युवा सपना र बूढा नेताहरू



  • पेशल आचार्य

संसार प्रसिद्ध नेता नेल्सन मण्डेलाले दोस्रो कार्यकालका लागि उनलाई उनको देशका जनताले राष्ट्रपति प्रस्ताव गर्दै गर्दा उनले सगौरव भनेका थिए, ‘युवालाई काम र बूढालाई आराम ।’ यही भनाइको अनुशरण गर्दै उनले आफ्नो पद त्यहाँका उनले मनले खाएका र योग्य उत्तराधिकारी थाबो एम्बेकीलाई सकुशल हस्तान्तरण गरेर आफू ‘एल्डर्स क्लब’ खोली विश्व भ्रमणमा निस्किए । उनको सो विचार र कार्य दुवैलाई विश्वले नमन गर्यो । सोही माहोलमा उनलाई नोबेल शान्ति पुरस्कारले पुरस्कृतसमेत गरियो ।

सुन्दा कथा लागे पनि यो घटना दक्षिण अफ्रिकामा घटेको सुखद घटना हो । आज नेल्सनको पाँचौं पुस्ता त्यहाँ सुशासन, लोकतन्त्र र समावेशी लोकतन्त्रलाई अघि बढाउन क्रियाशील छ । सन् २०१० मा विश्वकप फुटबलको सफल आयोजना गरेर सोबाट आफ्नो आर्थिक स्थिति मजबुत पार्दै दक्षिण अफ्रिका अफ्रिकी महादेशकै धनी र संसारका विकासशील देशमा समेत दरिन थालेको छ ।

यो कुरा संसारको इतिहास अध्ययन गर्ने हरेकलाई थाहा छ । नेपालमा पनि लोकतन्त्र नामक प्रजातन्त्र आएको २०४६ सालमै हो । जोडी ल्याउँदा अहिले यो ३२ वर्ष आयु भएको छ । हिजो २०१७ सालदेखि २०४६ सम्म ३० वर्ष पञ्चायतले खायो, देशमा विकास फिटिक्कै गरेन भन्थे अहिलेका बहुदले नेताहरू ! अरूलाई गाली गर्न सजिलो हुन्छ तर आफूले आफ्नो भिजन, मिसन र गोल बनाएर तरक्की गर्न साह्रै गाह्रो हुन्छ । अझ नेपालमा त आफू सत्तामा जाँदा केही गर्र्नै नसक्ने, सत्ताबाहिर बस्दाचाहिँ म यो गर्थें, त्यो गर्थें भनेर नेताहरूले आरोप लगाउने मात्र हुन् । जनताले यहाँ सबैको खुट्टी छामिसकेका छन् । सबै प्रकारका व्यवस्थाहरूको पानी जाँच गरिसकेका छन् । त्यसैले कसैले कसैलाई आरोप÷प्रत्यारोप नलगाई आफ्नो पार्टीका घोषणापत्रमा लेखिएका कुराहरू खुरुखुरु लागू गर्ने दिशामा अघि बढ्दा राम्रो हुन्छ ।

एक महिनायता देशका प्रायः ठूला पार्टीहरूले आफ्नो महाधिवेशन गरे । बीचमा राप्रपाले उसको महाधिवेशन सक्यो, यद्यपि ऊ संसद्मा राष्ट्रिय पार्टी हैसियतमा उपस्थित छैन । तर उसैले चाहिँ नेतृत्व परिवर्तन गरेर देशमा नयाँ सन्देश दियो । एमाले र कांग्रेसका नेताहरूले बोले एकथोक तर गरे अर्कै थोक । ती पार्टीका दोस्रो, तेस्रो र चौथो पुस्ताका भनिएका नेताले आफ्ना पाइन, दर्शन र कार्यशैली देखाउने पउल अवसर हुँदाहुँदै पहिलेकै नेतृत्वलाई त्वम् शरणम् गरी तलुवा चाट्ने काम गरे । यसले तत्–तत् पार्टीका सामान्य भोटरहरूका समेत मन दुखे ।
एमाले महाधिवेशनमा अध्यक्षका दाबेदार भीम रावललाई साम, दाम, दण्ड र भेद युक्तिले पत्तासाफ गर्न ओली र उनका गुटीय सदस्यहरूले चालेको चाल हेर्न र विचार्नलायक त थिएन, साथै एउटा लोकतान्त्रिक भनिने पार्टीले गर्न नहुने हर्कतहरूसमेत भलिभाँती प्रदर्शन गरेको भनेर महाधिवेशनमा सहभागी कमरेडहरूले दुःख मनाउ गरेर कुराकानी गरेको हाकाहाकी सुनियो ।

