माओवादीको पदाधिकारी चयन पेचिलो बन्दै

शर्मा र पुनसँगै गुरुङ पनि महासचिवको दौडमा



काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको आठौं महाधिवेशनले अध्यक्ष र केन्द्रीय सदस्य टुंगो लगाए पनि पदाधिकारीको भने अझै टुंगो लगाउन सकेको छैन । सहमतिबाटै केन्द्रीय सदस्य चयन र अध्यक्ष चयन गरेको माओवादीलाई पदाधिकारी चयन भने पेचिलो बन्दै गएको हो ।

पदाधिकारीमा अध्यक्ष पछिको कार्यकारी पद महासचिव रहेको छ । अध्यक्षको प्रत्यासी कोही पनि नहुँदा महाधिवेशनको पहिलो केन्द्र्रीय कमिटीको बैठकबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्षमा पुनः सर्वसम्मत रुपमा निर्वाचित भइसक्नुभएको छ । तर पदाधिकारी चयनमा पार्टीभित्र नेताहरूबीच दौडधुप चलिरहेको छ । महासचिवमा बर्षमान पुन, जनार्दन शर्मा र देव गुरुङ दाबेदारको रुपमा रहनुभएको छ ।

१५ सदस्यीय पदाधिकारीमा अध्यक्षबाहेक बाँकी १४ जना पदाधिकारीको टुंगो लगाउन बाँकी रहेको छ । महाधिवेशनले २ सय ९९ जना केन्द्र्रीय सदस्यमध्ये अझै ६५ जना केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ । पहिलो केन्द्रीय कमिटीको बैठकले नै पदाधिकारीको टुंगो लगाउने तयार भए पनि नेता वर्षमान पुन चीनबाट उपचार गराएर स्वदेश फर्कने जानकारी गराएपछि बैठक केही दिनका लागि स्थगित गरिएको थियो । अब पुन स्वदेश फर्किएपछि मात्र माओवादीको केन्द्रीय कमिटीको बैठकको तय हुने बताइएको छ । पुनको आग्रहमा प्रचण्डले नै केही दिनको लागि पदाधिकारी चयनलगायतको प्रक्रिया स्थगित गर्नुभएको हो ।

माओवादीभित्र पदाधिकारी चयन पनि सहमतिबाटै टुंगो लगाउने गृहकार्यमा जुट्दै प्रचण्डले शीर्ष नेताहरूसँग छलफल गरिरहनुभएको प्रचण्डको सचिवालयले बताएको छ । अन्य पदाधिकारीमा नेताहरूको धैरै दौडधुप नभए पनि महासचिवमा भने सबै नेताहरूको ध्यान गएको छ ।

अबको केन्द्रीय कमिटी बैठकले पदाधिकारी, पोलिटब्युरो, स्थायी कमिटी चयन गर्नेछ । पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन गर्ने संशोधनसहितको विधानलाई महाधिवेशनले पारित गरिसकेको छ । माओवादीका नेता देव गुरुङले सकेसम्म सहमतिकै आधारमा पार्टीले पदाधिकारीको टुंगो लगाउने बताउनुभयो । उहाँले भन्नुभयो– ‘पार्टीभित्र पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो चयनलगायतको विषयमा गृहकार्य भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्