नेपाली काङ्ग्रेसको महाधिवेशन : सूक्ष्मदृष्टि



  • डिल्लीराम मिश्र ‘कलमजीवी’

नेपालको प्रजातान्त्रिक जनआन्दोलनका जिउँदा शहीद टङ्कप्रसाद आचार्यको नेतृत्वमा वि.सं. १९९३ मा स्थापित राजनीतिक दल नेपाल प्रजापरिषद्ले देशमा राणाशासनको विरोधमा एक प्रकारको आँधीरुपी चेतना नै ल्याएको थियो । त्यसै दलको नेतृत्वमा वि.सं. १९९७ मा नेपाल राष्ट्रका चारजना सपुतले राष्ट्रको बलिदानीको पक्षमा अमरत्व प्राप्त गरेका थिए । ९७ सालको दर्दनात्मक गोलीकाण्डको जगमा २००७ सालको जनक्रान्ति उभिएको हो । २००७ सालको जनक्रान्तिको जग निर्माण गर्ने क्रममा वि.सं. २००३ मा पहिले अखिल भारतीय नेपाल राष्ट्रिय काङ्ग्रेस र केही समयपछि नेपाली राष्ट्रिय काङ्ग्रेसको गठन भारतमै भएको हो । यस संस्थाको पहिलो सभापतिमा उनै टङ्कप्रसाद आचार्य रहेका थिए । यस्तै २००४ सालमा डा. डिल्लीरमण रेग्मी नेपाली राष्ट्रिय काङ्ग्रेसको सभापति रहँदै त्यहाँदेखि १४ औं महाधिवेशनसम्म आइपुग्दा नेपाली काङ्ग्रेसमा ९ जनाले सभापतिको नेतृत्व लिएको देखिन्छ । यसअन्तर्गत गिरिजाप्रसाद कोइरालाले तीनपटक र शेरबहादुर देउवाले दुईपटक सभापतिको नेतृृत्व लिएका छन् । नेपाली राष्ट्रिय काङ्ग्रेस र नेपाल प्रजातन्त्र काङ्ग्रेस हुँदै २००६ सालमा प्रवासमा नेपाली काङ्ग्रेस गठन भएपछि त्यसको पहिलो सभापतिमा मातृकाप्रसाद कोइराला मनोनयन भएका थिए । उनी २००७ सालको जनक्रान्तिका उच्च कमान्डर पनि हुन् । मातृकाप्रसादको उच्च कमान्डमा जनक्रान्ति सञ्चालन भएको थियो ।

नेपाली काङ्ग्रेसको पाँचौँ महाधिवेशनबाट सभापतिमा बीपी कोइरालाको उदय भएको हो । वि.सं. २००९ मा जनकपुरमा सम्पन्न नेकाको पाँचौँ महाधिवेशनमा सभापतिको लागि मातृकाप्रसाद कोइराला, बीपी कोइराला र केदारमान व्यथितबीच प्रतिस्पर्धा भएको थियो, तर दुवै प्रतिस्पर्धीलाई पराजित गर्दै बीपी कोइराला सभापतिमा निर्वाचित भएका हुन् । त्यति बेला बीपीले २९८, मातृकाप्रसादले ६८ र केदारमानले २ मत प्राप्त गरेका थिए । त्यही महाधिवेशनबाट बीपी र मातृकाबीच आपसी कलह सिर्जना हुँदा अन्ततः मातृकाले २०१० सालमा राष्ट्रिय प्रजा पार्टी गठन गरेर त्यसै वर्ष दोस्रोपटक देशको प्रधानमन्त्री बनेका थिए । यस्तै २०१२ सालमा वीरगन्जमा सम्पन्न छैटौं महाधिवेशनमा काङ्ग्रेस नेता सुर्वर्णशमशेर राणा पार्टी सभापतिमा चुनिएका थिए । त्यही वीरगन्ज महाधिवेशनबाट नेपाली काङ्ग्रेसले आफ्नो घोषणापत्रमा प्रजातान्त्रिक समाजवादको सैद्धान्तिक बाटो अवलम्बन गरेको हो । सुर्वणशमशेरपश्चात् २०१७ सालमा पुन बीपी कोइराला पार्टी सभापति भए र उनी २०३९ सालसम्म नेतृत्वमा रहेका थिए, जबकि त्यति बेला देशमा राजनीतिक दलहरु प्रतिबन्धित अवस्थामा थिए । त्यसपछि २०४८ मा कृष्णप्रसाद भट्टराई, २०५३, २०५७ र ०६२ मा गिरिजाप्रसाद कोइराला, २०६७ मा सुनिल कोइराला र २०७२ सालमा शेरबहादुर देउवा पार्टी सभापतिमा निर्वाचित भएका थिए ।

