डम्पिङमा पुरियो पौने २ करोडको चिया



हेटौंडा ।

सरकारी निकायले करिब १ करोड ७९ लाख ९० हजार मूल्य बराबरको खान अयोग्य चियापत्ती नष्ट गरेको छ । भदौ १५ गते हेटौंडा उपमहानगरपालिका–३ बसामाडीस्थित युनिलिभर नेपाल लिमिटेडको चिया उद्योगमा सिल गरिएका ७२ हजार ८ सय ५६ केजी चिया नष्ट गरिएको हो ।

३५ केजीका १ हजार ८ सय ६२ बोरा र २१ केजीका ३ सय ६६ बोरा गरी ७२ हजार ८ सय ५६ केजी चिया नष्ट गरिएको थियो । उद्योगमा २ हजार ५ सय ८६ बोरा चिया रहेकोमा २ हजार २ सय २८ बोरा चिया उपभोग्य मिति समाप्त भएका, लेबुल विवरण नभएका र लेबुल विवरणमा केरमेट भएका पाइएकाले उक्त चिया ट्रकमा लोड गरी हेटौंडा उपमहानगरपालिका–१० स्थित फोहोर व्यवस्थापनस्थलमा बेलुका ७ बजेदेखि १२ बजेसम्म खाल्डो खनेर नष्ट गरिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडा, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा स्थानीय जनप्रतिनिधिसहितको अनुगमन टोलीले अनुगमन/निरीक्षणपश्चात् उपभोग्य अवधि सकिएका विभिन्न ब्रान्डका चिया फेला पारी खाद्य निरीक्षकद्वारा ३ ब्रान्डका नमुना संकलन गरेर उद्योगमा सिल गरिएको थियो ।

खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका खाद्य निरीक्षकद्वारा विभिन्न चरणमा अनुसन्धान प्रक्रिया सम्पन्न गरी कात्तिक ११ गते खाद्य ऐनबमोजिम लेबल विवरण नभएका चिया खरिद–बिक्री गरेको अभियोगमा नेपा टी इन्डस्ट्रिज प्रालि मेचीनगर झापा र चिया ब्लेन्डिङ गर्ने उद्देश्यले भण्डारण गरेको अभियोगमा युनिलिभर नेपाल लिमिटेडलाई प्रतिवादी बनाएर जिल्ला प्रशासन कार्यालय मकवानपुरमा अभियोगपत्र दायर गरिएको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका खाद्य निरीक्षक अशोक गौतमको जाहेरी प्रतिवेदनले वादी नेपाल सरकार र प्रतिवादी युनिलिभरका फ्याक्ट्री मेनेजर नितिन जैनसमेत भएको उक्त मुद्दामा मंसिर १२ गते आम उपभोक्ताको स्वास्थ्य र सुविधा कायम राख्न जिल्ला प्रशासन कार्यालय, मकवानपुरबाट फैसला हुँदा नेपा टी प्रालिका आदित्य पराजुली र युनिलिभर नेपाल लिमिटेडका फ्याक्ट्री मेनेजर जैनलाई खाद्य ऐन–२०२३ को दफा ५ (२) बमोजिम जनही १० हजार जरिवाना भएको थियो ।

बरामद भएका चियामध्ये उपभोग्य मिति समाप्त भएका, लेबुल विवरण नभएका र लेबुल विवरणमा केरमेट भएका बोरा यकिन गरी खाद्य नियमावली–२०२७ नियम ९ (क) बमोजिम नष्ट गर्ने फैसला भएको थियो ।

पुस १८ गते पुनरावेदन म्याद समाप्त भएपछि फैसला कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालय, मकवानपुरबाट भएको आदेशानुसार १९ गते खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय मकवानपुर, हेटौंडा उपमहानगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरका प्रतिनिधि र उपभोक्ता अधिकारकर्मी तथा स्थानीय जनप्रतिनिधि, र सुरक्षाकर्मीसमेतको टोली उद्योगमा लगाइएको सिल खोली चियाको यकिन विवरण करिब ६ घण्टा लगाएर तयार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्