नेता : चोर कि साधु ?



राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले एक कार्यक्रममा बोल्दै अहिले नेताहरु गाउँतिर जाँदा उनीहरूलाई जनताले नेता भनेर सम्मान नगरी कुनचाहिँ चोर आयो भन्छन् भन्ने अभिव्यक्ति दिएका थिए । लिङ्देनको यो अभिव्यक्तिलाई नेकपा एमाले अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अस्वीकार गर्दै निकै आक्रोशले भरिएको अभिव्यक्ति दिएका थिए । लिङ्देनको यो अभिव्यक्तिलाई धेरै श्रोताले समेत सही अभिव्यक्ति भनेर प्रतिक्रिया जनाएका थिए । विगतको लामो समयदेखि आम जनताले मायाका साथ नेताको उच्च सम्मान दिएका र सम्मान पाएका नेताहरुलाई आज चोरको बिल्ला भिराउँदा मनैदेखि नरमाइलो लाग्नु स्वाभाविकै हो । मनमा नरमाइलो लागेपछि नरमाइलो गराउने अभिव्यक्ति प्रकट गर्नेप्रति कटाक्ष गर्नु र उसको धतुरो झार्न खोज्नु पनि स्वाभाविकै हो ।

लिङ्देन स्वयंले आफैँलाई देखाएर म स्वयंलाई पनि गाउँले जनताले कुन चोर आएछ भन्छन् भन्दै विशेष गरेर केन्द्रविन्दुमा रहेर सत्ताको तर मार्दै तर जनता र देशका खातिर सिन्को भाँच्न नसक्ने केपी ओली, प्रचण्ड आदिलाई नै लक्षित गरेर अभिव्यक्ति दिएका कारण उनीहरु दुपै नै आक्रोशित नहुने कुरै भएन । त्यही आक्रोशलाई ओकल्दै लिङ्देन बहर गोरु भएकाले बाटो हिँड्न वा मेलो लागेर हिँड्न नजान्ने भनेर ओलीले आक्रोश पोखेका थिए भने प्रचण्डले लिङ्देनले भनेजस्तै हामी नेताहरु चोर नै हौँ त ? भनेर प्रश्न राखेका थिए । आखिर उनको प्रश्नको जवाफ कतैबाट आएको सुनिएन । उनीहरुका झोले कार्यकर्ताबाट त्यसको सही जवाफ आउने कुरै भएन । यथार्थ जवाफ दिने हिम्मत धेरै जनाको थियो होला तर तत्काल जवाफ दिने समय भएन । आफूले सोधेको प्रश्नको शायद नकारात्मक जवाफ आइगयो भने के गर्ने होला भनेर कमरेड प्रचण्ड आफैँले नेताहरु चोर नै हुन् त ? भनेर सोधेको प्रश्नको जवाफ आफैँ दिँदै होइन, नेताहरु चोर होइनन् भनेर आफैँले आफैँलाई सान्त्वना दिने खालको भनाइ मनबाट ओकले ।

आम नेपाली जनताको मुखबाट नेता साधु कि चोर ? भनेर सोधेको खण्डमा अधिकांशको मुखबाट नेता साधु होइनन् चोर नै हुन् भन्ने अभिव्यक्ति आउँछ भन्दा फरक नपर्ला । आजभन्दा धेरै वर्षअगाडिको राणा शासन र पञ्चायती शासनको तीतो स्वादसमेत भोगेका व्यङ्ग्य निबन्धका सम्राट स्व. भैरव अर्यालले राजनीति गर्ने नेताहरुको चरित्रको हवाला दिँदै चार हरफ कविता लेखेका थिए । उनको कविता यस्तो थियो– ‘चोरीचकारी नगरी चतुर्याइँ हुन्न, दङ्गा फसाद नगरे इज्जतै रहन्न, सोझा र सज्जन कबै नलिनू दलैमा, पार्टी चलाउनू सधैँ छल औ बलैमा ।’ अर्यालको यो काव्यिक अभिव्यक्तिले पनि राजनीति गर्ने नेतागणलाई चोरीचकारी गर्ने मान्छे अर्थात् चोरकै रुपमा लिएका थिए र नै अल्पायुमै बीभत्स तरिकाले मारिन बाध्य बन्नुपरेको थियो । कमरेड प्रचण्ड र केपी ओलीले लिङ्देनको अभिव्यक्तिलाई सत्य होइन भनेर खण्डन गरिरहँदा कैयौँ वर्षअगाडि मर्न बाध्य पारिएका भैरव अर्यालले चोरीचकारी गर्ने चोर भनेर दोषेका नेतालाई लिङ्देनले चोर भनेर दोष लगाउँदा आक्रोशित हुनुपर्ने कुनै कुरै थिएन ।

