नेपाल र बंगलादेशबीचको व्यापारिक अवस्था



  • डा. सुमनकुमार रेग्मी

नेपालको भारत र चीनसँगको प्रत्येक वर्ष खर्बौंको व्यापार घाटा भइरहेको बेलामा नेपालले बंगलादेशसँगको व्यापारमा पनि सोही अवस्था भोग्नुपरेको छ । निर्यात वृद्धिको प्रशस्त सम्भावना भए तापनि बंगलादेशबाट आयात बढ्दा व्यापार घाटा पनि चुलिँदै गएको छ । बंगलादेश र नेपालबीच विविध क्षेत्रमा विद्यमान व्यापार लगानी र अन्य सहयोगका सम्भावित क्षेत्र पहिचान गरी द्विपक्षीय सहयोग र सहकार्य बलियो हुने विश्वास गरिँदै आएको छ ।

नेपाल अब विकासशील अर्थतन्त्रमा रुपान्तरण भएकाले सन् २०४१ सम्ममा विकसित अर्थतन्त्रमा परिवर्तन हुने विश्वास रहेको छ । नेपाल र बंगलादेशसँगको व्यापार काँकडभिट्टा–फूलबारी–बंगलाबन्द मार्गबाट व्यापार हुने गरेको छ । २०५४ साल भाद्रदेखि सो मार्ग सञ्चालनमा आएपछि बंगलादेशसँगको व्यापार झाङ्गिन शुरु गर्ने निश्चित थियो । काँकडभिट्टादेखि करिब ५४ किलोमिटरको दूरी पार गर्दा बंगलादेशको व्यापारिक नाका बंगलाबन्द पुगिन्छ । बंगलादेशसँगको व्यापारका लागि यो मार्ग नै सबभन्दा छोटो मानिन्छ । यो मार्गबाट व्यापार शुरु गर्दा प्रशस्तै अवसरको कल्पना गरिएको थियो । त्यो बेला कोलकाता–हल्दिया बन्दरगाहको विकल्पमा बंगलादेशसँगको यो बन्दरगाह हुने सोचिएको थियो । तर विगत २४ वर्षमा सोचिएको कुरा भएन ।

नेपाल र बंगलादेशबीचको व्यापार सम्बन्धमा आ.व. २०७३।७४ सम्म बंगलादेशसँगको व्यापारमा वर्षेनि नेपालको पक्ष रहन्थ्यो । तर आ.व. २०७७।७८ मा नेपालबाट ६७ करोड ३८ लाख ९१ हजार रुपियाँको बंगलादेशमा निर्यात हुँदा बंगलादेशबाट रु. ७ अर्ब १५ करोड ७२ लाख ३४ हजारको आयात भएको देखिन्छ । त्यस्तै आ.व. २०७७।७८ मा नेपालले रु. ७ अर्ब ४८ करोड ३३ लाख ४३ हजारको घाटा सहनुपरेको छ । आ.व. २०७५।७६ को तुलनामा आ.व. २०७६।७७ मा पूर्वी नाकाबाट हुने बंगलादेशसँगको व्यापारमा ३९.४३ प्रतिशतले घाटा भएको अवस्था रहेको छ । आ.व. २०७६।७७ मा रु. ३ अर्ब ९९ करोड ९३ लाख घाटा भएको छ ।

स्मरण गराइन्छ कि आ.व. २०७५।७६ मा समेत व्यापार बंगलादेशको पक्षमा थियो । आ.व. २०७५।७६ मा बंगलादेशसँगको व्यापारमा नेपालले रु. २ अर्ब ४१ करोड ४३ लाख ५८ हजारको घाटा बेहोर्नुपरेको थियो । आ.व. २०७५।७६ मा १ अर्ब ३२ करोड ६१ लख ४१ हजारको वस्तु नेपालबाट बंगलादेशमा निर्यात भएको थियो । साथै आ.व. २०७५।७६ मा बंगलादेशबाट रु. ३ अर्ब ७४ करोड ४ लाख ९९ हजार रुपियाँको वस्तु आयात भएको थियो । यस्तै गरी आ.व. २०७६।७७ मा रु. ०.९५ अर्बकोे नेपालबाट बंगलादेशमा सामान निकासी भएको थियो ।
नेपालबाट निर्यात बंगलादेशमा घट्दै गएकाले द्विपक्षीय व्यापार ऋणात्मक भएको थियो । बंगलादेशमा मुसुरो निर्यात घटेपश्चात् व्यापार घाटा बढ्दै गएको देखिन्छ । बंगलादेशमा जडीबुटी निकासी बढाउन सके बंगलादेशसँगको व्यापारमा नेपालको पक्ष पुनः स्थापित हुन सक्छ ।नेपालबाट बंगलादेशमा अलैँची, अदुवा र फलफूल माग उच्च भए पनि यी उत्पादन भने झन्झटिलो भन्सार नीतिले नेपाली व्यापारी निर्यातमा ठगिएका देखिन्छन् ।

