१ लाख ७५ हजारसहित १५ जुवाडे पक्राउ



तनहुँ, (नेस) ।

व्यास नगरपालिका–११ मझाङ्दीस्थित नारायण भन्ने खगेन्द्र गुरुङले सञ्चालन गरेको मझाङ्दी कटेजबाट ठूलो धनराशीसहित जुवाडे पक्राउ परेका छन् । जुवा खेलिरहेको अवस्थामा उक्त कटेजबाट १ लाख ७५ हजार ४० रुपियाँसहित १५ जुवाडेलाई शनिबार राति पक्राउ परेका हुन् ।

कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई उक्त रकम र १६ थान कौडासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार खगेन्द्र गुरुङसहित बुद्धीराम बस्नेत, महेन्द्र गुरुङ, निमनारायण श्रेष्ठ, रामशरण ढकाल, शालिकराम रेग्मी, गजेन्द्र बानिया, दिनेश मिजार, डम्वरबहादुर गुरुङ, प्रेमबहादुर अधिकारी, नेत्रबहादुर महतो, ईश्वर क्षेत्री, दीपेन्द्र सिंह र सुकराम श्रेष्ठलाई कौडा खेलिरहेको अवस्थामा खालबाट पक्राउ गरिएको उहाँको कथन छ ।

प्रहरी निरीक्षक भानु शर्मासहित १० जनाको प्रहरी टोलीले कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । नियन्त्रणमा लिइएकालाई जुवा (कौडा) सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय तनहुँबाट म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्