हाम्रा प्यारा र आदरणीय नेताहरुलाई हामी जनताले माया–ममता नगरेर सद्भाव नदिएका भए उनीहरु आजको स्थानमा किमार्थ पुग्ने थिएनन् भनेर ठोकुवा गर्न सकिन्छ । अनि माया–ममता र सद्भाव प्रकट गर्ने जनतामाथि खेलबाड गर्ने, जनतालाई झुक्याउने खालका नकारात्मक काम गर्ने र अनेक प्रकारका दुःख दिने नेता चोर नभएर साधु हुन् त ? राजा वीरेन्द्रको वंश विनाश हुने गरी भएको दरबार हत्या काण्डपश्चात् राजाको काट्टो खाने बाहुन खोज्नुपर्ने भयो । त्यस बेला शासनको कुर्सीमा बस्नले उक्त बाहुन खोजेर तयार गर्ने कामको जिम्मा पाएका थिए । बाहुन खोजियो र केही लाख रुपियाँ दिने सर्तमा बाहुनलाई काट्टो खान राजी गराइयो । काट्टो खाइसकेपछि कबोल गरेको रकमको तीन भागको एक भाग मात्रै दिएर उक्त काट्टे बाहुनलाई लखेटियो । विचरा एउटा निमुखो र दीनहीन बाहुनलाई आश देखाएर कबोल गर्नु अनि पछि धन देखपछि महादेवका तीन नेत्र भनेजसरी आफैँले हाम गर्नु ? त्यो चोरी नभएर के साधुपनको कर्म हो ? ती सत्तासीन नेतालाई साधु नेता भन्ने कि चोर नेता भन्ने ?

हाम्रा नेताहरुलाई चोर भन्दा त्यति धेरै आक्रोशित भएर उत्ताउला अभिव्यक्ति दिइरहनु उचित हुँदैन । किनभने साधु भावले बाँचेका र आर्थिक वैभवको माध्यमबाट माथि उठेका ठानिएका नेताहरु कोही पनि औँला बाङ्गो नगरी माथि उठ्न सकेका छैनन् । कतै न कतै उनीहरुले अप्रत्यक्षरुपमा चोरी–डकैती गरेकै छन् । हुन त यस्ता कुरा अख्तियारलाई थाहा नहोला, शायद भए पनि बोल्न नमिल्ने होला । सामान्य नागरिकलाई धेरै कुरा थाहा हुने पनि भएन । विगतका लाउडा काण्ड, धमिजा काण्ड, वाइड बडी काण्डजस्ता काण्डहरुले हाम्रा नेताहरुलाई चोर भनाउन बाटो खुल्ला गरेका मात्र होइनन् कि तीस मिटरे राजमार्ग नै बनाइदिएका छन् । वर्षामा बाढी आएर धेरै मान्छे बगाउने खोलामा पुल हाल्दा पानी बग्नेतिर रित्तो राखेर खोलो नबग्ने भागतिर पुल बनाई जनतालाई पङ्गु बनाउने अनि आफ्नो कुम्लो कस्ने नेता चोर कि साधु नेता होलान् ?

२०५२ सालदेखि थालिएको तत्कालीन माओवादीको एक दशक लामो जनयुद्धमा युद्ध जितियो भने संसार हाम्रै हुन्छ भन्ने नाराका साथ फुक्र्याई युद्धमा होमेर, १७ हजार मान्छेको ज्यान लिएर, अन्त्यमा २०६२ मा शान्ति सम्झौता गर्दा उनीहरुलाई माछो–माछो भ्यागुतो बनाउँदै रित्तो हात घर फर्काउने नेतृत्व वर्ग चोर कि साधु ? भारतले जनकपुरमा विवाह पञ्चमीलगायतका अन्य उत्सवको समयमा आफ्नो बजार विस्तार गरौँला भन्ने सोचले बनाएको जनकपुर–जयनगर रेलवेको थोत्रो रेल रङ्गरोगन गरी, नयाँ रेल हो भन्ने प्रचारप्रसार गराई, कात्रो ओढाएर वर्षाको पानीबाट जोगाएको नाटक गर्दै आफ्नो फाइदाका लागि खिया लगाएर राख्नुपर्ने अवस्थामा पु¥याउने नेता चोर कि साधु ? उन्नत जातका बाख्रा फर्मको लागि भनेर छुट्याइएको करोडौँ रकम एक्लै कुम्लो पारेर दौडाउने नेता चोर कि साधु ? नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बनाइदिएबापत मासिक करोडौँ रुपियाँ असुल्ने कबुल गराएर घोटाला गर्ने नेता चोर कि साधु ? सगरमाथा अरोहण गर्ने नाममा आफ्नै छोरालाई लाखौँ रुपियाँ राज्यकोषबाट दिन लगाउन खोज्ने र आम जनताको विरोधपश्चात् भिजेको मुसो बनेर ङिच्च पर्ने नेता चोर कि साधु ? आफ्नै नाताका मान्छेलाई स्थानीय चुनावमा जसरी पनि जिताउने भन्ने मानसिकताले थिचिएर मतपत्र च्यातेको अभिनय गरी आफन्तलाई जिताइछोड्ने नेता चोर कि साधु ? आफ्नो देशका जनता जतासुकै हुन्, उनीहरुलाई जेसुकै होस् तर दक्षिणको छिमेकीलाई कम्फरटेबल हुने खालको शासन नेपालका शासकले चलाउनुपर्छ भनेर अभिव्यक्ति दिने नेता चोर कि साधु ?