दुवै देशबीचका प्रावधान र अवस्था :
नेपाल र बंगलादेशबीच वाणिज्यस्तरीय बैठकले नेपालबाट १०८ वस्तुलाई भन्साररहित सुविधा दिने निर्णय गरेको थियो । उक्त १०८ वस्तुहरु नेपालमा उत्पादन नहुुुने र निर्यात गर्न नसक्ने रहेका छन् । नेपाली सामानलाई शून्य भन्सार सुविधा उपलब्ध गराइनुपर्ने भए पनि सरकारी पक्षबाट पहल हुन नसक्दा हरवर्ष व्यापार घाटामा रहन बाध्यता भएको देखिन्छ । भन्सार छुट भए पनि नेपाली कृषिजन्य उत्पादनको निर्यातसमेत बढ्ने पक्का देखिन्छ ।

कृषिजन्य वस्तुका निर्यात गर्न सकिने सम्भावना भए पनि बंगलादेशले ८० प्रतिशतसम्म भन्सार लगाउने हुनाले निर्यातको सम्भावना नरहेको बताईन्छ । शीर्षस्थ नेताहरु विदेश भ्रमण व्यापारिक सम्बन्ध बढाउन गए पनि यस्ता कुरा समाधान हुँदैनन् । नेपाल र भारत पारवहन सन्धीमा पनि दुई देशले नेपालको सक्रियता महसुस गरी नेपालको सहभागिता भएको हो ।

बंगलादेशसँगको व्यापार वृद्धिका लागि नेपालले आवश्यक कदम लिन आवश्यक छ । निर्यात वृद्धिदर ज्यादै कम र आयात दर अत्यधिक बढ्दै गएकाले वर्तमान सन्दर्भका द्विपक्षीय व्यापार प्रवर्द्धनमा रेसिप्रोसिटीका आधारका लागि योजना तथा नीति आवश्यक छ ।

नेपाल तथा बंगलादेशसँगको सतही मार्गबाट व्यापार शुरु भएको एक वर्षसम्म व्यापार सामान्य नै भएको थियो । दोस्रो वर्ष व्यापार नै भएन । जब नेपालबाट बंगलादेशमा गहुँ र दाल निर्यातको बाढी आयो त्यसपछि व्यापार नेपालको पक्षमा हुँदै गयो । २०७४ सालतिर पनि नेपाल र बंगलादेशबीचको व्यापारमा नेपालको पक्षमा रु. १० अर्ब रुपियाँजतिको व्यापार थियो । तर २०७४ पछि २०७८ मा आउँदा त नेपालको बंगलादेशसँगको निर्यात व्यापार सुक्दो अवस्थामा छ । २०७८ मा त नेपालको निर्यात निकै कम हुँदै गएको छ ।

नेपालको बंगलादेशसँगको व्यापार भनेको नेपालको दाल निर्यात थियो । सरकारले नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीलाई नेपाल र बंगलादेशबीचको व्यापार सहजीकरणको जिम्मेवारी दिएको थियो । त्यस बेला अर्थात् २०५४ सालतिरबाट नेपालबाट बंगलादेशमा निर्यात व्यापार बढ्दै थियो । तर शुरुमा पारवहन मार्गमा पूर्वाधारको कमी थियो । नेपाल र भारतबीचको सिमानामा चहलपहल थियो । तर भारत र बंगलादेशबीचको सीमा प्रायः ठप्प थियो । दिनभर सीमा नाका कुरेर दुई–चार गाडी व्यापार गरेर फर्कने अवस्था थियो । सुधार गर्नुपर्ने लक्षण देखिन थालेका थिए । त्यस्तो अवस्थामा पनि नेपालको प्रयास जारी थियो । आ.व. २०५६।५७ पछि त क्रमशः व्यापार बढ्दै गयो । २०७८ आउँदासम्म भारतले मानव आवतजावतलाई समेत खुकुलो पारी अध्यागमन कार्यालय पनि स्थापना गरेको छ । यो नाकाको स्थिति राम्रो देखिँदै आएको छ । यसलाई कार्यालयले सघाउ गरेमा नेपाल, भारत र बंगलादेशको व्यापार बढ्ने हुन्छ ।

