डा. कोइरालाको उद्घोष : हामी थाक्ने छैनौं, विश्राम लिने छैनौं



काठमाडौं ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस एकताको सन्देश र रूपान्तरणको सन्देश बोकेर नेपाली जनताको विश्वास र भरोसाको पार्टी निर्माणको अभियानमा जाने बताउनुभएको छ ।

बुधबार आयोजित आफू निकट नेताहरुको भेलामा सम्बोधन गर्दै डा. कोइरालाले भन्नुभयो– ‘हामी थाक्ने छैनौं र विश्राम लिने छैनौं । हामी कुनै पनि कार्यकर्ता साथीहरूको शिर झुक्न दिने छैनौं र निराश हुन पनि दिने छैनौं ।’ कांग्रेस हुनुको गर्व अनुभूत गराउने प्रयासमा हामी लागि नै रहनेछौं भन्दै उहाँले तीनै तहको निर्वाचनको परिणाम कांग्रेसको पक्षमा ल्याएर र देशको मुहार कांग्रेसले मात्रै फेर्न सक्छ भन्ने अभियानमा कटिबद्ध रहेको पनि बताउनुभएको छ ।

नेपाली कांग्रेसलाई नयाँ उचाइमा पुर्याउने अभियानमा विश्राम लागेको छैन भन्दै उहाँले पार्टीको १४औं महाधिवेशनले केहीलाई महत्वपूर्ण जिम्मेवारीमा पुर्याएको छ भने केहीलाई पदीय जिम्मेवारीबाट बाहिर राखेको बताउनुभएको थियो । पार्टीभित्र जिम्मेवारी पाउने नेताहरूप्रति पार्टी कार्यकर्ता र शुभेच्छुक मात्र हैन आम नेपाली जनताले पनि विश्वसका साथ उहाँहरूको गतिविधि हेरिरहेको भन्दै डा. कोइरालाले हामीहरू अहिले अग्नि परीक्षामा रहेको बताउनुभएको थियो ।

पार्टी संगठनभित्र कटुता र विभाजनको भावना कसैमा पनि आउन नहुने भन्दै डा. कोइरालाले पार्टीमा काम गर्ने निष्ठावान, इमानदार, त्यागी र सक्षम नेता कार्यकर्तालाई नियोजित किसिमले पाखा लगाउने कामका विरुद्ध डटेर आवाज उठाउनुपर्ने बताउनुभएको छ । ‘सबै कांग्रेसजन एउटै परिवारका सदस्य हो भन्ने भावना नेतृत्वबाट निर्णय गर्दा देखिनुपर्छ’, कोइराला भन्नुहुन्छ– ‘पार्टी नेतृत्वको गतिविधिले र निर्णयले कांग्रेस संगठनमा निराशा पैदा भए अगाडिका निर्वाचनहरू हाम्रा लागि असहज हुन सक्छन्न् ’। हाम्रो निर्णय प्रक्रियाले भित्र ऊर्जाको सञ्चार गर्न नसके कांग्रेस शिथिल हुन सक्ने उहाँको भनाइ थियो ।

हालै सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यमा मनोनित गरेको १३ जना नेता सबै सक्षम र योग्य नै भएको बताउँदै डा. कोइरालाले भन्नुभएको छ– ‘तर के मापदण्ड अपनाएर उहाँहरू मनोनित हुनुभएको हो, हामी जान्न चाहन्छौं ।’ ‘पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी छ, नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने भनी प्रश्न उठ्न सक्छ’ –उहाँको भनाइ थियो । सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुन सक्ने भन्दै कांग्रेस नेता डा. कोइरालाले विधि र विधान बाहिर गएर गरिने सबै कामहरू बन्द गर्न हामी एकढिक्का भएर प्रयत्न गर्ने कि नगर्ने भनी प्रश्न गर्नुभएको छ ।

सिंहदरबारस्थित होटल बसेरामा भएको भेलामा १४औं महाधिवेशनमा कोइराला पक्षबाट उम्मेदवार बनेका नेताहरू, प्रदेशका उम्मेदवारसहितका नेताहरू सहभागी रहेका थिए । भेलामा गत महाधिवेशनको समीक्षा र आगामी रणनीतिका विषयमा छलफल हुनुका साथै पहिलो र दोस्रो केन्द्रीय समितिको बैठकको निर्णयका साथै पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो समूहप्रति देखाएको अनुदारताका विषयमा पनि छलफल भएको कोइराला पक्षीय नेता मधु आचार्यले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्