कालजयी तर सुन्दर इतिहासको निर्माण गर्ने क्रममा कुन व्यक्ति कतिपटक देशको प्रधानमन्त्री भयो, त्यो ठूलो र महत्वको सवाल हुँदै होइन । सवाल के हो भने, उसले सरकारको नेतृत्वमा रहेर राष्ट्र, समाज र जनताको लागि कति योगदान दिन सक्यो ? त्यो महान् र कालजयी विषय हो ।

सरकारको नेतृत्वमा रहदा उसले देशको लागि कति रचनात्मक, कति निर्माणात्मक र कति सिर्जनात्मक योगदान दिन सक्यो ? त्यो कार्य सबैभन्दा महान् उपलब्धि हो, तर एउटा विकट गाउँ डडेलधुराको रुवा खोलामा जन्मेका शेरबहादुर देउवाले पाँच–पाँचपटक देशको प्रधानमन्त्री भएर नेपाली जनतासमक्ष इतिहासको कालखण्डमा आजसम्म सम्झनालायक एउटै पनि काम गरेको उदाहरण छैन । पाँचपटकसम्म देशको प्रधानमन्त्री भएर इतिहासमा नाममात्र लेखाउने काम त उनले गरे । त्यो उनको जीवनको लागि सफल भए पनि समाजको लागि उनको चिन्तन नकारात्मक पक्ष भएर उभिएको छ । बरु उनले आफ्नो शासनकालमा मन्त्रालय विभाजन गर्ने, तिनको स्वरुपलाई कुरुप बनाउने, भ्रष्टाचारको नाउँमा पजेरो संस्कृतिको विकास गर्ने, देशमा भीमकाय मन्त्रिमण्डल गठनको शुरुवात, सुरा र सुन्दरीको कथा, राष्ट्रघाती महाकाली सन्धिको अनुमोदन एवम् आफ्ना गुटका आसेपासेलाई राष्ट्रको सम्पत्ति दोहन गर्ने काम उनको नेतृत्वको सरकारमा भएको छ ।

अहिले पनि उनी अप्राकृतिक रुपमा निर्माण भएको गठबन्धन सरकारको प्रधानमन्त्री रहेका छन् । तर प्रदेश सरकारले नेपालको संविधानको चरम उलङ्घन गरेर, मन्त्रालय फोडेर संविधान विपरीत भीमकाय मन्त्रिमण्डल गठन गरिरहेका छन् । सङ्घीय सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा त्यसबारेमा एक शब्द पनि बोल्दैन्, बोल्नुपर्ने र हस्तक्षेप गर्नुपर्ने उनको दायित्व र कर्तव्य हो, न त मन्त्री परिषद्का अन्य सदस्यहरु एवम् राजनीतिक दलका नेताहरु नै बोल्छन् । त्यसैले प्रदेश सरकारहरु आज देश र जनताको लागि बोझ मात्रै भएका छन् ।
झन्डै सात वर्षको कार्यकालपछि गत मङ्सिर २८ गते नेपाली कांङ्ग्रेसको चौधौं महाधिवेशन सम्पन्न भयो । पार्टीभित्र शेरबहादुर देउवाको कार्यकालभरि नै आगामी नेतृ्त्व परिवर्तन र पुस्ता हस्तान्तरणको क्रममा चर्को आवाज बुलन्द हुँदै आएको हो । यस्तो आवाज बुलन्द गर्नेहरुमा दोस्रो र तेस्रो पुस्ताका युवा नेताहरु नै अघि थिए । त्यसै अनुरुप यस महाधिवेशनमा सभापतिको लागि यथास्थितिको तर्फबाट शेरबहादुर देउवा र नेतृत्व परिवर्तन गर्नुपर्छ भन्नेहरुका तर्फबाट डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ, चुनावी प्रतिस्पर्धाको दौडमा रहेका थिए । पार्टीको नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने पक्षमा रहेकाहरुबीच सहमति हुन नसक्दा सबैले आफ्नो क्षमता प्रदर्शन गर्न खोजेपछि मतदानमा उनीहरु सहभागी भएका हुन् । पहिलो चरणको निर्वाचनमा झन्डै ४ हजार ७ सय महाधिवेशन प्रतिनिधिले नेतृत्व चयनमा सहभागी भै मतदान गरेका थिए । यसपटक नेतृत्व परिवर्तनका दृष्टिकोणले काङ्ग्रेसको महाधिवेशन रोचक छ ।

