यातायातमा डिजिलाइजेसन प्रविधिको शुरुआत



कास्की ।

यातायात व्यवस्था कार्यालय कास्कीका सेवा अनलाइनमार्फत प्रदान गरिने भएको छ । बुधबार यातायात व्यवस्था कार्यालय कास्कीमा गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काले एक कार्यक्रमका बीच उद्घाटन गरेसँगै सेवा शुरू भएको हो । कार्यालयका सम्पूर्ण फाइल र ढड्डा स्क्यानिङ एन्ड डिजिलाइजेसन गर्ने ठेक्का पाएको परामर्शदाता कम्पनी सिड राजदेवी समृद्धी जेभीले तयार पारेको मोबाइल एप र वेभसाइटको शुरुआत गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले यातायात कार्यालयहरुबाट प्रदान गरिने सेवामा समयानुकूल सुधार र सरलीकरण गर्ने कार्य गण्डकी प्रदेश सरकारको प्राथमिकतामा परेको बताउँदै यातायात कार्यालयहरुले दिने सेवाले गण्डकी प्रदेश सरकारको मूल्यांकन हुने बताउनुभयो ।

उहाँले यातायातका सेवाहरु अनलाइनमार्फत गर्ने कार्यको शुरुआत कास्कीबाट गर्न लागिएको, सरकारको सफलता यातायात जस्ता सेवा प्रवाह गर्ने कार्यालयले जनतालाई दिने सेवामार्फत हुने भन्दै जिम्मेवारीका साथ काम गर्न कर्मचारीहरुलाई निर्देशनसमेत दिनुभएको थियो । यातायात कार्यालयको सेवा दिने शैली परम्परावादीबाट मुक्त गराउनुपर्नेमा मन्त्री खड्काले जोड दिनुभएको थियो । कार्यालयबाट प्रदान गरिने सेवा सेवाग्राहीमैत्री बनाई सरकार भएको महसुस गराउन, सेवाग्राहीलाई बिचौलियाको हातबाट मुक्त गराउन समेत उहाँले कर्मचारीलाई बताउनुभएको थियो ।

त्यस्तै, यातायात व्यवस्था कार्यालयका प्रमुख डिल्लिराम रिजालले कार्यालयको सेवा अनलाइनमार्फत गर्ने गरी कार्यको शुरुआत भएको बताउनुभयो । उहाँले सेवाग्राहीले छिट्टै नै अनलाइनमार्फत सेवा लिन सक्ने जानकारीसमेत दिनुभयो ।

कार्यक्रमको प्रस्तुति कार्यालयमा हालसम्म भएको प्रगति र आगामी कार्ययोजनाका बारेमा परामर्शदाता कम्पनीका टिमलिडर कृष्णकुमार देवले गर्नुभएको थियो । कार्यक्रममा मन्त्रालयका प्रशासन तथा यातायात महाशाखा प्रमुख टीकाराम पौडेल, यातायात व्यवस्था कार्यालय सवारी, कास्कीका सूचना अधिकारी लक्ष्मीभद्र वाग्ले, यातायात शाखा प्रमुख केदार सापकोटालगायत विभिन्न कार्यालयका कर्मचारीको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्