कृषि हाट बजारको भवनमा हार्डवेयर र खाजाघर



म्याग्दी ।

म्याग्दीमा शनिबार वा बिदाको दिनमा हाट बजार लाग्ने गर्दथ्यो । हाट बजारमा ग्रामीण भेगका किसानले उत्पादन गरेका कृषि उपजहरुको प्रदर्शनी र बिक्री, वितरण गरिन्थ्यो ।
आठ वर्षअघि म्याग्दीको सदरमुकाम बेनीबजारस्थित बहुउद्देश्यीय खेलमैदानमा कृषि हाट बजार सञ्चालन गरिएको थियो । शुरुको केही वर्ष हाट बजार राम्रै चल्यो । पछि विस्तारै बिचौलियाका कारण तथा सरोकारवाला निकायको बेवास्ताले हाट बजार लाग्न छोड्यो, पछि आएर बन्द नै भयो ।

बेनी नगरपालिका घोषणा भएसँगै केही हुन्छ कि भन्ने आस सबैलाई थियो । तर, नगरपालिकाले पनि हाट बजारलाई व्यवस्थापन गर्नेतर्फ चासो नै दिएन । स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधि चुनिएको पनि पाँच वर्ष सकिनै लाग्दा अहिलेसम्म हाट बजार पुनः सञ्चालन हुन सकेको छैन । अहिले हाट बजार लाग्ने भवनका कोठामा हार्डवेयर तथा मेसिनरी पसलका सामानहरु राखिएको छ भने खाजाघर सञ्चालन भएको छ । किसानले उत्पादन गरेको कृषि उपज संकलन केन्द्रलाई पुनः सञ्चालन गर्नुपर्ने बताउँदै आफूहरुले भवन माग्दा बेनी नगरपालिकाले नदिएको बास्कुनाका अगुवा किसान तिलक गुरुङले गुनासो गर्नुभयो ।

बेनीको बहुउद्देश्यीय खेलमैदानमा स्थापना भएको कृषि उपज संकलन तथा बिक्री केन्द्रको भवन व्यावसायिक पसलमा रूपान्तरण भएको हो । ग्रामीण भेगमा किसानहरुले उत्पादन गरेका कृषि उपजलाई बजारीकरण र उपभोक्तालाई सहुलियत दरमा बिक्री गर्ने उद्देश्य रहे पनि हाट बजार नचलेपछि भवन भाडामा लगाइएको छ । हाट बजार सञ्चालन गर्नुको सट्टा बेनी नगरपालिकाले भवन भाडामा लगाएको हो । कृषि उपज संकलन केन्द्रको १२ वटा कोठा रहेकोमा अधिकांश भाडामा लगाइएको छ । भाडामा लगाइएका कोठामा हार्डवेयर तथा मेसिनरिजन्य सामान, मिनी टेलर, चाबी जस्ता सामानहरुको पसल राखेर बिक्री गर्ने गरिएको छ ।

यसअघि २०६५ सालदेखि चार चरणमा गरेर हाट बजार सञ्चालन गर्नका लागि भवन र टहरा बनाउन प्राविधिक सहयोगका साथै आर्थिक लगानी गरिएको थियो । पछिल्लोपटक २०७० सालदेखि तत्कालीन जिल्ला कृषि विकास कार्यालय र म्याग्दी उद्योग वाणिज्य संघको पहलमा प्रत्येक शनिबार बेनीमा हाट बजार सशरू गरिएको थियो । शुरुआतको केही वर्ष हाट लागे पनि पछिल्लो समय हाट बजार चलेन ।

शनिबारको दिनमा लाग्ने हाट बजार सरोकारवाला निकायको बेवास्ता र बिचौलियाको कारणले सुक्दै गएपछि सरकारी लगानीमा बनेका भवन र टहरा भैंसी बाँध्ने गोठमा परिणत भएका थिए । म्याग्दीको रत्नेचौर, ज्यामरुककोट, तातोपानी, अर्थुङे, गलेश्वरसहित छिमेकी जिल्ला पर्वतको मल्लाज, सालिजा, खोलाखेत र धाइरिङका किसानले उत्पादन गरेका कृषि उपजलाई बजार ल्याउन हाट बजार सञ्चालन गरिएको थियो । शुरू–शुरूमा ग्रामीण भेगका किसानले सोझै आफ्नो उत्पादन हाट बजारमा ल्याउँथे ।

हाट बजार शुरू हुँदाको केही समय सदरमुकाम बेनीको बहुउद्देश्यीय खेलमैदानमा निकै भीडभाड हुने गरेको थियो । तर, पछिल्लो तीन–चार वर्षसम्म पनि हाट बजार नचलेपछि बेवारिसे अवस्थामा पुगेको भवनलाई अहिले बेनी नगरपालिकाले २५ लाख रुपियाँको लगानीमा मर्मतसम्भार गरेर भाडामा दिएको जनाएको छ । भवनलाई लक्षित गरेर खानेपानी तथा विद्युत् जडान, ग्राभेलिङ गर्ने, सटर हाल्ने, खेलमैदानको डिलमा पर्खाल लगाउनुका साथै मर्मतसम्भार गरिएको छ । खाली भवनलाई प्रतिसटर मासिक ७ हजार रुपियाँ तिर्ने गरी भाडामा लगाइएको बेनी नगरपालिका–७, बेनीका वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

वडाध्यक्ष श्रेष्ठका अनुसार कृषि उपज संकलन तथा बिक्री वितरणका लागि तीनवटा सटर खाली राखिएको छ । कृषक समूहले निर्णय गरी माग गरेको खण्डमा गाउँमा उत्पादित कृषि उपज बिक्री वितरण गर्न निःशुल्करूपमा भवनको कोठा उपलब्ध गराइने वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । हाट बजारको भवन निर्माणमा यसअघि ३० लाख रुपियाँ लगानी भएकोमा तत्कालीन जिल्ला कृषि विकास कार्यालयले मात्रै प्राविधिक सहयोगबाहेक १९ लाख रुपियाँ लगानी गरेको थियो । तत्कालीन जिविसले एकलाख ५० हजार, डीसीआरडीसी, डिमेगा, सहमति र प्लान नेपालले दुई–दुई लाखका दरले लगानी गरेका थिए ।

यसैबीच जिल्ला प्रहरी कार्यालयबाट बग्ने ढल तथा फोहोरमैलाको उचित व्यवस्थापन हुन नसक्दा बहुउद्देश्यीय खेलमैदानमा समस्या हुने गरेको छ । त्यस्तै, कृषि उत्पादन सङ्कलन तथा बिक्री–वितरण गर्नका लागि भनेर बनाइएको कृषि उपज संकलन केन्द्र तथा हाट बजारको भवनलाई व्यावसायिक भाडामा लगाइएकोमा किसानले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्