कोरोनाकै तेस्रो भेरिएन्ट अफ्रिकाबाट उठेर विश्वव्यापी हुँदै गरेको समयमा करिब १५ करोड रुपियाँ भुटेका मकैझैँ सकेर पहिलेकै नेतृत्व र टिमलाई प्रमोसन गर्ने विचार थियो भने देश र दुनियाँमा चटक प्रदर्शन गर्ने कामै थिएन । न त त्यहाँ विचार र सिद्धान्तको बहस भयो, न त युवापुस्तामा नेतृत्व हस्तान्तरण गर्ने काम नै गरियो ।

यही कुरा नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा समेत देखियो । कांग्रेसले त अझ प्रविधि प्रयोगको गुन्जायस हुँदाहुँदै आफूलाई समय र परिस्थितिभन्दा डेट एक्स्पायर भएको देखायो । ‘हाइटेक’ समयमा उसले लाजमर्दो पारामा ‘हिलटेक’ पद्धतिको चुनाव गर्यो । अझ उसकै पार्टीका आश लाग्दा नेता गगन थापा एमाले अधिवेशनको शैलीलाई पाँडे गालीकै झल्को दिने गरी लगभग दुत्कार्दै थिए– ‘एमालेको ओलीवेशन तर हाम्रो अधिवेशन ।’ गगनको कुरा प्रकारान्तरले केही हप्तामै समयले सत्य देखाइदियो कि उनी पनि कतिपय सवालमा कुण्ठा मात्र बोल्ने रहेछन् । भलै महामन्त्रीमा उठेका करिब आधा दर्जन उम्मेदवारहरूमध्ये सबैभन्दा धेरै मत ल्याएर जित्ने थापा नै पहिलो विजयी उम्मेदवार भए ।

उनी पछि ट्रयाक चेन्ज गरेरै पनि वाक्पटुता र व्यक्तिगत कार्यशैलीकै कारण दोस्रो वरियतामा चुनाव जित्ने विश्वप्रकाश शर्माले देखाएको चुनावपछिको व्यवहारले आफ्नो र विपक्षी पार्टीका धेरै नेता–कार्यकर्ताहरूको दिल र दिमाग जित्ने कामसमेत गरे । यो चाहिँ पक्का हो । पार्टीको चुनावअघि शर्माले कृष्णप्रसाद सिटौला क्याम्पबाट प्रकाशमान सिंह क्याम्पमा जुन हिसाबले हाइजम्प गरे, त्यसलाई राम्रो मानिएन । अझ उनले सिंहका समर्थनमा दिएको वक्तव्यलाई त झन् लोकतान्त्रिक संस्कारका विपरीत ‘हनुमानगिरी’ भयो भन्नेहरूसमेत देखिए ।

