उजुंगवासीमा खानेपानीले ल्याएको खुसी



गुल्मी ।

अग्लो स्थानमा रहेको, नजिकै मुहान पनि नभएको, बोकेर पानी ल्याउन समेत कठिन अवस्थामा रहेको छ– गुल्मीको इस्मा गाउँपालिका–१ उजुंग । सदियौंदेखि खानेपानीको संकट झेलेका यहाँका बासिन्दाले सपनामा पनि नसोचेको भएको छ । त्यो हो खानेपानीको समस्या समाधान ।

सोही वडाकै दुनदुरे खोलाबाट लिफ्टिङमार्फत पानी तानेर अग्लो स्थानमा पुगेपछि पानीको समस्या समाधान भएको हो । हस्तीचौर दुन्दुरेखोला हर्पुकोट लिफ्टिङ खानेपानी आयोजनाको गुल्मीका संघीय सांसद गोकर्ण विष्टले उद्घाटन गरेसँगै सो स्थानमा खानेपानी पुगेको छ । गत शनिबार खानेपानी आयोजनाको उद्घाटन गर्दै सांसद विष्टले उजुंगवासीको दिनचर्या नै परिवर्तन हुने काम भएको बताउनुभएको थियो । पानीकै लागि खर्चिने समय अन्य काममा लगाई स्थानीयले फाइदा लिन सक्ने उहाँको भनाइ थियो ।

यसअघि यहाँका २ सय ८४ घर–परिवारका १ हजार ४ सय २० जनालाई पानी खोज्दैमा दैनिकी बित्ने गर्दथ्यो । ‘दैनिक ३ देखि ४ गार्गी पानीका लागि टाढा पुगेर लाइन बसी बोक्नुपर्दा हामीलाई दैनिकी चलाउन निकै कठिन हुने गरेको थियो ।’ –स्थानीय लक्ष्मी कुँवरले बताउनुभयो ।

पानीको अभावका कारण स्कुले विद्यार्थी फोहोर कपडामै स्कुल जान गर्दथे । अहिले बालबालिका सफा कपडामा लगाएर जना थालेका स्थानीय राधा विक बताउनुहुन्छ । घरकै धारामा पानी आउन थालेपछि घरछेउमा साग तरकारी पनि लगाउन पाएकामा उहाँले खुसी प्रकट गर्नुभयो । पानी अभावकै कारण यहाँबाट बसाइँ सर्ने क्रम पनि बढेको थियो । टाढाबाट पानी बोक्नुुपर्ने भएकाले यहाँका छोरालाई विवाहका लागि अन्यत्रबाट छोरी दिनसमेत आनाकानी गर्ने गरेको विक सुनाउनुहुन्छ ।

तर, अहिले यो सबै समस्याको समाधान लिफ्टिङ खानेपानीले गरिदिएको छ । ०७० सालबाट शुरु गरिएको दुनदुरे खोला उजुंग हर्पुकोट खानेपानी आयोजनाको काम सम्पन्न हुनासाथ उद्घाटन गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गुल्मीका प्रमुख अनुज उपाध्यायले बताउनुभयो ।

खोलाको पानीलाई २ तहमा तानेर अग्लो स्थानमा पुराइएको छ । नेपाल सरकारको ३ करोड १६ लाख ४१ हजार स्थानीय तह र उपभोक्ताको जानश्रमदान ७९ लाख ३६ हजार २ सय ६१ गरी ३ करोड ९५ लाख ७७ हजार २ सय ६६ रुपियाँको लागतमा आयोजनाको निर्माण कार्य सम्पन्न भएको उहाँ बताउनुहुन्छ । खानेपानी ‘एक घर एक धारा’ अनुसार मिटर सिस्टमले वितरण गरिएको छ । खानेपानीको उजुंग, हर्पुकोट, हस्तीचौर, तोरीखर्क र फेदियका स्थानीयले उपभोग गरिरहेका छन् ।

कल्पनासमेत नगरेको ठाउँमा पानी आउँदा स्थानीय निकै खुसी भएका खानेपानी आयोजना निर्माण समिति सचिव नारायण कुँवरले बताउनुभयो । ‘पानी बोकेर स्कुल जाँदा विद्यार्थीलाई पनि निकै समस्या थियो सचिव कुँवरले भन्नुहुन्छ– ‘उनीहरुको दैनिकीमा परिर्वतन आइसकेको छ ।’

प्रतिक्रिया दिनुहोस्