घुमाउरो तर षड्यन्त्रमूलक ढङ्गले शेरबहादुर देउवाले दलको नेतृत्व गर्ने अवसरबाट नेता रामचन्द्र पौडेललाई सधैँका लागि पाखा लगाउन सफल भए । यो अरु कसैको कुनै कारण नभएर रामचन्द्रको आफ्नै नियत र चरित्र प्रदर्शनको कुरुप प्रतिफल हो ।

पहिलो चरणको निर्वाचनमा शेरबहादुरसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका डा. शेखर कोइरालाले प्राप्त गरेको मतभार उत्साहजनक थियो । पहिलो निर्वाचनमा देउवाले २ हजार २५८ मत प्राप्त गरिरहँदा उता डा. शेखरले १ हजार ७२९ मत प्राप्त गरेका थिए । उनी देउवाभन्दा ५२९ मतान्तरले पछाडि थिए भने अरु ३ जना प्रत्याशी प्रकाशमान सिंह, विमेलेन्द्र निधि र कल्याण गुरुङले प्राप्त गरेको मत क्रमशः ३७१, २४९ र २० रहेको थियो । यसरी हेर्दा यी सबैले पाएको मत ६४० र डा. शेखरको मत जोड्दा नेतृत्व परिवर्तनको पक्षमा २ हजार ३६९ मतभार देखिन्छ । देउवा विरोधी खेमा सबै एकै ठाउँमा आएको भए रामचन्द्र पौडेल यसपटक निश्चित रुपमा पार्टी सभापति बन्न सक्ने सम्भावना बढी थियो, तर उनकै निरीह प्रदर्शनको कारण त्यो मौका गुमाए भने डा. शेखरलाई पनि उनले सहयोग गरेनन् । यहाँसम्म कि मतदान गर्नसमेत उनी गएनन् । प्रजातन्त्रमा उनको यो कस्तो लहडी चिन्तन हो ?

अन्ततः पहिलो चरणको निर्वाचनमा कसैले पनि बहुमत सिद्ध गर्न नसक्दा सभापतिको लागि दोस्रो चरणको मतदान सम्पन्न भयो । पहिलो निर्वाचन सम्पन्न हुनुअघिसम्म सभापतिका प्रत्यासी प्रकाशमान सिंहले आफ्नो उम्मेदवारी नेतृत्व परिवर्तनका लागि तथा अर्का प्रत्यासी विमलेन्द्र निधिले लोकतन्त्रप्रति प्रतिबद्ध नेतृत्व आवश्यक छ भनेका थिए, तर पहिलो चरणको निर्वाचनमा पराजित भएपछि यी दुवै जनाको बोली फेरेर रातारात शेरबहादुरको पक्षमा मत जाहेर गरे, त्योभन्दा ठूलो राजनीतिक अपराध र बेइमानी अर्को के हुन सक्छ ? गणेशमान पुत्र र महेन्द्रनारायण पुत्रको यो अनैतिक र मर्यादाहीन कदमलाई परिवर्तनको पक्षमा उभिएका आम काङ्ग्रेसी मतदाताहरुले अलिकति पनि मन पराएका छैनन् । आगामी निर्वाचनमा सिंह र निधि के नारा लिएर मतदातासामु प्रस्तुत हुने हुन् ? त्यो समयले नै बताउनेछ । त्यसैले डा. शेखर कोइराला पराजित भएपछि सभापतिको निर्वाचनमा प्रत्यासीहरुप्रति सङ्केत गर्दै पार्टीमा रुपान्तरण चाहनेहरु एक ठाउँमा उभिन नसक्नु दुर्भाग्यपूर्ण शृङ्खला हो भन्ने प्रतिक्रिया दिएका थिए । बीपी कोइरालाको मर्म डा. शशाङ्क र सुजाताले नबुझ्दा सभापतिमा पराजित भएको तर्क डा. शेखरको छ । यसकारण दोस्रो चरणको निर्वाचनमा नेकाका सभापति शेरबहादुर देउवाले २ हजार ७३३ मत प्राप्त गरी दोस्रो कार्यकालको लागि निर्वाचित भए । उनका निकटतं प्रतिद्वन्द्वी डा. शेखर कोइरालाले १ हजार ८५५ मत प्राप्त गरेका थिए । दोस्रो निर्वाचनमा डा. शेखरको पक्षमा पहिलेभन्दा १५३ मत बढी परेको छ ।

