विश्वास गुमाउँदै मेलम्ची खानेपानी



काठमाडौं ।

मेलम्ची खानेपानी विकास समितिले राजधानीमा महिनौंदेखि असुरक्षा बढाउने गरी काम गरेको भन्दै स्थानीय नागरिकले गुनासो गरेका छन् । काठमाडौं महानगरपालिका –५, मालीगाउँस्थित प्रहरी वृत्तअगाडि दुई महिनादेखि समितिले जमिनमा खाल्डा बनाएर छोडेको गुनासो गर्दै स्थानीय डा. पुष्प शर्माले नेपाल समाचारपत्रलाई बताउनुभयो– ‘दुई महिनाअघि समितिले ढक्कन झिकेर लग्यो, आज बनाउला छैन, भोलि बनाउला छैन, दुर्घटना बढ्ने सम्भावना छ, वडा कार्यालयले पनि चासो दिएन ।’

राजधानीवासीले खानेपानीको समस्या सदाका लागि समाधान हुने आशामा पाइप बिछ्याउने प्रयोजनले खनिएको सडक र बनाइएका खाल्डाखुल्डीलाई सहे, तर बाढीपहिरोका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेसँगै मेलम्चीको पानी काठमाडौं आउनेमा आशंका गरेका छन् ।

समितिका अनुसार आयोजनाको हेडवर्कस भनिने संरचना मात्र नभएर त्यहाँसम्म पुग्ने मार्ग पनि प्रभावित भएकोले तत्काल पानी आउने सम्भावना छैन । मेलम्ची बजारबाट झन्डै २२ किलोमिटरमाथि अम्बाथानमा रहेको आयोजनामा गम्भीर क्षति पुगेका कारण हालका लागि खानेपानीको आश मार्नुपर्ने स्थिति आएको हो ।

यसैबीच, खाने पानी तथा सरसफाई मन्त्री उमाकान्त चौधरीले तात्कालिक सुधार गरी उपत्यकावासीलाई पानी खुवाउने दाबी गर्नुभएको छ । तर, राजधानीवासीले मन्त्री चौधरीको दाबीलाई विश्वास गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्