गीतकार तथा कवि भूपाल राईले हालैको १४ औं महाधिवेशनमा महामन्त्रीको चुनावमा सर्वाधिक मत ल्याएर विजय हुने यी दुई युवा नेतालाई आफ्नो मूल्याङ्कनको कसीमा राखेर यसरी हेरेका छन्– ‘यी दुई घघडान युवा अनुहार सम्प्रती अत्यधिक चर्चामा छन् । आम मानिस (केही हाम्राहरूसमेत) देखि मिडिया क्षेत्रसम्मले झन्डै–झन्डै ईश्वरीकरण गर्न भ्याएका छन् । अवश्य उहाँहरू युवा हुनुहुन्छ । कम्तीमा मभन्दा त निक्कै भाइ पुस्ताका । त के युवा हुनु नै सर्वथा चर्चाको हकदार हुनु हो त ? जिज्ञासा जाग्छ मनमा । मलाई लाग्छ, यसदेखि बाहेक अरू केही संरचनात्मक लाभांश प्राप्त व्यक्तिहरू हुनुहुन्छ उहाँहरू । पहिलो कुरो युवा हुनुहुन्छ । दोस्रो जन्मिदै समाजको एउटा हाइर्यार्कीमा हुनुहुन्छ । तेस्रो जिब्रोको अत्यधिक एक्सेसमा हुनुहुन्छ ।

यतिखेर सम्झिरहेछु । धेरै अगाडिदेखि नेतृत्वको विषयमा एउटा भनाइ राख्दै आएको छु– सही नेतृत्वमा मुख्यतः शरीरका चार अङ्गको संयोजन जरूरी छ । एक टाउको, दुई जिब्रो, तीन हात, चार खुट्टा । टाउको भनेको विचार हो । जिब्रो त्यो विचारको सम्प्रेषण । हात भनेको सिर्जना हो र खुट्टा भनेको गति । असल नेतामा यी चारै गुणको जठजोड हुन जरुरी छ । यी चारमध्ये कुनै एउटै मात्र पनि अङ्गको अभाव छ भने त्यो कोही सही नेता बन्न सक्दैन । तब भन्नोस्, यी घगडान युवाहरूसँग जन्मदाको लाभांश र जिब्रोबाहेक अरू के छ ? अरू सबै प्रश्नहरू एकछिन्लाई बिर्सिनोस् । मात्र एउटा प्रश्न कसैले सोध्नोस्– नेपालको विद्यमान सामाजिक अन्तर्विरोध हल गर्ने सर्वमान्य विचार उहाँहरूसँग के छ ? पुनश्च माफ गर्नुहोला, युवकत्व भनेको उमेरको अङ्कगणित मात्र हैन । र, मात्र त्यो देवकत्वकरणको मानक पनि हैन ।’ यी उपयुक्त वाक्यहरूमा अन्तर्निहित विचारलाई आजका दिनमा नेपाली कांग्रेसका नेता, कार्यकर्ता र भोटरहरूले दिल र दिमागदेखि मनन गर्ने बेला आएको छ ।

नेतृत्वको परीक्षण समयको अप्ठ्यारो घडीमा हुने गर्छ । नेपाली नेतृत्वको परीक्षण समयले एमसीसी अनुदान लिने कि नलिने भन्ने इसुमा गरिरहेको भान भैरहेको छ । विगतमा भारतले कालापानीमा मोटर बाटो बनाउँदा जसरी ओलीले आफ्नो बलबुद्धिले संसद्मा प्रस्ताव ल्याएर बाटो बनेको भूभाग इतिहासदेखिकै नेपाली भूभाग भएकाले राष्ट्रिय सहमतिसाथ चुच्चे नक्सा प्रकाशन गरे, त्यहाँदेखि उनको परीक्षा शुरु भएको थियो । सो परीक्षा लम्बिँदै जाँदा उनी गोयल भ्रमणअघिसम्म लगभग निर्विवाद नेताका रूपमा देखिए तर जब गोयलले उनको सरकारी आवासमै आएर कानमा मन्त्रणा गरेर गए अनि उनको राष्ट्रियताको हावा भरिएको बेलुन एकाएक फुट्यो । सोपछि उनले संघीय मात्र नभएर उनको नेकपा पार्टीले बनाएका ६ वटा प्रादेशिक सरकार लगालगी त्याग्नुपर्यो । यो कुरा जगजाहेर छ ।