अमेरिकाले लादेको एमसीसी संसद्बाट पास गराउन ठीक होइन, यो त देशघाती काम हो भनेर करोड जनताले भन्दै गरेका बेला, सयौँ बुद्धिजीवीले ती करोड जनताको आवाजमा सही थापेर अझै चर्को आवाज उठाउँदै एमसीसी खारेज नै गर्नुपर्छ भन्दै गरेका बेला, स्वयं अमेरिकाकै नेपाललाई माया गर्ने केही बुद्धिजीवीहरुले नेपालका लागि एमसीसी घातक हुन्छ भन्दै गरेका बेला एउटा अडानमा नरही पीपलपाते बनेर कहिले पास गराउँदा फाइदा हुन्छ भन्ने त कहिले बेफाइदा हुन्छ कुनै हालतमा पास गराउनुहुन्न भनेर फोस्रो डुक्राइ गर्ने नेता चोर कि साधु ?

नेपालका शहरी क्षेत्रमा बस्ने मान्छेका तुलनामा ग्रामीण क्षेत्रमा बसोबास गर्ने धेरैजसो मानिसले आफ्नो धर्म छोडेका छैनन् । उनीहरु धेरै मात्र हिन्दू धर्ममा विश्वास गर्ने होलान् तापनि उनीहरुले झुट्टो बोल्नुहुँदैन, चोरी गर्नुहुँदैन भन्नेजस्ता भगवान् बुद्धका उपदेशलाई पनि आत्मसात् गरेका छन् । उनीहरुले चोरीचकारी नगर्दा, झुट्टो नबोल्दा पनि सादगी जीवनयापन गर्न सकेकै छन् । यस्तै सादगी र ग्रामीण क्षेत्रको वातावरणमा जन्मेर हुर्केका होलान् राजेन्द्र लिङ्देन । उनी गाउँमा गएको बेला कोही नेता काठमाडौँबाट हेलिकोप्टर चढेर कुनै दुर्गम गाउँमा पुगे होलान् । ती नेताले गाउँमा कुनै सानोतिनो योजनाको काम पनि लगेका होलान् । त्यो योजनाको काम सम्पन्न गर्न कुनै इमानदार र कर्तव्यशील मान्छेलाई नदिएर कोही कामचोर आफन्तलाई जिम्मा दिए होलान् । नेताका आफन्तले काम सम्पन्न गर्न सकेनन् होला । तर पछि नेताले यसोउसो ढाकछोप गरेर मिलाए होलान् । विनियोजन भएको रकम बाँडेर कुम्लो पारे होलान् ।

जनताका विश्वासपात्र नेताले यस्तो डकैतीपूर्ण क्रियाकलाप गरेको देखेर पीडा भोग्नुपरेपछि गाउँले युवाले फलानो नेता आज गाउँमा आउँदै छन् भन्दा कुनचाहिँ चोर आउने होला त, फेरि के चोर्न र हामी सोझा र निमुखा जनतालाई ठग्न आयो होला त ? भन्ने कुरा गरे होलान् । त्यही कुरालाई लिङ्देनले जस्ताको त्यस्तै प्रकट गरिदिए । हाम्रा नेताहरुका चोरी र ठगीका त्यति धेरै प्रमाणपत्र हुँदाहुँदै पनि लिङ्देनले सीधै चोर भनिदिँदा निकै नै मन दुख्यो होला । हाम्रा नेताहरु साँच्चैका साधु नै हुन्थे भने त लिङ्देनको भनाइको एक थोपो पनि असर नदेखिनुपर्ने हुन्थ्यो । तर यहाँ त जो चोर उसकै ठूलो स्वर भन्ने उखान पो चरितार्थ भयो कि भनेजस्तो देखियो ।

ती गाउँले नेपाली जनताले जे बोले, त्यो शतप्रतिशत सही कुरो बोलेका छन् । तथापि उनीहरुको त्यो रोष प्रकट गरेको अभिव्यक्ति थोरै बेरको आवेग मात्र हो । उनीहरुले नेतालाई माया गर्न छोडेका छैनन् । उनीहरुका दिलमा नेताहरुप्रतिको ममताको भण्डार नै छ भनिदिए हुन्छ । यसरी आफूले ममता दिएका नेताहरु स्वयंमा चोर र फटाहा नबनून्, उनीहरु साँच्चैका राजनेता बनून् र देशको उन्नतितर्फ लाग्दै हामी नेपाली जनतालाई वर्षौंदेखिका रोग, भोक, पीडा आदिका पञ्जाबाट मुक्त गर्ने प्रयासमा लागून् भन्ने पवित्र सोचाइले त्यस्तो सचेतनामूल अभिव्यक्ति प्रकट गरेका हुन् भनेर अलि फराकिलो दिमाग भएका नेतागणले बुझ्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्