चिकित्सक र कर्मचारीमा कोरोना, अस्पताल बन्द



पाल्पा ।

पाल्पा जिल्ला अस्पतालका चिकित्सक र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बुधबारबाट अधिकांश सेवा बन्द गरिएको छ । ६ जना मेडिकल अधिकृत, १ जना डेन्टल सर्जन, १ जना ल्याब टेक्निसियन र १ जना प्यारामेडिक्ससहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

अस्पतालले अत्यावश्यक आकस्मिक सेवा, सुत्केरी सेवा, बीमा रिफर सेवा, ल्याब, गर्भपत सेवाबाहेक अन्य सबैखाले सेवा बन्द गरेको जनाएको छ । अस्पतालमा कार्यरत चिकित्सकसहित कर्मचारीको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीश कुँवरले बताउनुभयो । संक्रमित चिकित्सक र कर्मचारी आइसोलेसनमा बस्नुपरेकाले सेवा बन्द गर्नुपरेको अस्पतालका अध्यक्ष नेत्र पाण्डेले जनाउनुभयो ।

अहिले देशका विभिन्न स्थानमा ओमिक्रोन भेरियन्टको समेत संक्रमण देखिएकोमा पाल्पा अस्पतालका चिकित्सकसहित कर्मचारीमा देखिएको भेरियन्टबारे भने खुल्न नसकेको डा. कुँवरले बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो समयमा पाल्पा जिल्लामा कोरोना संक्रमण बढ्दै गएको छ । जिल्लामा अहिले २६ जना सक्रिय संक्रमित छन् । जसमध्ये २५ जना होम आइसोलेसन र एक जनाको अस्पतालमा उपचार भइरहेको छ ।

खोप कार्यक्रम बढाइने
जिल्ला कोभिड व्यवस्थापन समितिको बुधबार बसेको बैठकले खोप कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि स्वास्थ्य सेवासँग सम्बन्धित सवै संघ–संस्था, निजी तथा सामुदायिक अस्पताल तथा स्वास्थ्य केन्द्रहरुसँग जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले समन्वय गरी खोप निर्देशिका बमोजिम कार्यक्रम अघि बढाउने निर्णय गरिएको छ ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तका अनुसार सो अवसरमा जिल्लामा सञ्चालित कोभिडविरुद्धको खोप अभियानबाट १८ वर्षभन्दा माथिको अनुमानित लक्षित १ लाख ६२ हजार ९ सय ४८ मध्ये पहिलो डोज प्राप्त गर्ने १ लाख ४६ हजार ३ सय ९५ अर्थात् ८९ दशमलव ८४ प्रतिशत र पूर्ण खोप प्राप्त गर्ने १ लाख २९ हजार २ सय १२ ७९ दशमलव ३ प्रातिशत तथा १२ देखि १७ वर्ष उमेर समूहको लक्षित संख्या २८ हजार १७ मध्ये पहिलो डोज २५ हजार ९ सय ८५ अर्थात् ९२ दशमलव ७४ पुगेकोमा सबैलाई खोप पुर्याउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

त्यसै गरी, कोभिडको तेस्रो लहर आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सतर्कता तथा पूर्वतयारी सम्बन्धमा छलफल भएको पनि उहाँले जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्