नेपाली राजनीतिमा यसरी विदेशी हस्तक्षेपको शृङ्खला हाबी रहेछ भन्ने कुरा सो घटनाबाट जनताले थाहा पाए । त्यसपछि पार्टीको व्यवस्थित रणनीतिअनुसार हो वा आफ्ना मतदाताहरू भड्किएर अर्को पार्टीमा नजाऊन् भनेर एमालेले उसको पार्टीका चर्चित नेता भीम रावललाई ‘राष्ट्रवादी नेता’का रूपमा प्रस्तुत गरेको गर्यै छ । यो उसको राजनीतिक चाल हो वा भीम रावल भर्सेज केपी ओलीको सैद्धान्तिक द्वन्द्व ? समय अन्तरालमा नागरिकहरूले थाहा पाउनेछन् । अहिलेका समयमा प्रविधिका कारण जुन कुनै घटना धेरै दिन लुकाउनै सकिन्न ।

यतिखेर नागरिकहरूले लगभग सबै पार्टीमा नेतृत्व हस्तान्तरण खोजेका छन् । निर्वाचित अनुहार हेर्दा कांग्रेसमा केही मात्रामा लागू भएको देखियो तर कांग्रेसको वैदेशिक सहयोग ग्रहणका नीति, सिद्धान्त र व्यवहारले उसलाई यी दिनहरूमा समयभन्दा निकै पछि हिँड्ने पार्टीमा उभ्याइरहेको छ ।

यो कुरा उसको १४ औं महाधिवेशनले पुष्टि गर्यो । सो महाधिवेशनमा न कुनै नीति, सिद्धान्त र विचार पारित गर्यो, मात्र भीड बटुल्यो । हप्ता–दश दिन राष्ट्रिय/अन्तर्राष्ट्रिय समाचार सुर्खीहरूमा फ्रन्ट लाइनमा आयो तर केही भएन ।

नेपाल शिक्षक संघका पूर्वअध्यक्ष तथा सार्क प्रजातान्त्रिक शिक्षक संघका उपाध्यक्षसमेत भैसकेका कांग्रेस महाधिवेशन प्रतिनिधि मोहन ज्ञवाली तीतो पोख्छन्– ‘यो महाधिवेशनमा कांग्रेसले न नीति, न विचार र न कार्यक्रम ल्याएर पास गराउन आवश्यक ठान्यो । हामी कार्यकर्ता जिल्लियौं ।’ ज्ञवालीजीले देखाउनुभएको चिन्ता जायज छ । महाधिवेशनमा विचारको बहस, नीतिको चर्चा र कार्यक्रम आधारमा सभापति, उपसभापति, महामन्त्री र केन्द्रीय सदस्यका बीच प्रतिस्पर्धा हुनुपथ्र्याे तर भएन । भन्नलाई आफूलाई देशकै जेठो प्रजातान्त्रिक पार्टी भन्ने तर काम गर्ने शैलीचाहिँ नमिलाउने भएकाले कांग्रेसप्रति युवापुस्ताको आकर्षण देशव्यापीरूपमा भनेजस्तो गरी बढ्न सकेको छैन । यो अहिलेको उसको समस्या हो ।

युवाका धुकधुकीमा बस्ने दुई महामन्त्रीहरूको पदार्पण पार्टीमा भएकाले लाखौँ कार्यकर्ता र समर्थकलाई केही सुखानुभूतिको सञ्चार गरायो । यो सुखद घटनाको प्रवेशसँगै यी दुई हस्ती भनिएका र आगामी १५ औं महाधिवेशनमा गुट–उपगुटसँगै दुईतर्फी भएर सभापतिमा पक्कै लड्ने यी दुवै युवा नेता थापा र शर्माको खास परीक्षाको घडी बल्ल शुरु भयो । जसले कांग्रेसका अब हुने हरेक निर्णयमा सभापतिलाई लतारेर आफ्नो नीति र सिद्धान्तमा हिँडाउँछन् वा आफैँ सभापतिको निर्णय मान्न विवश हुन्छन् । यो कुरा परख गर्न पाँचबर्से परीक्षामा यी दुईमध्ये को पास को फेल हुने हुन्, त्यो आउने समयले निक्र्यौल गर्छ । अहिले नै भन्नु धेरै चाँडो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्