महाधिवेशन निर्वाचनको बेला बीपी पुत्र डा. सशाङ्क, गिरिजा पुत्री सुजाता, गणेशमान पुत्र प्रकाश र महेन्द्रनारायण पुत्र निधिलगायत सिटौला र रामचन्द्र पौडेल यथास्थिति चाहने यी सबै नैतिकता नभएकाहरु एकै ठाउँमा उभिँदा पनि डा. शेखर कोइरालाले त्यत्रो मत प्राप्त गर्नुलाई विजयस्तरकै सम्मान मान्नुपर्छ । त्यसैले डा. शेखर पराजित भएरसमेत विजयी भएका छन् । पार्टीमा नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर तीन हात उफ्रनेहरु सबै देउवाको टाँडमुनि छिरेर अहिले हरिद्वारको दर्शन गर्र्र्दै छन् । यस निर्वाचनमा आफ्नो पक्षमा समर्थन नभएपछि परिवर्तनको एजेन्डा नै छोडेर गोहीको आँसु झार्दै रामचन्द्र मौनरुपमा यथास्थितिवादीलाई सहयोग गर्न पुग्छन् । रामचन्द्र पौडेलले खुलेर डा. शेखरको पक्षमा चुनावी प्रचारप्रसार गरेको भए उनको विजय निश्चित थियो, तर अनेकौं प्रलोभनका बाबजुद शेरबहादुरले निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न सफल भए पनि उनको विकल्पमा उभिएको सङ्ख्या उल्लेख्य रहेको छ ।

यसकारण उनले यी सबैलाई समेटेर लानुपर्ने चुनौती आफ्नो ठाउँमा छँदै छ । अहिलेसम्म पनि विभिन्न गुट–उपगुटको माध्यमद्वारा चिरा–चिरामा विभाजित नेपाली काङ्ग्रेस १४ औं महाधिवेशनद्वारा प्रजातान्त्रिक संस्कार र चरित्रमा सुधार हुने आशा र अपेक्षा सबैले गरेका छन्, तर शेरबहादुर देउवाको अघिल्लो कार्यकाल शैली र चरित्रलाई हेर्दा यसै भन्न सकिने अवस्था छैन । पार्टी नेतृत्वमा शेरबहादुरबाट राम्रो गर्ने आश नभए पनि परिवर्तनका संवाहक गगनकुमार थापा, विश्वप्रकाश शर्मा र धनराज गुरुङजस्ता पदाधिकारी भारी मतले महामन्त्री र उपसभापतिमा विजयी भएका छन्, जसबाट शेरबहादुरलाई एकलौटी रुपमा काम गर्न सजिलो छैन । यस निर्वाचनमा क्षमतावान् महिलाहरु नयाँ अनुहारको रुपमा केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । त्यसैले पनि परिवर्तनको पक्षमा उनीहरुको आवाज दह्रो छ । डा. गोविन्दराज पोखरेलजस्ता विज्ञ व्यक्ति पनि केन्द्रीय सदस्यमा आएका छन् । विगतको अपेक्षा निर्वाचनद्वारा आएको सन्तुलित र सक्षम युवाहरुको समूहलाई पार्टी नेतृत्वले विवेकपूर्ण तरिकाले प्रयोग गर्ने आँट प्रदर्शन गर्न सक्नुपर्दछ । शेरबहादुर एउटा गुटको सभापति होइन, समग्र नेपाली काङ्ग्रेसको सभापति बन्न सक्नुपर्छ भन्ने आवाज नवनिर्वाचित पदाधिकारीहरुबाट एकैसाथ उठ्दै आएको छ । उता विरासतको राजनीतिमा रमाएका डा. सशाङ्क, सुजाता, सिंह र निधिले डा. शेखर कोइरालालाई नेता मान्न तयार नहुनु भनेको घमण्डको पराकाष्ठा मात्र हो भने एकाएक कित्ता परिवर्तन गर्दा त्यहाँ पैसा, पद र अनेक प्रलोभनले प्रभाव पारेको हुन सक्छ भन्ने चर्चा–परिचर्चा हुनु दलभित्रको चिन्ताजनक स्थिति हो ।

प्रतिक्रिया दिनुहोस्