नेपालगन्जका ७ वडा बालविवाहमुक्त घोषणा



बाँके ।

नेपालगन्ज उपमहानगरपालिकाका थप ७ वटा वडालाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ । आइतबार औपचारिक कार्यक्रम गरी एकसाथ वडा नम्बर ३, ४, ९, ११, १८, २० र २१ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको हो । जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तव, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रामसुरेश यादवलगायतको उपस्थितिमा आयोजित कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले वडालाई बालविवाहमुक्त वडा घोषणा गर्नुभएको थियो ।

सो अवसरमा उपप्रमुख थापाले यो घोषणापछि महिला र बालिकाको स्वास्थ्यसँगै समृद्ध र सुखी नेपालगञ्ज बनाउन मद्दत पुग्ने बताउनुभएको थियो । घोषणा अन्तिम नहुने भन्दै उहाँले बाल विवाहलाई शुन्यमा झार्न सम्पूर्ण नगरबासीको साथ र सहयोगको अपेक्षा गरिएको प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले बताउनुभयो । जिल्ला समन्वय समिति बाँकेका संयोजक श्रीवास्तवले फागुन मसान्तभित्र बालविवाह मुक्त घोषणा गर्ने स्थानीय तहलाई बैठक भत्ता र प्रशासनिक खर्च कटाएर समन्वय समितिले १० लाख रुपियाँ प्रोत्साहनबापत उपलब्ध गराउने उहाँको कथन छ ।

प्रमुख जिल्ला अधिकारी खत्रीले घोषणाको पूर्ण कार्यान्वयनमा जनप्रतिनिधि, कर्मचारी र स्थानीय अगुवाको निरन्तर ध्यान रहनुपर्ने सुझाव दिनुभएको थियो । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीका अनुसार यसअघि नेपालगन्जका चार वडा बाल विवाहमुक्त घोषणा भइसकेका छन् । नगरका २३ वडामध्ये बाँकी रहेका वडामा सर्वेक्षण सकेर विभिन्न सचेतनामूलक अभियानपछि छिट्टै बालविवाहमुक्त नगर घोषणाको तयारी गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष मो. अयुव सिद्धिकी, वडा नम्बर ४ का अध्यक्ष मो. सफिक वेहना, वडा नम्बर ९ का कार्यवाहक अध्यक्ष सीमा केसी, वडा नम्बर २० का वडाध्यक्ष कृष्ण कार्की, वडा नम्बर २१ का वडाध्यक्ष रञ्जित खाँलगायतका जनप्रतिनिधिलाई बाल विवाहमुक्त वडा घोषणा भएको प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्