स्वास्थ्य शिविरबाट पाँच सयभन्दा बढीले लिए सेवा



लमजुङ ।

उत्तरी लमजुङको मस्र्याङ्दी गाउँपालिका–५ घेर्मुमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट ५ सयभन्दा बढी नागरिकले सेवा लिएका छन् । शनिबार घर्मु स्वास्थ्य चौकीमा सञ्चालित शिविरमा ५ सय ५२ जनाले स्वास्थ्य सेवा लिएका हुन् ।

मस्र्याङ्दी गाउँपालिकाको आयोजनामा र एचडीसीएस लमजुङ जिल्ला सामुदायिक अस्पतालको प्राविधिक सहयोगमा शिविरको आयोजना भएको हो । शिविरमा स्त्री रोगसम्बन्धी परीक्षण, दन्त परीक्षण, आँखा जाँच सेवा, रक्त परीक्षण, मनोसामाजिक परामर्श सेवासँगै औषधि वितरण गरिएको थियो । शिविरमा जिल्ला अस्पतालका प्रमुख हेमन्त श्रेष्ठको नेतृत्वमा स्त्री रोग विषेशज्ञ डा. होमा छन्त्याल, डा. मनोजकुमार यादव, डा. सरोज महर्जन, डा. विपीन बस्नेतसहित अस्पतालको १६ जनाको टोली र घर्मु स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले सेवा दिएका घेर्मु स्वास्थ्य चौकीका इन्चार्ज मोतीजंग गुरुङले बताउनुभयो ।

शिविरको एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले उद्घाटन गर्नुभएको थियो । स्थानीयस्तरमा विशेषज्ञसहितको स्वास्थ्य सेवा पाएकोमा सो क्षेत्रका स्थानीय खुसी भएको इन्चार्ज गुरुङको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्