मानवीय संवेदना हराउँदै नेतृत्व चयन

पूर्वअध्यक्षहरुको असहमति



हेटौंडा ।

मकवानपुरको बस्तीपुर जेसिज हाँडीखोलको वर्ष–२०२२ को नेतृत्व चयनप्रति पूर्वअध्यक्षहरुले असहमति जनाएका छन् । सात पूर्वअध्यक्षले शनिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै तेजप्रसाद उप्रेती (रमेश) लाई अध्यक्ष बनाइएको प्रक्रियाको विरोध गरेका हुन् । पूर्वअध्यक्षहरु दीपेन्द्रकुमार बर्तौला, वसन्तकुमार सिटौला, प्रेमप्रसाद बोलखे, बिनोदकुमार बर्तौला, पुस्कल न्यौपाने, राममणि बर्तौला र सुनील अधिकारीले संयुक्तरूपमा पत्रकार सम्मेलन गर्दै नेतृत्व चयन प्रक्रियाप्रति असहमति जनाउनुभएको हो ।

अध्यक्षका उम्मेदवार गणेश अधिकारीका भाइ मोटरसाइकल दुर्घटनामा परेर भरतपुरस्थित अस्पतालमा गम्भीर अवस्थामा उपचाररत रहेको अवस्थामा उप्रेतीलाई अध्यक्ष निर्वाचित गरिएको थियो । निर्वाचन आयुक्तलाई चर्को दबाब दिएर उप्रेतीलाई अध्यक्ष बनाइएको भन्दै पूर्वअध्यक्षहरुले उक्त घटना मानवीयताविरुद्ध भएको टिप्पणी गरेका हुन् । पूर्वअध्यक्ष दीपेन्द्रकुमार बर्तौलाले उक्त घटनाले मानवीयता हराएको पुष्टि भएको बताउनुभयो ।

‘हामी लामो समयदेखि जेसिज अभियानमा छौं । मानवता प्रवद्र्धन हाम्रो मूल उद्देश्य हो’, उहाँले भन्नुभयो– ‘तर, अध्यक्षका अर्का उम्मेदवारमा त्यो भावना देखिएन । यसले हामीलाई जेसिजका रूपमा काम गर्न हीनताबोध गराएको छ । तेजप्रसाद उप्रेतीले गरेको व्यवहार अमानवीय र अस्वभाविक हो । यसको हामी घोर भत्र्सना गर्दछौं ।’ अर्का उम्मेदवार अधिकारी उपस्थित नहुँदालाई अवसरका रूपमा उप्रेतीले उपयोग गरेको उहाँको आरोप छ ।

अर्का पूर्वअध्यक्ष सुनील अधिकारीले उक्त कार्य अपराध भएको टिप्पणी गरे । ‘हामीले निर्वाचन प्रक्रिया स्थगित गर्न अध्यक्षका प्रत्यासीले आग्रह गर्नुहुनेछ भन्ने सोचेका थियौं’, उहाँले भन्नुभयो– तर, उहाँलाई यो अवसरका रूपमा आएजस्तो लागेको रहेछ । यो कार्य अपराध हो । मानवीयता भन्ने विषय उहाँमा रहेनछ । अब हामीले कसरी जेसिजलाई सल्लाह/सुझाव दिने ?’

९० प्रतिशतभन्दा बढी सदस्यको असहमति हुँदा पनि जबर्जस्ती नेतृत्व चयन गरिएको भन्दै अर्का पूर्वअध्यक्ष वसन्तकुमार सिटौलाले यो प्रवृत्ति गलत भएको बताउनुभयो । यो नेतृत्व चयन प्रक्रिया र नेतृत्वलाई मान्यता नदिन नेपाल जेसिजलाई आग्रह गरिने उहाँले बताउनुभयो । ‘प्रजातान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्ने जेसिजको विधानलाई चुनौती दिएर निर्वाचन आयुक्तमाथि सांघातिक हमला गर्ने चेतावनी दिएर नयाँ नेतृत्व चयन भएको छ । यो मानवीय संवेदनाभन्दा बाहिर गएर गरिएको कार्य हो ।’ –संस्थाका पूर्वअध्यक्ष पुष्कल न्यौपानेले भन्नुभयो । आफूलाई दबाब दिएर गरिएको निर्वाचन प्रक्रियाप्रति असन्तुष्टि जनाउनुभएका निर्वाचन आयुक्त जयराम सुवेदीले सामाजिक सञ्जालबाट जेसिजको कुनै पदमा नरहने घोषणा गर्नुभएको छ ।

जेसिजको ११औं वार्षिक साधारणसभा एवं अधिवेशनले शनिबार नयाँ नेतृत्व चयन गर्ने क्रममा रहेको अवस्थामा अधिकारीका भाइ सवार मोटरसाइकल शुक्रबार राति दुर्घटना भएको थियो । उनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अधिकारीले उम्मेदवारी दर्ता गराएको अवस्थामा उहाँको सहमतिबिना अर्का उम्मेदवार उप्रेतीलाई अध्यक्ष घोषणा गरिएको थियो । कार्यकारिणी उपाध्यक्षका उम्मेदवार विजय पौडेलको असहमतिमा प्रेम गोङ्बा र अमृत पाठकलाई कार्यकारिणी उपाध्यक्ष घोषणा गरिएको थियो । यो निर्वाचन प्रक्रियामा पूर्वअध्यक्षहरुले विरोध जनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्