फूलबारी ल्यान्ड कस्टममा भारतीय ढुंगावाहक ट्रक र बंगलादेशी ट्रकहरु मात्र देखिन्छन् । नेपाली ट्रकहरु प्रायः देखिँदैनन् । विगतमा अर्थात् नेपालको लागि भारत भएर बंगलादेशी नाका खुलेपछि २०५४ अघि केही वर्ष नेपालको नाका गुल्जार भयो । बंगलादेशबाट नेपालका लागि जुट, जुसजन्य पदार्थ, कपडा, चिनी, आलु आदि आयात भइरहेको अवस्था थियो र अहिले पनि त्यस्तै छ । अब त नेपालले मुसुरो त्यो पनि कहिलेकाहीँ मात्र निर्यात गरिरहेको अवस्था छ । आ.व. २०५४ देखि २०६४ सम्म मध्य, २०६४ देखि २०६५।६६ सम्म दुवै देशबीचको व्यापार उच्च विन्दुमा वृद्धि भएको थियो । त्यस समयमा नेपालको निर्यातजन्य वस्तुमा मुसुरो, गहुँको चोकर, जडीबुटी, गहुँलगायतका वस्तु थिए ।

यस अवधिमा आकर्षक निर्यात दर भएकाले सबै खुसी भएका थिए । तर अब त बंगलादेशमा निर्यात ज्यादै कम हुँदै गयो र बंगलादेशबाट आयात अत्यधिक सहनै नसक्ने गरी नेपालमा भित्रिन थाल्यो । हुन त कुनै वर्ष नेपालको पक्षमा नै बंगलादेशसँगको व्यापारको झलक देखिन्छ । अहिले नेपाल र बंगलादेशबीचको व्यापारमा ज्यादै थोरै नेपालका वस्तु निर्यात हुने गरेको छ । डाबर नेपालका उत्पादन पनि बंगलादेशमा ज्यादै कम निकासी हुने गरेको देखिन्छ । नेपालका जडीबुटीजस्ता अन्य वस्तुहरुको समेत बंगलादेशमा विस्तार हुन सकेन । नेपालका कृषिजन्य वस्तुहरु अदुवा, अलैँची, कुचोजस्ता सामग्री बंगलादेशमा माग भएकाले यस्ता वस्तुको निकासीमा विषेश जोड दिनै पर्छ ।

प्रवर्द्धनका केही उपाय :
नेपालका वस्तुहरु बंगलादेशमा निर्यात वृद्धि गर्न सरकारी पक्ष, निजी क्षेत्र र अरु सम्बद्धको अत्यधिक प्रयास हुन जरुरी छ । दुवै देशको व्यापार वृद्धिका लागि उच्चस्तरीय बैठक पनि भएका छन् तर नियमितता देखिएन अनि नेपालको निर्यात प्रवद्र्धन पनि भएन । भारतको पूmलबारी र बंगलादेशको बंगलाबन्धतिर पनि भौतिक पूर्वाधार एवं अन्य पूर्वाधार कछुवा गतिमा निर्माण भइरहेको भनिन्छ । प्रविधिको गति पनि धिमे गतिमा भइरहेको छ । यस मार्गमा अब सडकको समस्या छैन भनिन्छ । यस मार्गमा दुई लेनको सडक अब ६ लेनमा निर्माण हँदै गएको छ । यस मार्गमा भारतीय श्रमिकको पनि कमी छैन ।

बंगलादेशले आफ्नो निर्यात नेपालमा बढोत्तरी गरेजस्तै नेपालले पनि बंगलादेशमा जसरी भए पनि निकासी बढाउनै पर्दछ । पूmलबारी र बंगलादेशको बंगलाबन्धबीचको बाटो नेपालले व्यापारको लागि प्रयोग गरेको २५ वर्ष बित्न लाग्दा पनि एक जुगको मौका नेपालले गुमाउँदै गएको छ । नेपाल र बंगलादेशबीचको व्यापार वृद्धिका लागि सरकारी र निजी क्षेत्रको हातैहात मिलन हुनै पर्दछ । त्यसमा पनि बंगलादेशको सहभागिता भई असल मित्रको भाव नेपालको पक्षमा देखाउन आवश्यक छ । नेपालको निकासी बढाउन सक्दा मात्र नेपालको व्यापार सन्तुलनमा जाने हुन्छ । त्यसैले यसतर्फ जोड दिनु आजको आवश्यकता भएको छ ।

(लेखक रेग्मी व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका पूर्व–नायब कार्यकारी निर्देशक हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्