक्ष, सदस्य सचिव र विभिन्न तहका कर्मचारीको विषयमा विभिन्न सञ्चार माध्यममा आएको नकरात्मक समाचारले संस्थाको गरिमामा गम्भीर असर परेको औंल्याउँदै यस्तो विषयमा समाचार सम्प्रेषण गर्दा सत्य, तथ्य र प्रमाणमा आधारित हुन समेत उहाँले आग्रह गर्नुभयो ।

सदस्य सचिवको पदबहाल गरेको सात महिना अवधिमा आफूले संस्थाप्रति आँच आउने गतिविधि नगरेको, संस्थाको नियम कानुनको परिधिभित्र रहेर काम गरेको, सम्बन्धन दिने विषयमा कुनै पनि कलेजसँग साँठगाठ नगरेको र त्यस्ता विषयमा कसैसँग कुराकानी नगरेको, अपग्रेडिङलगायतको विषयमा कुनै लाभ लिने गतिविधिमा संलग्न नरहेको पनि उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो – ‘नियमअनुसार सम्बन्धन, स्वीकृति, सिट संख्या तथा कोटा थप र अपग्रेडिङ गर्दा सदस्य सचिव लगायतका कर्मचारीले आर्थिक चलखेल ग¥यो भन्नु गलत हो ।’ उहाँले हालसम्म आफूले कुनै पनि संस्थालाई सम्बन्धन वा स्वीकृति नदिएको पनि बताउनुभयो ।

उहाँले लामो समयदेखि स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गरेको सय शैय्या भएको नर्सिङ क्याम्पसलाई उनीहरूको अधिकारअनुसार विषय थप गर्न खोज्दा सदस्य सचिवले चलखेल गरेर सम्बन्धन दिन थाल्यो भन्नु गलत प्रवृति भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो–‘विगत ३१ वर्षदेखि यसै संस्थामा कार्यरत् कर्मचारीको नाताले म यो भन्न चाहन्छु कि यदि संस्थाले दिएको अधिकार बाहिर रहेर मैले कुनै पनि गतिविधि गरेको भए तत्काल सजाय भोग्न तयार छु । यदि संस्थाको बदनाम हुने कुनै पनि काम मबाट भएको रहेछ भने कानुनी कारबाही भोग्न तयार रहेको जानकारी गराउँछु ।’

प्रतिक्रिया दिनुहोस्